९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

शाश्वत सम्बन्धको अपेक्षा

पुस्तक

जीवनको प्रमुख आधार नै सम्बन्ध हो, हाम्रा आफ्नै सामाजिक तथा नैतिक मूल्यमान्यता हुँदाहुँदै पनि मानवीय सम्बन्ध दिनदिनै जटिल हुँदै गएको छ। त्यसैले समयसापेक्ष सामाजिक तथा नैतिक मूल्यमान्यताहरू विकास गर्दै लैजानुपर्छ अनि मात्रै मानवीय सम्बन्ध जीवन्त र शाश्वत बन्न सक्छ भन्ने मान्यता हो कथाकार रविन्द्र केसीको।

कथाकार केसीको यो मान्यता ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रहमा सङ्कलित कथाहरूमा अभिव्यक्त भएको पाइन्छ। यस सङ्ग्रहमा सामाजिक विषयवस्तुमा आधारित एक्काईस कथा सङ्गृहीत छन्। मानवीय सम्बन्धकै सेरोफेरोमा घुमेका यसका कथाहरूमा यथार्थपरक प्रस्तुति पाइन्छ।

प्रस्तुत सङ्ग्रहका कथामा नेपाली समाजमा जातीय, वर्गीय, लैङ्गिक आदि विभिन्न आधारमा विभेद कायम रहेको, शिक्षाको राम्रो अवसर नभएको, बेरोजगारी समस्या विद्यमान रहेको, सामाजिक, आर्थिक, राजनीतिक आदि क्षेत्रमा विकृति तथा विसङ्गति बढेको चित्रण गरिएको छ।

कथाकारले नेपाली समाजमा वर्गीय असमानता कायम रहेको चित्रण गर्दै कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई दैनिक जीवन गुजारा गर्नै कठिनाइ पर्ने गरेको उल्लेख गरेका छन्।

यसमा गरिबीको पीडा तथा देशमा विद्यमान बेरोजगारी समस्याका साथै शिक्षा आर्जन, देखासिकी आदि विविध कारणले युवावर्गमा बिदेसिने प्रवृत्ति बढेको चर्चा गर्दै विदेशी भूमिमा पुगेर उनीहरूले विभिन्न किसिमका समस्या तथा कष्ट भोग्नुपर्ने विचार व्यक्त गरिएको छ।

यसका साथै स्वदेशमा नै बसेर केही गर्छु भन्ने चाहना राख्ने गरिब व्यक्तिका कष्ट तथा पीडालाई पनि यसमा चित्रण गरिएको पाइन्छ।

नेपाली समाजमा जातीय विभेद विद्यमान रहेको उल्लेख गर्दै वर्षौंदेखि उच्च जातका भनेर कहलिएकाहरूले तल्लो जातका भनेर कतिपयलाई ‘दलित’ भन्दै निकृष्ट तथा घृणित व्यवहार गर्ने गरेका, जसले गर्दा दलितहरूले निकै अन्याय र अत्याचार सहनुपरेको कथाकारको विचार यसका कतिपय कथामा प्रस्तुत भएको पाइन्छ।

यसमा समय परिवर्तनसँगै दलितहरूमा पनि चेतना जागेको, वर्षौंदेखि दलितका नाममा सहनुपरेको विभेद, अन्याय तथा अत्याचारविरुद्ध आवाज उठाई मुक्तिका लागि कदम चाल्न थालेका, उच्च जातका भनाउँदाहरूको बोली तथा व्यवहारमा परिवर्तन चाहेका र जातका आधारमा मान्छेलाई भेदभाव नगरी न्यायपूर्ण व्यवहार गरिनुपर्छ भन्ने उनीहरूको विचार रहेको उल्लेख गरिएको छ। त्यस्ता केही कथामा ‘अपहरण’, ‘लिभिङ टुगेदर’, ‘माया कि मृगतृष्णा’ आदिलाई लिन सकिन्छ।

