१) संवाद
एकपटक म घुम्दै एउटा पार्कमा पुगेँ। भानुभक्त र मोतीरामको सालिकलाई सँगै देखेँ। उनीहरू कुरा गरेको खुसुरफुसुर आवाज सुनें। मेरा कान ठाडा भए।
‘होइन मोती, मेरो बारेमा यति बढाएर व्याख्या नगर्नुपर्थ्यो। म त सामान्य जनता, बाहुन केटो, रम्घामा जन्मेको थिएँ।’
‘होइन नि बाजे, आम नेपाली जनतालाई भाषाको माध्यमले एकीकृत गर्नु कहीं चानचुने कुरो हो र भन्या?’
‘खै, तिमी त आफैं विद्वान्, म के जानुँ त नि? खसोखास कुराचाहिं त्यो गरिब घाँसीको विशाल मन देखेर यसो केही कल्याणको काम कलमले नै गरौं कि भन्ने लागेको मात्र हो।’
‘बाजेले कोरेका भाकाले त नेपाली जनमानस नाक फुलाएर उधुम छन्। हरेक वर्ष असार २९ गते कहिले आउला भन्दै औंला भाँचेर सम्मान खन्याउने तयारीमा औंला भाँचेर बस्छन्।’
मोतीका कुराले भानु भावुक भए र भने, ‘यही नै सत्य हो भने तिमीले नै सबैलाई मेरो सन्देश पुर् याउनुपर्याे है, प्रिय मोती!’
‘हजुर, मर्जी गरे भयो नि।’, अदबका साथ उनले जवाफ पर्खिए।
भानु गम्भीर भए र भने, ‘सबै नेपालीले एक दिन मेरो फोटो पुजेर, माल्यार्पण गरेर, स्मृतिमा सिर्जना फलाकेर, विभिन्न गोष्ठीका नाममा धनराशि खन्याएर मेरो सम्मान हुँदैन भनेका छ, भन्दिनू है।’
‘सम्मानका खातिर हामी के गरौं भनेर जनमानसले सोधे भने म बबुराले के भनौं, ख्वामित?’, मोतीले सोधे।
एकछिन गम खाएर भानुले भने, ‘विवेकको प्रयोग गरेर नेपाल आमा र नेपाली भाषाको अस्तित्वको बचाउ गर्नू नै मेरो सही सम्मान हुने छ भन्देऊ।’
उनीहरू दुईबिच भएको यति कुरा सुन्दै थिएँ तर त्यसै बेला दुई जना बलिया मानिस सालिक भत्काउन तयार भए। मैले कारण सोधे। उनीहरूले भने, ‘अब यहाँ पार्क संरक्षक गर्ने मालिकको सालिक बनाउने रे।’
२) आक्रान्त
रामु एक्लै फत्फतायो, ‘केके को भार धानोस्? यो धरतीले पनि! उड्ने र गुड्नेको हल्लाले मेरो कान नै पाकिसक्यो।’
आमाले कराउनुभयो, ‘खाना खानु परेन? कलेज जान ढिलो पनि भएनछ कि?’
उसले आमा नजिक गएर भन्यो, ‘अलि बिस्तारै बोले हुन्न, आमा? पढ्न बसेको चारैतिरको हल्लाले कान बन्द, दिमाग शून्य भैसक्यो। यो तालले त म परीक्षामा असफल हुन्छु होला।’
‘व्यस्त शहरको बीचमा, सडकको छेउमा घर बनाएपछि यस्तै हो, बाबु! बानी पर्नुपर्छ। सबै सहज हुन्छ नि!’आमाले सम्झाउनुभयो।
रामु झनक्क भयो, ‘वातावरण प्रदूषण, गरिबी, कमिशन, भ्रष्टाचार, प्राकृतिक प्रकोप, सामाजिक र राजनीतिक विकृति केकेमा बानी पर्नुपर्ने हो कुन्नि?’
प्रकाशित: ३० असार २०८१ १०:०३ आइतबार