४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘कुहिरोभित्र’ रुमलिँदा

पुस्तक

रामराजा केसी (२०४३) ले एउटै साल एकै साथ दुई कृति अङ्ग्रेजी भूत निबन्धसङ्ग्रह र कुहिरोभित्र लघुकथासङ्ग्रह प्रकाशित भएको छ। सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीमा सचिव बनेर कार्य क्रम संयोजन गरी आफ्नो प्रशासनिक र संस्थागत नेतृत्व क्षमता विकास गरेका केसी पञ्चाङ्ग साहित्य समाज र नेपाली साहित्य केन्द्रमा महासचिव भई काम गर्दै छन्।

त्यस्तै हाम्रो लघुकथा केन्द्रमा सचिवको पदमा रही संस्था दर्ता गर्दा उनको महत्त्वपूर्ण भूमिका छ। उनले केन्द्रमा रही प्रशासनिक कार्य गर्नुका साथै केन्द्रबाट गरिएका कार्यक्रम सफल बनाउन जिम्मेवारी वहन गरी पूर्ण गरेका छन्। केन्द्रमा रही केन्द्रकै प्रकाशनमा उनको लघुकथा प्रकाशन भएको छ। यसले संस्थाको गरिमा बढेको छ।

२०८० देखि हाम्रो लघुकथा केन्द्रमा आबद्ध भई उनले केन्द्रको दर्ताका लागि अतुलनीय कार्य गरेका छन्। साहित्य पठनमा रूचि भएका केसीले हाम्रो लघुकथा केन्द्रको मुहार पुस्तिका पृष्ठमा जन्ती (२०७९, असोज) प्रेषित गरी लघुकथा लेखनमा आफ्नो उपस्थिति देखाएका हुन्।

नाम, तत्व र इतिहासले कथासँँग पूर्ण रूपमा नअलगिएको लघुकथा कथाको रुपगत भेदका रूपमा विकास भएको देखिन्छ। आयामले छोटो, एकोन्मुख कथानक, एक स्थान, एक काल र एक परिस्थिति लघुकथा र कथाबिच भिन्नता गराउने आधार हो।

आख्यान विधाले अन्य विधासँग फरक देखाउन घटनाको शृङ्खलित विन्यासलाई आफूसँग लिएको छ। उपन्यास र कथा आख्यानका सन्तान हुन्। यी दुईबिच रहेको स्पष्ट विभेद १९५८ अर्थात् कथा एवं उपन्यास विकासको माध्यमिककालबाट भएको हो।

यस क्रममा उपन्यासले जीवन जगत्मा घटेका वा घट्न सक्ने व्यापक घटनालाई प्रस्तुत गर्छ। यसमा आधिकारिक एक कथानक भए पनि अनेक प्रासङ्गिक कथानक र घटनाहरूलाई समेटेर अगाडि बढ्छ। यसमा घटना र कथानकअनुसार अनेक प्रवृत्ति बोकेका पात्र, असीमित स्थान, लामो समय र अनेक परिस्थिति आएको हुन्छ।

कथामा भने जीवनजगत्मा घटेका घटनामध्ये कुनै एक पक्षसँग सम्बन्धित हुन्छ। यसमा आधिकारिक कथानकका साथ अनेक घटनाहरू आए पनि प्रासङ्गिक कथानकमा जोड दिइँदैन।

कथामा सीमित पात्र, कथानक र कथानकले बोकेका विभिन्न घटनाअनुसार स्थान, काल र परिस्थिति अनेक हुन्छन्। यी सबै प्रमुख पात्रहरूसँग जोडिएर आएका हुन्छन्। उपन्यास र कथाबिच रहेका यी फरकमा लघुकथा उपन्याससँग होइन कथासँग छुटिन्छ।

यसरी छुटिँदा मलाई लघुकथा भनेको कथाकै रुपगत भेद महसुस भएको छ। समष्टिमा लघुकथा भनेको कथाको जस्तै एउटा कथानकका लागि आवश्यक पर्ने प्रारम्भिक घटना र त्यस घटनाले निष्कर्षतर्फ डो¥याउँदै लैजाँदा देखिने कार्य, कारण, कार्यको छोटो, कलात्मक, साहित्यिक, आख्यान विधा हो।

