७ माघ २०८२ बुधबार
image/svg+xml
कला

‘चुनौतीपूर्ण र खर्चिलो विधा हो नियात्रा’

पुस्तक संवाद

डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईं सपरिवार बेलायतमा बसोबास गर्छन्। बजगाईंका रचनाहरू विसं २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। नियात्रा, कथा, लघुकथा, बालकथा, हाइकुलगायत विधामा उनका १८ वटा कृति प्रकाशित छन्। भर्खरै उनको पाँचौं नियात्रासङ्ग्रह ‘युङफ्राउ’ प्रकाशित भएको छ। दिलीप ढकालले नियात्रामा केन्द्रित रहेर गरेको पुस्तक संवाद:

भर्खर प्रकाशित तपाईंको नियात्रासङ्ग्रह ‘युङफ्राउ’को अर्थ के हो? के छ यस नियात्रासङ्ग्रहमा?

जर्मन शब्द युङफ्राउको नेपाली अनुवाद हुन्छ कुमारी। स्विजरल्यान्डमा पर्यटकको मुख्य आकर्षण, एउटा हिमालको नाम हो युङफ्राउ। त्यस हिमालसम्म म बस, केबलकार र रेलको यात्रा गरेर पुगेको थिएँ।

कुमारी हिमालले मोहनी लगायो। त्यसले नेपाल सम्झायो अनि नियात्रासङ्ग्रहको नाम युङफ्राउ राखें। यस नियात्रासङ्ग्रहमा स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइस यात्रानुभूति छन्। ती देशका भाषा, साहित्य, संस्कृति, इतिहास आदिबारे साहित्यिक वर्णनहरू छन्। ग्रिसमा भएका देवताका मन्दिर, सुकरातलाई थुनेको जेल, एरिस्टोटलले खोलेको स्कुललगायत रोचक नियात्रा छन्।

स्विजरल्यान्डको हिमालदेखि महान् वैज्ञानिक आइन्सटाइन बसेको घर र म्युजियमका रोमाञ्चकारी यात्रा वर्णन छन्। पोर्चुगलका भास्को दा गामादेखि त्यहाँको कला, संस्कृति र इतिहासका चाखलाग्दा बेलीविस्तार छन्। युङफ्राउ पढिरहँदा पाठकहरू मसँगसँगै यात्रा गर्नुहुनेछ। आफैं पुगेजस्तो र आफैंले देखेजस्तो अनुभूति गर्नुहुनेछ।

तपाईंलाई अनुसन्धानमूलक, बौद्धिक र अलिक फरक धारको नियात्रा लेख्ने नियात्राकार भन्छन्। किन त्यस्ता नियात्रा लेख्नुहुन्छ?

लामो समयदेखि विदेशमा बसेको हुनाले यताका इतिहास, कला, साहित्य र संस्कृतिप्रति आकर्षित भएको छु। यात्रा गर्दा देखेभोगेका रोचक कुरा, सूचना र आधिकारिक तथ्यहरू नियात्रामार्फत नेपाली साहित्यका पाठकलाई दिने गर्छु। त्यसका लागि म विशेष अध्ययन र अनुसन्धान गर्छु।

 नियात्राका नाममा भावनामा बगेका उडन्ते गफ लेख्नुभन्दा शब्दले समेत धरती टेकेका साहित्यिक वर्णन लेख्छु। शब्दहरू जोडजाड गरेर शाब्दिक मायाजालमा पाठकलाई अल्मलाउनुभन्दा ज्ञानको सागरमा पाठकले डुबुल्की लगाउन सकून् भनेर नियात्रामा मेहनत गर्छु।

नियात्रा लेख्न यात्रा गर्नुहुन्छ कि अनायसै भएको यात्रामा नियात्रा तयार हुन्छ?

  म यात्राप्रिय व्यक्ति हुँ। नयाँ कुरा थाहा पाउन खोज्नु र नयाँ ठाउँ घुम्नु मेरो रुचिको विषय हो। परिवार, साथीहरूसँगको घुमघाम वा कुनै कार्यक्रमको अवसरमा पुगेको स्थानको भ्रमणपश्चात् मेरो मन र मस्तिष्कलाई स्पर्श ग¥यो भने म तरंगित हुन पुग्छु। अनि त्यहाँका अनुभूतिलाई लिपिबद्ध गर्न थाल्छु। अन्ततः नियात्रा तयार हुन्छ।

नियात्रा लेखनका सजिला र अप्ठ्यारा पक्षहरू केही छन् कि?

नियात्रा लेख्न चुनौतिपूर्ण हुन्छ। साहित्यका अरू विधा एउटा कोठामा बसेर लेख्न सकिन्छ। तर, नियात्रा लेख्नका लागि लेखकले सम्बन्धित ठाउँको यात्रा गर्नै पर्छ। त्यस्ता यात्रा दुरीका हिसाबले टाढा, भौगोलिक अवस्थाका हिसाबले कठिन तथा चुनौतीपूर्ण र खर्चका हिसाबले महँगो हुन सक्छ। अनि नियात्रा लेख्न शिल्प, शैली र प्रस्तुतिका हिसाबले दुरुह पनि हुन सक्छ। यसर्थ नियात्रा लेख्न त्यति सजिलो छैन।

तपाईंको विचारमा नियात्रा के हो?

