विद्वानहरूको माझमा बसेर आज ऊ गुरुको तर्कप्रति प्रतिवाद गर्दै थियो।
गुरुले सोचे, ‘आज यसलाई के भएछ कुन्नि? कुनै बेला मेरो शिष्य रहँदाको अवस्थामा त उसलाई मेरो विद्वतामा मात्र विश्वास थियो। उमेरमा पनि म निकै अनुभवी नै हुँ।’
गुरुले एकान्त पारेर उसलाई जिस्काए, ‘उसो भए तिमीलाई मभन्दा ठूलो भएँ भन्ने अहङ्कार चढेछ है!’
उसले तुरुन्तै जवाफ दियो, ‘विषय अहङ्कारको होइन गुरु!
ज्ञानप्राप्तिमा को कत्तिको पुनर्नवीन (अपडेट) छ भन्ने कुरा हो।’
गुरु असमझमा परे। उनले भने, ‘तिम्रो मनसाय के हो भन्न चाहेको कुरा बुझिने गरेर प्रष्ट भन।’
उसले हाँस्दै भन्यो, ‘बूढो भएँ भनेर नातिनीसँग टिकटकमा समय बिताउन थालेपछि नवीन ज्ञानविज्ञानसँग कसरी जुझ्ने त? कहिलेकाहीं सानो मानिस पनि सही हुन सक्छ नि गुरु, होइन!’
गुरुले गम खाँदै भने,‘हो , तिमीले गहन कुरा गर्यौ। मैले समर्थन जनाएँ।’
उसले तर्क राख्यो, ‘सबै मानिसमा गुण र विवेक त हुन्छ नै! त्यसको प्रयोग कसरी गरेर सफलता प्राप्त गर्ने भन्ने कुरा उसको व्यक्तिगत प्रयास हो नि गुरु!’
‘तिमीमा धेरै भिन्नता आएको पाएँ। खुसी लाग्यो।’ गुरुले हर्षाश्रु खसाले।
गुरुलाई अङ्कमाल गरेर उसले भन्यो, गुरुको निर्देशनअनुसार नै मैले लगन र साधनालाई मित्र बनाएँ अनि आज यो स्थानमा उभिन सफल भएको हुँ।’
प्रकाशित: ६ असार २०८१ ०८:३५ बिहीबार