सत्तरीको दशकबाट लघुकथा लेखन, पठन र प्रकाशनमा धेरै स्रष्टा देखापरेका छन्। यसै क्रममा हाम्रो लघुकथा केन्द्रका सचिव रामराजा केसी आएका छन्। उनको ‘कुहिरोभित्र’ लघुकथासङ्ग्रह प्रकाशनले अब उनी संस्था विकास गर्ने व्यक्तिका रूपमा मात्र नरही लघुकथाका स्रष्टाका रूपमा पनि परिचित बनेका छन्।

रामराजा केसीले आफ्नो कृतिको नामकरण कुहिरोभित्र शीर्षकमा गरेका छन्। यो स्वइच्छाले राखिएको नाम हो। कुहिरोभित्र शीर्षकमा ‘कुहिरो’ नाम र ‘भित्र’ नामयोगी शब्द संयोजन भएका छन्। धुवाँ जस्तो देखिने चिसो हावामा मिलेको जलकण कुहिरो हो। कुहिरो वर्षाको समयमा देखिन्छ, जाडो समयमा पनि देखिन्छ।

कुहिरो बाक्लो भए अगाडिको दृश्य देखिँदैन। कुहिरो लाग्दा जाडोे हुन्छ। यसै कुहिरो शब्दमा नामयोगी पदवर्ग भएको ‘भित्र’ले बिच वा मध्य अर्थ दिन्छ। जसअनुसार धुवाँ जस्तै देखिने जलकणले भरिएको धुवाँको बिचमा भन्ने अर्थ कुहिरोभित्रले दिएको छ। कुहिराको बिचमा भएका दृश्य वा घटना बाहिरबाट देखिँदैन। यो लुप्त हुन्छ। यसलाई आधार मानेर हेर्दा यस सङ्ग्रहका लघुकथामा आएका कथानक र त्यसभित्रका घटनाहरु कुहिराको भित्र परेका छन् भन्ने देखिन्छ। त्यसैले यस कृतिको नामकरणले सम्पूर्ण लघुकथाको मर्म बोकेको देखिन्छ।

कुहिरोभित्र लघुकथासङ्ग्रहमा जन्तीदेखि नासोसम्म गरी जम्मा ३७  लघुकथा छन् । यी लघुकथा छोटो समयमा लेखिएका हुन्। रोचक कुरा ३७ वर्षको उमेरमा उनले ३७  लघुकथा यसमा राखेका छन्। यसमा पारिवारिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, यौनविषयक, नैतिक आदर्श व्यक्त भएका लघुकथाका साथै रहस्यात्मक लघुकथा छन्।  

रामराजा केसीका सामाजिक विषयका लघुकथाहरुले व्यक्ति, समाज र राष्ट्रमा देखिएका विकृति बोलेका छन्। उनको ‘जन्ती’ लघुकथामा लमी भाग नपाउँदा बिहेको दिनमा जन्ती अन्त लगेको कुरा गरी दलाली प्रवृत्ति उजागर गरेका छन्। यस लघुकथाले सोझो रुपमा विवाहको सन्दर्भ प्रस्तुत गरे पनि प्रकारान्तरमा दलालको भाग छुट्याइएन भने पवित्र काममा पनि भाँजो हाल्ने कुरा देखाइएको छ।

उनको ‘टिकटक लाइक’ राजनीतिक स्पर्श भएको सामाजिक समस्या उठान गरिएको लघुकथा हो। यसले काम गर्नुपर्ने समयमा आफूलाई व्यस्त देखाई टिकटक र फेसबुकमा भुलिरहेको व्यक्तिप्रति कटाक्ष गरेको छ। उनको ‘पेवा’ लघुकथाले गाईवस्तु बेची कुकुर पाल्ने समाजको आलोचना गरेको छ। यस लघुकथाले नेपाली समाजमा आएको आर्थिक गिरावटका साथै सामाजिक पक्षमा आएको परिवर्तन देखाएको छ।

त्यस्तै, ‘भाषण’मा नेताको बोलीभित्र लटपटिने नेपाली जनताको मानसिकता चित्रण भएको छ। यस लघुकथाले कमजोर पुरूष चेतना प्रस्तुत गरेको छ। उनको ‘खुसी’ लघुकथामा राजनीतिक चेतना र मतदाता चेतना कम भएको समाज चित्रण भएको छ। यसमा योग्य नेता छान्नेभन्दा रासनपानी जुटाउने समस्यामा मतदाताहरु केन्द्रित रही मतदान गरेको कुरा आएको छ।  

