नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक दलको उदयलाई लिएर प्रश्न गरेका छन्।
काठमाडौंमा बुधबारदेखि सुरु भएको पार्टीको 'सदस्यता नवीकरण विस्तार उत्प्रेरणा कार्यशाला' को उद्घाटन गर्दै अध्यक्ष ओलीले नयाँ पार्टी बन्नु स्वाभाविक भए पनि त्यो विचारबाट निर्देशित हुनुपर्ने बताएका हुन्।
संसारका विकसित र शक्तिशाली लोकतान्त्रिक मुलुकहरूको उदाहरण दिँदै ओलीले अमेरिका, भारत र चीन जस्ता देशहरूमा पुराना पार्टीहरूले नै शासन गरिरहेको स्मरण गराए। लोकतान्त्रिक प्रणालीमा स्पष्ट विचार र सिद्धान्तका आधारमा मात्र नयाँ दल गठन हुनुपर्नेमा उनले जोड दिए।
नयाँ दलहरूको उदयप्रति कटाक्ष गर्दै ओलीले भने, ‘दिनैपिच्छे पार्टी गठन हुन्छ ? चुनावैपिच्छे पार्टी गठन हुन्छ ? चुनावैपिच्छे नयाँ नयाँ पार्टी गठन हुने, नयाँ नयाँ पार्टीले चुनाव लड्ने, स्थापित पार्टीहरूलाई निषेध गरिने अनि गैरपार्टी भनिएका व्यक्तिहरूबाट, अनुभवहीन र नबुझेका व्यक्तिहरूबाट देशको शासन चलाइने भन्ने कुरा दुनियाँमा कहीँ हुन्छ ?’
उनले विश्व राजनीतिका उदाहरण दिँदै अगाडि थपे, ‘अमेरिकामा नयाँ पार्टी बनेका छन् र ? त्यहाँका डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरू के नयाँ हुन् ? पुरानै पार्टीहरू आपसमा प्रतिस्पर्धा गरिरहेका छन् र देश चलाइरहेका छन्। भारत र चीनमा पनि नयाँ पार्टीहरू होइनन्। अरू देशमा पनि यस्तो हुँदैन।’
सन्दर्भ र आवश्यकताअनुसार नयाँ पार्टी बन्नु स्वाभाविक भए पनि त्यो विचारबाट निर्देशित हुनुपर्ने उनको तर्क थियो। लोकतान्त्रिक व्यवस्थामा नयाँ दलहरूलाई निषेध गर्न नमिल्ने प्रस्ट्याउँदै उनले भने, ‘नयाँ पार्टी नआऊन् भन्ने हाम्रो चाहना होइन। तर नयाँ पार्टीका नाममा कतैबाट प्लान्टेड नयाँ पार्टीको जन्म हुनु भएन, विचारबाट नयाँ पार्टी बन्नुपर्छ। विचारले मात्रै पार्टी जन्माउँछ।’
अध्यक्ष ओलीले गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई 'असंवैधानिक सरकार' को संज्ञा दिँदै उक्त निर्वाचन निष्पक्ष र सही तरिकाले नभएको आरोप लगाएका हुन्। अध्यक्ष ओलीका अनुसार एमालेबाहेकका अन्य पुराना राजनीतिक दलहरूले समेत उक्त सरकारको नियत र निर्वाचनको वैधताबारे नबुझेको दाबी गरेका छन्। निर्वाचनको नतिजा पूर्वनिर्धारित रहेको उनको आरोप छ।
सोही अवसरमा अध्यक्ष ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न र संयमित हुन आग्रह गरे। उनले सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्दै उनले भेलाले पार्टीभित्र रहेका कतिपय अन्योलता र भ्रमहरू चिर्ने बताएका छन्। कार्यशालाले सहभागीहरूलाई नयाँ विश्वास, जोस र जाँगरका साथ कार्यक्षेत्रमा खटिन प्रेरित गर्ने उनको विश्वास छ।
प्रकाशित: २० जेष्ठ २०८३ १३:२७ बुधबार





