२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै!

दश मुक्तक

१) मुक्तक

जसरी माहुरी आउँछ र परागमा झुमेर जान्छ

जसरी अकस्मात आउँछ यायावर घुमेर जान्छ

आउनु अभिनय गर्नु र फर्किनु त रहेछ जीवन

जसरी नदीमा छाल आउँछ किनार चुमेर जान्छ।

२) मुक्तक

दिन दिनै राशिफल हेरेर मात्र कसरी काम बन्छ

अन्दाज गर्नुस् कतिथोक जलेर बल्ल घाम बन्छ

विषमता भनेको त विश्वविद्यालय हो जीवनको

हजारौं ठक्कर खाएपछि नै ढुङ्गो शालिग्राम बन्छ।

३) मुक्तक

पट्टयाएर वस्त्रझैं दराजमा चाङ्न मिल्ने भए त

सापटीमा दिन अथवा पैंचो माग्न मिल्ने भए त

टङग्याउने थिएँ बेलाकुबेला दुखिरहने मन पनि

निकालेर एकैछिन ह्याङ्गरमा टाङ्न मिल्ने भए त।

४) मुक्तक

उछिट्टिएर सगरबाट सितारा कुनै खस्यो भने

कैफियत खोज्नु कसैले चिल्लो धेरै घस्यो भने

जिन्दगी भेटिन सक्छ खोजे बरू मधुशालातिर

भावशून्य हुन्छ मान्छेको मन एक्लै बस्यो भने।

५) मुक्तक

दुश्मनलाई ओठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै

लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै

गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ

सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।

६) मुक्तक

कुकुरको छाउरोसँगै हुर्काउनुस् डमरु बाघतिरै लाग्छ

समाजसेवा भट्टयाए पनि मान्छे आफ्नै ताकतिर लाग्छ

कसैलाई रत्याएँ मनाएँ भन्नु एकैछिनको भ्रम मात्रै हो

जेजे चारो हाले पनि कौवाको बचरो कागतिरै लाग्छ।

७) मुक्तक

अलिकति फुफु गर्दिनुस् बल्नेलाई बल्न काफी हुन्छ

आँच बढाउनुस चुलोमा गल्नेलाई गल्न काफी हुन्छ

कसैलाई जलाउन न सलाई चाहिंदो रहेछ न मट्टितेल

थोरै राम्रो सुनाई दिनुस् जल्नेलाई जल्न काफी हुन्छ।

८) मुक्तक

कालो औंसीको रात हेर्छु जिन्दगी भेटिएझैं लाग्छ

लाशमा राखेको पाट हेर्छु जिन्दगी भेटिएझैं लाग्छ

यस्तो भनें उस्तो भनें आखिर होइन रहेछ देखेझैं

पुत्ताएको मसानघाट हेर्छु जिन्दगी भेटिएझै लाग्छ।

९) मुक्तक

काम लिनु रहेछ भने प्रशंसाले धुरीमाथि चढाउँछन्

रोजगारी छैन करमाथि निरन्तर कर मात्रै बढाउँछन्

अधोगति नभएर मुलुकको प्रगति कसरी हुन्छ यहाँ

जहाँका विश्वविद्यालय फगत बेरोजगारी पढाउँछन्।

१०) मुक्तक

आफैंले बाँध्नुपर्छ कहिले आफैंले गएर फुकाउनुपर्छ

कहिलेकाहीं सानै कुराको महँगाे दस्तुर चुकाउनुपर्छ

मान्छेलाई मान्छे रहन दिनुस् ईश्वर बनाउन नखोज्नुस्

देवता बनायो भने ढुङ्गालाई त्यसैमा शिर झुकाउनुपर्छ।

प्रकाशित: ६ श्रावण २०८१ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App