रामराजा केसीले समाजका घटनाको सूक्ष्म अवलोकन गरी मानवीय समवेदना ह्रास भइरहेको कुरा पनि गरेका छन्। उनको ‘विश्वकप’ लघुकथाले आफ्नो बाबु मरेको पिरले भन्दा समर्थक गरेको समूहले खेल हारेकोमा चिन्ता लिएको कुरा आएको छ। यसमा लत कुलत बने मानवीय समवेदना सङ्कटमा पर्ने कुरा आएको छ। उनको ‘मर्चा’ लघुकथाले मादक पदार्थ सेवन गरेपछि शक्ति बढ्ने र आक्रामक बन्ने कुरा गरेको छ। यस लघुकथाको विषय सामान्य छ।

उनको ‘मित्रता’ लघुकथाले वैयक्तिक स्वार्थका लागि आफ्नै मित्रले दिने धोका प्रस्तुत गरेको छ। कठिन परिस्थितिमा सहयोग गरी मित्र बनाइएकाले अवसर पाउँदा ज्यान लिने कुरा यसमा आएको छ। मानवेत्तर पात्र प्रयोग गरी प्रतीकात्मक रुपमा लेखिएको यस लघुकथाले स्वार्थी, नीच र धोकाधारी मित्रको चरित्र देखाएको छ।

त्यस्तै, ‘भक्त’ लघुकथामा मानिसले धन र स्वार्थका लागि देवताहरुको जीवनसँग पनि खेलेको कुरा व्यक्त गरेको छ। पौराणिक पात्रलाई वर्तमान समयसँग संयोजन गरी यो लघुकथा लेखिएको छ। मानिसले पैसाका लागि प्राकृतिक वातावरणको साथै जीवनसँग खेलेको कुरा यसमा आएको छ। वर्तमान विश्वबजारमा भएका उपभोग्य सामग्री निर्माण विधि र मिश्रणप्रति यसले ध्यानाकर्षण गराएको छ।

उनको ‘लापता’ लघुकथामा यौनेच्छामा लिप्त जोगी र पैसालाई महत्व दिने नारीको चरित्र प्रस्तुत छ। यस लघुकथाले पैसा र यौनेच्छाको अगाडि सामाजिक, पारिवारिक एवम् धार्मिक मानमर्यादा कमजोर हुने कुरा गरेको छ। उनको ‘चरित्र’ लघुकथामा वैदेशिक रोजगारमा जाने पुरूषकी पत्नीले बाह्य पुरूषहरुसँग सम्बन्ध जोडेको कुरा आएको छ।

वर्तमान नेपाली समाज चित्रण भएको यस लघुकथामा भोग्या नारीको चरित्र प्रस्तुत छ। उनको ‘सूचना’ लघुकथामा झिनो कथानक छ। पत्नीले आफ्नै टोलमा वेश्यावृत्ति गर्ने महिला बढेको सूचना दिँदा लोग्ने पल्केको कुरा यसमा प्रस्तुत छ।

रामराजा केसीको यस सङ्ग्रहका लघुकथामा नेपाली समाजको यथार्थ चित्रण छ। उनको ‘ममता’ लघुकथाले पारिवारिक समस्या देखाएको छ। घरबाट पारिवारिक उपेक्षाका कारण वृद्धाश्रममा पुगेर मृत्यु पर्खिरहेकी आमाले सन्तानलाई पीडा नहोस् भनेर एसी राख्न लगाएको कुरा यसमा आएको छ। यसले आमाको ममता देखाएको छ। प्रकारान्तरमा भने आफूलाई वृद्धाश्रम पठाउने छोराको अन्तिम बसाइ वृद्धाश्रम रहनुपर्ने आमाको सोचाइ पनि यसमा आएको छ।

उनको ‘घमन्ड’ लघुकथा प्रतीकात्मक छ। पैसाका रापले घमन्ड बढाउने कुरा यसमा आएको छ। केसीले भाषासँग सम्बन्धित समस्या उठाएर पनि लघुकथालाई रोचक बनाएका छन्। उनको ‘साँप’मा भाषा बोधको कठिनाइ, शङ्का, आवेगका कारण साँपको श्रुतिसमभिन्नार्थी साप सुनी मालिक्नीले श्रीमान्लाई कुटेको घटना यसमा आएको छ। यस लघुकथामा कुरा नबुझी लिएको हठात् निर्णयले पारेको समस्या आएको छ।

