३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

उपन्यास लेख्ने उमेर

यस्ताे पनि!

मेलेनी क्यान्टरले उपन्यास लेखेर चर्चा कमाउने सपना देखेको निकै वर्ष भयो। यतिबेला उनको दोस्रो कृति बजारमा आएको छ। तर, उनको यो रहर निरन्तरको प्रयास, चार वटा अप्रकाशित उपन्यास, सयौँ पटक विभिन्न प्रकाशकबाट प्राप्त गरेका अस्वीकृतिका चिठ्ठीका चाङका बाबजुद लेख्ने प्रयासले दिएको हो।

सन् २०२० मा मेलेनीको पहिलो उपन्यास ‘लाइफ एन्ड अदर ह्याप्पी इन्डिङ्स’ बल्लतल्ल छापियो। ६१ वर्षमा उमेरमा उनलाई उपन्यासकारको परिचय दिएकामा मेलेनी निकै खुसी भइन्। उनका बा चित्रकार थिए तर कहिल्यै आफू चित्रकार हुने सपना पालिनन्।

बरु उनले १५ वर्षको उमेरदेखि गितार बजाइन्, गीत फुराइन्, विद्यालय पढाइन्। त्यसबाट पनि दिक्क भएपछि उनले एउटा नाट्य संस्थाको लागि काम गरिन्। केही नाटक निर्देशक र कलाकारको सहायक भएर पनि काम गरिन्।

सन् २००८ मा उनी त्यसबाट पनि दिक्क भइन् र नयाँ बाटो खोज्न थालिन्। साथीभाइले ५० वर्षको उमेरमा शुभकामना दिँदै गर्दा उनलाई भने जीवनको समीक्षा गर्न मन लाग्यो। ‘जीवनभर मैले अरूका लागि काम गरेछु,’ अहिले लेखकका रूपमा चिनिन पाउँदाको खुसी साट्दै गार्डियन पत्रिकासँग मेलेनी भन्छिन्।

२००१ मा एउटा उपन्यास लेखिन् तर सोचेजस्तो लेख्न नसकेपछि लेखन कला सिक्न अक्सफोर्डमा भर्ती भइन्। यसले उनको आँखा खोल्यो कि वास्तवमा उनी अरूजस्तो सुन्दर लेख्न सक्तिन रहिछन्। आफ्नो भ्रम तोडिएपछि आफ्नो खुबी केमा छ भन्ने खोज्न थालिन्।

हास्य उनको विधा रहेछ भन्ने जानेपछि उनले केही ड्राफ्ट पनि लेखिन्। उनी हरेक दिन लेख्थिन्। लेख्दा उनलाई यति मजा आउन थाल्यो कि उनका पात्र, परिवेश र विषयवस्तुले उनलाई ध्यानस्थ बनाउँथ्यो। उनलाई समय बितेको पत्तै हुन छाड्यो। लेखेका कुरा उनले एजेन्टलाई पठाइन् तर एजेन्टले यति नराम्रा टिप्पणी गरे कि उनको हौसला नै हरायो।

साह्रै भएन भनेपछि एक जना सम्पादक नियुक्त गरिन् र पहिलो उपन्यासको ड्राफ्ट तयार भयो। ‘लाइफ एन्ड अदर ह्याप्पी इन्डिङ्स’ अन्त्य निकै नराम्रो भयो किनभने कोरोना भाइरसले संसार ठप्प भयो। उनले उपन्यास प्रचार गर्ने कुनै अवसर पाइनन्।

यतिबेला उनको दोस्रो उपन्यास ‘द फकलिस्ट’ बजारमा आएको छ। ४० वर्षकी एउटी अविवाहित महिलाले आमा बन्न गरेको प्रयासको कथालाई पेन्गुइनले यही साता बजारमा ल्याउने भएको छ।

मेलेनी भन्छिन्, ‘६१ वर्षको उमेरमा मेरो पहिलो उपन्यास छापियो। ६६ वर्षको उमेरमा दोस्रो उपन्यास बजारमा आउँदैछ। धेरैले बुढी भइस् भन्लान् तर मनले रोजेको काम गर्न कहिल्यै बुढी भइन्न।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २० वैशाख २०८१ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App