एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरमा मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रनको योगफल तयार पारेको हो।
नेपालका लागि कुशल भुर्तेलले १२६ रन बनाए। ५४ बलको सामना गरेका उनले १४ चौका र ८ छक्का प्रहार गरे। कुशल भुर्तेल टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेट बनेका छन्। कुशलले कप्तान दीपेन्द्र सिंह ऐरीको यसअघिको २२११ रनको कीर्तिमान तोडेका हुन्।
अर्का ओपनर आसिफ शेख ६८ रनमा भिरन्दीप सिंहको बलमा क्याच आउट भए। मात्र २४ बल खेलेका उनले ७ छक्का र ५ चौका प्रहार गरे। कुशल र आसिफले पहिलो विकेटका लागि मात्र ५२ बलमा १३४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
मध्यक्रम चल्न नसक्दा नेपाल कीर्तिमानी योगफल बनाउनबाट भने चुक्यो। अनुभवी रोहित पौडेल गोल्डेन डक आउट हुँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए। सन्दीप जोरा १५ रनमा आउट हुँदा लोकेश बमले १० र करण केसीले ७ रन जोडे। कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा नटआउट रहे।
समूह एमा रहेको नेपाल र मलेसियाको समान २ अंक छ। यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको थियो।
कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि समूह एमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा भएको हो। समूह बीबाट भने हङकङ र ओमानले एक एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। यो समूहबाट बहराइन र आयोजक सिंगापुर बाहिरिएका छन्।
प्रकाशित: २१ जेष्ठ २०८३ १३:५६ बिहीबार