त्यस्तै, ‘डाहा’ लघुकथाले विदेशमा काम गर्न पुगेका श्रमिकको पीडा देखाएको छ। विदेशमा पुगी काम गर्नेहरुले आफूलाई सुखी देखाउन फोटाहरु राखे पनि वास्तविक जीवन कहाली लाग्दो रहेको कुरा यसमा प्रस्तुत छ।

उनको ‘मुद्दा’ लघुकथाले चाहिँ प्रेम गरी केटालाई फसाउने कुरा एकातिर देखाएको छ भने अर्कातिर केटा फसाउन बाध्य भएको परिस्थितिलाई पनि लघुकथाले समेटेको छ। उनको ‘जानकारी’ लघुकथामा स्कुल पढ्दै गरेकी केटीलाई हाकिमले फकाएर यौनेच्छा तुप्त गरी भागेको कुरा आएको छ । यसको कथानक सामान्य छ।

केसी समाजमा नारी अभियन्ता, एनजिओ र आइएनजिओको गतिविधिप्रति पनि सचेत दखिन्छन्। उनको ‘परिवर्तन’ लघुकथामा नारी अभियन्ताले समाजमा आफू चिनिन, पेसा बचाउन, सोझासिधा महिलालाई बहकाई घर बिगार्न गरेको कोसिस देखाएको छ भने तिनै केटी आफ्नो घर नबिग्रियोस् भनेर सचेत रहेको घटना पनि आएको छ।

उनको ‘बेबी सावर’ लघुकथाले सामाजिक सञ्जालमा देखिने विकृति प्रस्तुत गरेको छ। वर्तमान समयमा व्याप्त बेबी सावर र अङ्ग प्रदर्शनीका कुरा यसमा आएको छ। यसमा लेखकले टिकटक बनाउँदा भएको दुर्घटना देखाएर ‘केके अनिष्ट हुन्छ, यस घरमा हेर्दै जाऊ न!’ भन्ने भनाइलाई सार्थक बनाई स्याल कराउनु कुखुरा हराउनु उखान चरितार्थ गरेका छन्। बेबी सावर गरी अङ्ग प्रदर्शन गर्ने हरेक व्यक्तिमा यो कुरा लागु नहुने भएकाले यसले पाठकलाई सन्देश दिन सकेको छैन।

रामराजा केसीले सामाजिक विषयलाई यौनसँग जोडेर पनि प्रस्तुत गरेका छन्। उनको ‘जोस‘ लघुकथामा काम गर्दा भोक, प्यास, थकाइको कुरा गरे पनि भोगका लागि अघि सर्ने पुरूष मानसिकता प्रस्तुत छ। गोरूलाई पात्र बनाई लेखिएको यो लघुकथा चोटिलो छ।

त्यस्तै, उनको ‘नासो’ लघुकथामा अर्काको नासो लगाउन नहुने कुरा एकातिर छ भने अर्कातिर धनी वर्गका मानिससँग सरसामान सापट लिएर चलाउनु भनेको जालझेलभित्र फस्नु हो भन्ने कुरा देखाइएको छ।

रामराजा केसी राजनीतिक विषयमा पनि सचेत छन्। उनी राजनीति सुधार भए देश, समाज, परिवार र व्यक्तिसमेतको चरित्र सुधार हुने अपेक्षा गर्दछन्। उनका राजनीतिक विषयका लघुकथाहरुले पार्टीगत राजनीतिदेखि लिएर व्यक्तिगत राजनीतिसम्मलाई छोएको छ। उनको ‘चुनाव’ राजनीतिक वितृष्णा प्रस्तुत भएको लघुकथा हो। यस लघुकथामा विपरीत सिद्धान्त बोकेका पार्टीहरु एकआपसमा मिलेर क्षणिक राजनीति गरी देश र जनतालाई धोका दिएको कुरा व्यक्त छ। यस लघुकथाले सिद्धान्त मिचिएर गरेको राजनीतिक नेतृत्व वहिष्कार गर्नुपर्ने आवाज उठाएको छ।