मेरो विचारमा यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, प्रसङ्ग, घटना, अनुभव आदिलाई निजात्मकताको रङ भरेर साहित्यको जलप लगाएको वर्णनयुक्त गद्य नै नियात्रा हो।

नियात्रा लेखनतिर कसरी आकर्षित हुनुभयो?

२०५१ सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निमन्त्रणामा दुई साताको चीन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो। चीनमा आमन्त्रित जर्मन नागरिक र मेरो लागि एक एक जना दोभाषे पनि उपलब्ध गराइएको थियो। मेरो दोभाषे चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व प्रमुख तथा पत्रकार यु फुङ हुनुहुन्थ्यो।

दुई साता बेइजिङ, छन्दु, सिगात्से र ल्हासा सहरका यात्रामा हामी सँगै थियौं। उहाँले मलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो -‘बजगाईंजी, चीन यात्राको अनुभव लेख्नुपर्छ है।’

बेइजिङमा दुई दिन सँगै घुमेका प्रसिद्ध भाषाशास्त्री प्राडा बल्लभमणि दाहालले पनि चीनको नियात्रा लेख्नुहोला कृष्णजी भन्नुभएको थियो। उहाँहरूले भनेका कारणले गर्दा लेखेको ‘ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिँदैन’ भन्ने यात्रासंस्मरण २०५५ सालको कान्तिपुर दैनिकको कोसेलीमा प्रकाशित भयो। कविता र कथामा रमाइरहेको मलाई त्यस यात्रासंस्मरणबाट पाएको प्रतिक्रियाले ऊर्जा थप्यो। त्यहींबाट मेरो नियात्रालेखन सुरु भएको हो।

तपाईं र तपाईंका कृतिबारे गरिएको मूल्यांकनबाट कतिको सन्तुष्ट हुनुहुन्छ?

पुरस्कार र सम्मान व्यक्ति र कृतिको मूल्यांकनका आधार हो भने मेरो खासै मूल्यांकन भएको छैन। किनकि जन्मभूमिबाट मैले पाउनुपर्ने राम्रा पुरस्कारहरू पाएको छैन। यदि कृतिको मूल्यांकनको आधार मेरो लेखनशक्तिलाई मान्ने हो भने पाठकहरूबाट राम्रो मूल्यांकन भएको छ। मेरा कृतिहरू पाठकले खोजीखोजी पढ्नुहुन्छ।

मेरो कृतिबारे समालोचकहरूबाट प्रशस्त समालोचना भएका छन्। पाठ्यक्रम निर्माण गर्ने विद्वान्हरूले मेरा चार ओटा नियात्राहरूको उचित मूल्यांकन गर्दै त्रिभुवन विश्वविद्यालय, लुिम्बनी विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा समावेश गर्नुभएको छ।

मेरो एक लघुकथा नेपाल सरकारको कक्षा १२ को पाठ्यक्रममा राखिएको छ भने अर्को लघुकथा म्यानमारको नेपाली पाठशालाको कक्षा ९ पाठ्यक्रममा परेको छ। मेरो एक बालकथा सरकारी स्कुलको कक्षा ५ को पाठ्यक्रममा छ भने अरू २१ वटा बालकथा निजी क्षेत्रका विद्यालयको कक्षा ४, ५, ६ र ७ मा पढाइ भइरहेका छन्।

दुई जना विद्वान्हरूले मलगायत डायोस्पोराका कविहरूका कवितामा पिएचडी सम्पन्न गर्नुभएको छ। यी सबै उपलब्धीहरू विचार गर्दा मेरो र मेरा कृतिको मूल्यांकन भएको ठानेको छु। म एकदम सन्तुष्ट छु।

तपाईं कस्तो परिवेशमा लेख्ने गर्नुहुन्छ?

डायस्पोराका अधिकांश सर्जकहरूलाई लेखनको परिवेश सहजै हुँदैन। मलाई कामको व्यस्तता, थकाइ, पारिवारिक जिम्मेवारी, सामाजिक सम्पर्क र आफू अध्यक्ष रहेको साहित्यिक संस्थाको काम, वेबपत्रिका र जर्नल प्रकाशन जस्ता विविध कार्यले गर्दा सधैं समयको अभाव हुने गरेको छ।

  लेखनको पहिलो ड्राफ्ट वा लेखनका लागि आएका विचारहरूको टिपोट ट्रेनको यात्रा, अफिसको टी वा लन्च ब्रेकको समय, बिहानी पख, मध्य रात कुनै पनि बेला हुन सक्छ। सप्ताहन्तको छुट्टीमा त्यसलाई सम्पादन गर्ने गर्छु।

प्रकाशित: ५ जेष्ठ २०८१ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App