१) मुक्तक
तिमी जब मौन बस्छौ अचम्मै ढुकढुकी बढ्छ मेरो
आगो बन्दछ धुवाँविनैको पिल्सिएर मन डढ्छ मेरो
यत्रतत्र सर्वत्र तिम्रै माया माया देख्छु आजभोलि
अत्तालिन्छु यसै अनायासै मायाको पारो चढ्छ मेरो।
२) मुक्तक
सत्य हो, गधाले बोक्ने भारी हुन्डरी स्यालले बोक्न सक्दैन
गन्तव्यमा पुग्नेले यात्रा जारी राख्छ कसै गरी रोक्न सक्दैन
छाडा जन्तुहरूले खाएर अन्न बाली तहसनहस बनाए पनि
मात्र हेरिरहन्छ, भुक्ने कुकुर, भुक्ने मात्रै हो टोक्न सक्दैन।
३) मुक्तक
गरिब बस्तीको घाउ सेकिंदैन गणतन्त्रको बिउ कता छ!
निष्ठा र इमानको खुट्टो टेकिंदैन गणतन्त्रको बिउ कता छ!
ठग, भ्रष्टाचारी, जनतामाराले देशको अस्तित्व धरापमा पारे
लाज र घीन ह्वाङ्ग छ छेकिंदैन गणतन्त्रको बिउ कता छ।
४) मुक्तक
देखेर पनि गलत, पटक्कै बोल्दै बोल्दैन मौन रहन्छ दुनियाँ
बुझेर पनि बुझ पचाइरहन्छ शान्त र मत्थर छ भन्छ दुनियाँ
सत्य पोलेर होला जतासुकै दुषित र गन्ध छ वातावरण पनि
गहिराइमा कोही जान चाहन्न सत्यसँग बेखबर बन्छ दुनियाँ।
५) मुक्तक
तँ दुष्ट-पापी समयले दिएको घाउहरूको खत अझै छ
हो सम्झना नचाहने तर चिमोटेर दुखाउने विगत अझै छ
हेर त! तैंले हराए पनि कयौं पटक जीवनका खेलहरूमा
मेरो हौसला, शुभचिन्तकको साथसमर्थन र मत अझै छ।
६) मुक्तक
आदर्श बोकेर हिंड्नेको कुनै मूल्य हुँदैन र पनि चल्नुपर्छ
अनि सतही समाजमा विषबाट बच्न स्वयंले विष छल्नुपर्छ
लाग्न सक्छ ठेस, दुख्न सक्छ, विचलित हुन सक्छ मन पनि
सत्यको पथमा चल्दा कस्तै कठिनाइको जोखिम मल्नुपर्छ।
७) मुक्तक
खै किन हो तिम्रा सम्झनाहरू बयली खेल्छन् यसै
अडिन खोज्छ मन स्थिर भई आएर पेल्छन् यसै
न शान्तसँग बस्न दिन्छन् न त दिन्छन् रातमा निन्द्रा
उग्र भैदिन्छन् तीव्र भैदिन्छन् मनलाई ठेल्छन् यसै।
८) मुक्तक
न मल न गतिलो बिउ छ जनता विषादीको मारमा छन्
न बाटो न पुल छ दुर्गम पूरै तुइनका लट्ठा र तारमा छन्
गणतन्त्र कुर्सीको छिर्के हान्ने दाउमा कुदाकुद गर्दा गर्दै
अधोगतिमा छ देश, सर्वसाधारण रिनको भारमा छन्।
९) मुक्तक
हो पत्तै नपाई ओठको लाली हराएछ, जिन्दगी बुझ्दा बुझ्दै
सधैभरि हृदय चहर्यायो, मुटु चर्कियो, वेदनामा रुझ्दा रुझ्दै
जीवनभित्रको जीवन सार्थक बनाउँछु भन्दा समयले छल्यो
सिङ्गो जिन्दगी लिलाम भयो, जीवनको युद्धमा जुद्धा जुद्धै।
१०) मुक्तक
जीवनका उकालीओरालीमा कहिले उक्लिंदै कहिले झर्दै
जिउनु पर्दोरहेछ अँध्यारोभित्र पनि उज्यालोको खोजी गर्दै
बुझ्दा, जिजीविषालाई जीवन्त राख्न क्षणक्षण मर्नुपर्ने रहेछ
जोगाउनु छ संसारको बागमा स्वयं, कतै फुल्दै र कतै मर्दै।
प्रकाशित: १३ श्रावण २०८१ १०:५८ आइतबार