त्यस्तै, उनको ‘जवानी’ लघुकथामा राजनीतिक क्षेत्रमा हुने लेनदेन विषय बनेर आएको छ। राजनीतिमा काम गरेर मात्र पुग्दैन। राजनीति गरेर टिकट पाउन खासगरी नारीहरुले नेताहरुलाई कोमल शरीर समर्पण गर्नुपर्ने कुरा आएको छ । उनको ‘मिनाहा’ लघुकथामा चाहिँ राजनीतिक शक्ति र पैसाको आडमा हुने सामाजिक विकृति देखाइएको छ। समाज बिगार्न चाहनेको चाहना विपरीत विकसित घटना यसमा आएका कारण यसको समापनमा आदर्शको छाया छ।

उनको ‘प्रस्ताव’ लघुकथा प्रतीकात्मक छ। यस लघुकथामा आफ्नो स्वार्थ पूर्ति हुन नसकेपछि विदेशीको पाउ परेर मातृभूमिलाई धोका दिएको कुरा व्यक्त छ। यस लघुकथाले २०४६ पछि नेपाली राजनीतिमा प्रवेश गरेको विदेशी शक्तिको प्रभाव प्रस्तु भएको छ।

रामराजा केसी राजनीतिप्रति सचेत र चासो दिने स्रष्टा भएको कुरा उनको राजनीतिक लघुकथामा देख्न सकिन्छ। पदका लागि निरन्तर राजनीतिमा लाग्दा श्रीमान्सँग भएको मनमुटाव उनको ‘राजनीति’ लघुकथामा देख्न सकिन्छ। राजनीतिक भेटघाट गरेर अबेला घर फर्केको कुनै दिन सन्जु रूखमा झुन्डिएको कुरा गरी यस लघुकथाको समापन भएको छ। यसमा उनको मृत्यु रहस्यमय छ। यस लघुकथामा सन्जुलाई उनका लोग्नेले मारे वा टिकट नपाएका कारण आफैले आत्महत्या गरिन् अथावा राजनीतिक व्यक्तिमध्ये कसैका कारण मारिइन् त्यो उल्लेख छैन। तयसैले लघुकथा समापनपछि पनि यस लघुकथाको कौतूहल पाठकमा रहिरहन्छ। यसले केसीलाई रहस्यमयी लघुकथा लेख्ने सर्जक बनाएको छ।

केसीले पौराणिक मिथकलाई वर्तमान समाजसँग जोडेर पनि राजनीतिक लघुकथा लेखेका छन्। यसरी लेख्ने क्रममा महाभारतको खलपात्र दुर्योधनलाई फरक दृष्टिकोणका साथ प्रस्तुत गरेका छन्। महाभारतमा दुर्योधनले एकछत्र राज्य चलाउन भाइहरूसँग युद्ध गरेका थिए। त्यस युद्ध राज्य टुक्रा पार्न नचाहने मनसायले भएको कुरा यस लघुकथामा दुर्योधनमार्फत केसीले गरेका छन्। सङ्घीयताको नाममा सङ्घ, प्रदेश, स्थानीय तह अझ वडा, टोलसम्म विभाजित भई आफूलाई महान् ठान्ने नेताहरुमा दुर्योधनको जत्ति बुद्धि नभएको कुरा यसमा गरी व्यङ्ग्य निर्माण गरिएको छ।

केसीको ‘अनुसन्धान’ लघुकथा चाहिँ जातीय धर्म, संस्कार, चालचलन जस्ता कुरा संरक्षण गर्नुपर्ने कुरासँग सम्बन्धित छ। यस लघुकथाले राज्य मात्र भएर पुग्दैन, राज्यभित्र रहने हरेकको अस्तित्व नरहे राज्य स्वतः नाश हुने कुरा अभिव्यक्त भएको छ। यस लघुकथाले बेला बितिसकेपछि गरेको अध्ययन, अनुसन्धान र कामले फाइदा नहुने कुरासमेत गरेको छ।

रामराजा केसीको कुहिरोभित्र लघुकथासङ्ग्रहभित्र नैतिक सन्देश प्रधान भएका लघुकथाहरु पनि छन्। ती लघुकथामध्ये ‘घमन्ड’ प्रतीकात्मक लघुकथा हो। यस लघुकथाले आआफ्नो जन्ममा रमाएर खुसी हुन सके पश्चाताप नहुने कुरा गरेको छ।

