२० पुस २०८२ आइतबार
image/svg+xml
कला

पचास हजार नगदसहित साहित्यकारकी आमालाई सम्मान गरिने

कवि विमल गुरुङ स्मृति पुस्तकालय र अनलाइन अभिलेख प्रालि काठमाडाैंले आयोजना गरेको डा. पुरण राईका पाँच कृति परिचर्चा तथा सम्मान कार्यक्रममा मौलशाेभा राई आमा सम्मान घोषणा गरिएको हो।

अनलाइन अभिलेख प्रालिका संस्थापक पनि रहेका डा. राईले आफ्नी आमा मौलाशाेभा राईको नाममा उक्त आमा सम्मानको घोषणा गरेका हुन्।

डा. राईकाे अनुसार भाषा, साहित्य, कला, संस्कृति तथा आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूकी आमालाई मौलशाेभा राई आमा सम्मान प्रदान गरिनेछ।

नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित मौलशाेभा राई आमा सम्मान प्रत्येक वर्ष एकजना आमालाई सम्मान गरिनेछ। यसै वर्ष २०८१ देखि कार्यविधि बनाएर यो सम्मान प्रदान गरिने डा.राईले जानकारी दिए।

कृति परिचर्चा कार्यक्रममा नेपालका भाषाविद् प्राडा टंक न्यौपानेसहित ६ साहित्यकारलाई सम्मान गरिएको थियो। प्राडा न्यौपानेसँगै वरिष्ठ कवि जसराज किराती, वम देवान, शरणकुमार राई, कुन्ता शर्मा र विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङलाई सम्मान गरिएको थियो।

साहित्यकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ)ले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा डा. राईको पाँच कृतिकाे परिचर्चा पनि भएको थियो। केही समयअघि उनका वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानकाे एकैसाथ लाेकार्पण गरिएको थियो।

कार्यक्रममा डा.अस्मिता विष्टले डा. राईका उपन्यास वसन्त ऋतुमाथि चर्चा गरेकी थिइन् भने डा. महानन्द तिम्सिनाले कोभिड डायरी-डरका बिम्बहरूमाथि चर्चा गरेका थिए।

यस्तै राजेश विद्रोहीले अस्तु कथासंग्रहकाे चर्चा गरेका थिए। यस्तै प्राडा टंक न्यौपानेले पनि उनका कृतिमाथि चर्चा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मेयर साम्पाङले साहित्य, शिक्षाले समाजलाई निर्देशित गर्ने धारणा व्यक्त गरे। साथै उनले साहित्य कल्पना र कल्पना योजना हुने भएकाले साहित्य विकास पनि भएको बताए।

प्रकाशित: १ असार २०८१ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App