त्यस्तै, उनको ‘निरन्तरता’ लघुकथाले मानिसभित्र लुप्तावस्थामा शक्ति रहने कुरा गर्दै आत्माको ऊर्जा लिई आफ्नो काम गर्नुपर्ने नैतिक सन्देश दिएको छ। अनि, ‘हरण’ लघुकथाले चाहिँ संसारका सबैलाई आफन्तको दृष्टिले हेरे बलात्कार, अपहरण जस्ता कुकार्य नहुने कुरा गरेको छ।

रामराजा केसी पाप र पुण्य स्वीकार गर्ने कथाकारका रुपमा देखिएका छन्। यस किसिमको प्रवृत्तिले उनको लघुकथा लेखन आदर्शतिर ढल्केको छ। उनको ‘बजेट’ लघुकथामा राजनीतिक तथा सामाजिक विकृति देखाइएको छ। आफ्नो पहुँच भएकाले सरकारी बजेटमा आफ्नै घर र ठाउँ विकास गरेर पहुँचको राजनीति गरे दैवलाई असह्य हुने कुरा प्रस्तुत भएको छ। उनको यस लघुकथाको अन्तमा संयोगवश बजेट दुुरूपयोग गर्नेको छोरो दुर्घटनामा परेको देखाई खराब कामबाट आर्जित सम्पत्तिले हुने क्षति प्रस्तुत गरिएको छ।

वर्तमान आँखाले हेर्दा अन्धभक्तिका साथै ‘सहु र धैर्य गर’ भन्ने भाव यसमा प्रकट भएको देखिन्छ। मूलतः खराब कामले खराब परिणाम भोग्नुपर्ने कुरा यसमा आएको छ। यसले नियतिलाई महान् मानेको छ। उनको ‘यातना’ लघुकथामा पनि अरुको सन्तानलाई दुःख दिँदा आफ्नो सन्तानलाई नियतिले दुःख दिएको कुरा आएको छ। यस लघुकथाले सबै प्राणीलाई एउटै नजरले हेर्नुपर्ने कुरा उठाएको छ।

रामराजा केसीको ‘हलचल’ मनोवैज्ञानिक प्रभाव उल्लेख भएको लघुकथा हो। यसमा महाभारत टेलिशृङ्खला हेर्दै गरेकी नारी पात्र छिन्। उनले महाभारतको कुनै सत्य कुरा नलुक्ने प्रसङ्ग व्यक्त भएको टेलिशृङ्खला हेर्छिन्। यस हेराइले उनको अन्तर्मनमा पीडा उत्पन्न हुन्छ। उनलाई श्रीकृष्णको साथ लिँदा पनि द्रौपदीले सत्य कुरा प्रकट गर्नुपरेको सम्झिन्छिन्। यस लघुकथाको विषयले उनको मनमा संशय उत्पन्न हुन्छ। उनी आफूले पनि लोग्ने विदेशमा भएको वेला परपुरूषसँग भएको सम्बन्ध नलुक्ने मानसिकता बनाउँछिन्। यसै कारण लोग्ने आएपछि सत्य कुरा थाहा पाउने कुराले उनी चिन्तित बनेकी छन्। उनले शैक्षिक विकृति प्रस्तुत गरेर पनि लघुकथा लेखेका छन्।

उनको ‘परीक्षा’ लघुकथाले पदमा रहेका शिक्षामन्त्रीले परीक्षाको नियम उल्लङ्घन गरी परीक्षा दिएको कुरा आएको छ। यस लघुकथाले कानुन कार्यान्वयन गर्ने पक्ष नै नियमको दायराभित्र नरहेको कुरा देखाएको छ। यसले नेपालमा कानुन कार्यान्वयनमा शङ्का देखाएको छ।  

केसीको कुहिरोभित्र लघुकथासङ्ग्रहमा सामाजिक, राजनीतिक, नैतिक सन्देश दिने लघुकथाका साथै मनोवैज्ञानिक एवम् यौन विषयक लघुकथा छन्। उनका लघुकथाले खास समाजको खास पक्ष मात्र प्रदर्शन नगरी अन्तरविषय प्रस्तुत गरेको छ।

उनका सामाजिक, राजनीतिक विषयका लघुकथाले मनोवैज्ञानिक, यौन, नैतिक चेतनाका साथै सामाजिक, विकृतिविसङ्गति देखाएका छन्। उनका लघुकथाहरुमा चरित्रको चित्रण अधिक छ। उनले एउटै पात्रलाई सुरूमा सकारात्मक तरिकाले सोच्न बाध्य बनाएको छ भने त्यसको विपरीत चरित्र रहेको पनि देखाएका छन्। उनका मिनाहा, नासो, बेबी सावर, मुद्दा, डाहा, ममता, विश्वकप जस्ता लघुकथामा यो प्रवृत्ति देखिएको छ। उनका लघुकथाहरुले पाठकलाई द्वैध मानसिकता निर्माण गरिदिन्छ।

पाठकले सकारात्मक सोच्दै नकारात्मक र नकारात्मक सोच्दै सकारात्मक सोच्न बाध्य हुन्छ । यो उनको लघुकथा लेखनको मौलिकपन पनि हो।

रामराजा केसीका लघुकथाहरुमा विषयवस्तु वा कथानकअनुसार पात्र संयोजन भएका छन्। उनका सामाजिक लघुकथामा समाज र परिवारका यथार्थ पात्र प्रस्तुत छन्। उनका लघुकथाले सामाजिक विकृतिको उन्नयनमा पुरूषभन्दा महिला पात्र हाबी भएको कुरा देखाएको छ।

त्यस्तै, उनले मानवेत्तर पात्र प्रयोग गरेर पनि लघुकथा रचना गरेका छन्। उनका ‘प्रस्ताव’ लघुकथामा खरायो, मृग र स्याल ‘मित्रता’ लघुकथामा कुकुर सुँगुर, ‘घमन्ड’मा खाम र पैसा जस्ता मानवेत्तर पात्र छन्।

त्यसैगरी ‘मर्चा’ लघुकथामा बिरालो र मुसा, यातनामा गाई, ‘जोस’मा गोरू, गाई अनि अनुसन्धानमा भुरा माछा, डल्फिन, भ्यागुता जस्ता मानवेत्तर पात्रका साथ मानव पात्र प्रयोग गरिएका छन्।

त्यसै गरी उनको ‘राज्य’मा महाभारतका कृष्ण, दुर्योधन ‘निरन्तरता’मा लक्ष्मण, हनुमान्, जाम्बवान् ‘हलचल’मा कृष्ण, पाँच पाण्डव ‘भक्त’मा इन्द्र, ब्रह्मा, नारद जस्ता मिथ पात्र प्रयोग गरिएका छन्। यी विभिन्न लक्षणका पात्रहरु रहेका लघुकथामध्ये मानवेत्तर तथा मिथ पात्र प्रयोग भएका उनका लघुकथाहरु बढी पठनीय र सबल बनेका छन्।

मूलतः उनले कथानक र परिवेशअनुसार पात्र चयन र नामकरण गरेका छन्। यसका साथै उनले वर्तमान नेपाली समाजको वास्तविकता देखाउन स्वप्न, कल्पना आदिलाई आधार बनाई मिथ पात्र राखेका छन्। उसले लघुकथालाई पठनीय बनाउको छ।

रामराजा केसीका कुहिरोभित्र लघुकथासङ्ग्रहमा विषयवस्तुअनुसार परिवेश निर्माण भएको देखिन्छ। उनको जन्ती लघुकथामा तिलकपुर, पेवा लघुकथामा बुढानीलकण्ठ, परीक्षामा त्रिभुवन विश्वविद्यालयको परीक्षा केन्द्र र त्यसको परिसर, मुद्दामा काठमाडौँ बेपत्तामा दक्षिणकाली जस्ता परोक्ष नाम भएका स्थान छन् भने अनुसन्धानमा पानीको दह, प्रस्तावमा जङ्गल प्रतीकमा फूलबारी र पसल, भक्तमा स्वर्ग जस्ता स्थान आएका छन्।

बाँकी अन्य लघुकथामा उनले कथानकअनुसार घर, कोठा, बजार जस्ता परिवेश आएका छन्।मूलत: उनको लघुकथामा सहरको तुलनामा ग्रामीण स्थान आएका छन्। समयका आधारमा उनका लघुकथामा वर्तमान समसामयिक समय आएको देखिन्छ।

उनका केही लघुकथामा पौराणिक घटना र पात्र आए पनि तिनलाई वर्तमान समय र सन्दर्भसँग जोडेर प्रस्तुत भएका छन्। हाल लघुकथा लेखन गर्दा एक स्थान र समय हुनुपर्ने कुरा उठेको छ। यस आधारमा हेर्दा उनका केही लघुकथामा स्थान र समय भने विस्तार भएको छ।

रामराजा केसीको कुहिरोभित्र लघुकथासङ्ग्रहका लघुकथाहरुमा आदि, मध्य र अन्त्यको विन्यास छ। त्यसैले उनका लघुकथाहरु रेखीय शैलीका सरल छन्। उनका जन्ती, अनुसन्धान, मर्चा, मित्रता, भक्त, प्रस्ताव, जोस, घमन्ड, हरण जस्ता लघुकथाहरु प्रतीकात्मक छन्। उनका भक्त, राज्य, हलचल, निरन्तरता, हरण जस्ता लघुकथाहरुमा मिथको प्रयोग छ। पौराणिक घटनालाई वर्तमान जीवनसँग जोड्न उनले स्वैरकल्पना, संस्मरण, बोधात्मक शैली पनि प्रयोग गरेका छन्।

शब्द प्रयोगका आधारमा हेर्दा सामान्य बोलचालको भाषा प्रयोग गरिए पनि आवश्यकतानुसार आगन्तुक शब्द प्रयोग भएका छन्। यसका साथै उनका डाहा लघुकथामा भने उर्दु भाषा राखी नेपालीमा उल्थासमेत गरिएको छ। उनले केही लघुकथाका संवादमा पात्रअनुसार भाषा प्रयोग गर्न खोजेका छन् तर सबल रुपमा आएको छैन। उनले लघुकथामा आवश्यकतानुसार वर्णनात्मक तथा नाटकीय शैली प्रयोग गरेका छन्। उनका यस सङ्ग्रहका लघुकथाहरुमा तृतीय पुरूष दृष्टिविन्दु प्रयोग गरी लेखेका छन्।

यसरी लेखन गर्ने व्रmममा अस्वाभाविक रुपमा घटनाले घुम्ती समातेको देखिन्छ।उद्देश्यका आधारमा रामराजा केसीकृत कुहिरोभित्र लघुकथासङ्ग्रहका लघुकथाले व्यक्ति, परिवार, समाजलाई सभ्य बनाउन लाग्नुपर्ने कुरा गरेका छन्। राजनीतिक विसङ्गति, छाडा यौन गतिविधि, पुरूषप्रधान समाजको मानसिकता, परपुरूषसँग नारीको सम्बन्ध, पैसाका लागि मरिहत्ते गर्ने व्यक्ति, घमन्डले उन्मत्त संस्कार, वर्तमान समयमा भएको प्रविधि दुरूपयोग जस्ता कुरालाई उनले देखाएका छन्।

समष्टिमा उनका लघुकथाहरुले व्यक्ति, समाज र राष्ट्रको विकासका लागि असल संस्कार, प्रवृत्ति र स्वभावको अपेक्षा गरेको छ।

रामराजा केसीको कुहिरोभित्र लघुकथासङ्ग्रहका लघुकथाहरुमध्ये टिकटक लाइकमा दुई शब्दको शीर्षक छ। त्यस्तै, उनका टिकटक लाइक र बेबीसावर गरी दुइटामा विशुद्ध अङ्ग्रेजी शब्द प्रयोग गरी शीर्षकीकरण भएको छ। उनको विश्वकपमा विश्वसँग जोडिएको कपमा अङ्ग्रेजी शब्द छ। तथापि यी शब्दहरुले नेपालीमा आफ्नै घर बनाइसकेका कारण शीर्षकीकरण उचित छ। मूलतः उनले विषयवस्तुअनुसार शीर्षक प्रयोग गरेका छन्।

लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्ने विश्वास छ।

अन्तमा आगामी दिनमा उनको लघुकथा लेखन अझ परिष्कृत भई मौलिक बनोस् भन्दै कृतिकार एवम् कुहिरोभित्र लघुकथासङ्ग्रहको सफलताको कामना गर्दछु।  

प्रकाशित: ६ भाद्र २०८१ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App