प्रस्तुत सङ्ग्रहका ‘पारिजातका फूलहरू’, ‘आँसुको फूल’, ‘फुल्न नपाएका रहरहरू’, ‘नमेटिएको बाटो’ आदि कथामा नेपाली समाज पितृसत्तात्मक रहेको, कतिपय पुरुषले नारीलाई भोग्या वस्तुका रूपमा लिनुका साथै घरको काम गरिदिने नोकर मात्रै सोच्ने गरेका जसले गर्दा कतिपय नारीहरूले विभेद, अन्याय तथा अत्याचार सहन बाध्य हुनुपरेको उल्लेख गरिएको छ।

यसका केही कथामा बिहे गरेर घरमा भिœयाउने अनि मैले मेरा लागि होइन, बाबुआमाको चाहना पूरा गरिदिन बिहे गरेको भन्ने, पत्नीलाई माया नगर्ने, बिहे गरेर घरमा भिœयाएपछि आफू उसको लोग्ने भएकोमा पुरुषार्थ देखाउँदै बन्द कोठाभित्र बलात्कार गर्ने पुरुषका कथा छन्।

त्यसैगरी आफ्नो यौन चाहना पूरा गर्न उद्यत रहने लोग्नेका कथाका साथै पति साथमा नहुँदा पनि घरको काम गर्दै सन्तान अनि सासूससुराको समेत ख्याल गरेर पारिवारिक जिम्मेवारी पूरा गरिरहेकी आफ्नै बुहारीलाई बलात्कार गर्ने र यौन सन्तुष्टि लिने अनि कसैलाई भनिस् भने मारिदिन्छु भन्दै धम्की दिने ससुराका कथा पनि प्रस्तुत छन्।

यसरी नारीहरूले आफ्नै घरभित्र आफन्तहरूबाट नै शोषित हुनु परिरहेको छ भने घरबाहिर पनि उनीहरूले सुरक्षित महसुस गर्न सक्ने अवस्था छैन। अझ आर्थिक अवस्था कमजोर भएका नारीहरूलाई त काममा लगाइदिने बहानामा बाध्य बनाउँदै शारीरिक शोषण गर्ने गरेका छन् भन्ने चित्रण कतिपय कथामा छन्।

प्रस्तुत सङ्ग्रहका कथाहरूमध्ये ‘युद्धका घाउहरू’ मा माओवादी र सरकारी पक्षका बिच भएको युद्धको सन्दर्भलाई सङ्केत गर्दै युद्धका क्रममा सुरक्षाकर्मीलगायत धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएका, सन्तान गुमाएका बाबुआमा बुढेसकालमा सहाराविहीन बन्न पुगेका सन्दर्भ छन्।

कति विवाहित नारीले पति वियोग सहनुपरेको, सन्तानले टुहुरो बन्न बाध्य हुनुपरेको साथै कतिपयमा मानसिक समस्यासमेत देखा परेको अनि त्यसरी समस्यामा परेका सरकारी सुरक्षाकर्मीकै परिवारलाई समेत सरकारले बेवास्ता गरेको उल्लेख गरिएको छ।

त्यसैगरी ‘फर्केर आउला र ऊ !’ कथामा विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोनाले नेपालमा पनि प्रभाव पारेको, यहाँ पनि लकडाउन गरिएको, धेरैजसो नागरिक काम छोडेर स्वास्थ्य सुरक्षा अपनाउँदै घरमा नै बसेका तर सुरक्षार्थ खटिने सुरक्षाकर्मीले भने त्यसरी लकडाउन हुँदा पनि आफू र आफ्नो परिवार भनेर घरमा वा सुरक्षित ठाउँमा बस्न नपाई सुरक्षार्थ खटिनुपरेको थियो भन्ने चित्रण गर्दै त्यसरी खटिने क्रममा कतिले ज्यानसमेत गुमाउन पुगेका थिए भन्ने उल्लेख गरिएको छ।

वर्तमानमा मानवीय प्रेम र सम्बन्ध ज्यादै जटिल हुँदै गएको कथाकार केसीको विचार छ। यसका कथामा किशोरावस्थामै विपरीत लिङ्गीप्रतिको आकर्षण अनि प्रेम तथा प्रेमका नाममा विवाह नै नगरी पाश्चात्य संस्कृतिबाट प्रभावित भई लिभिङ टुगेदरमा बस्ने प्रवृत्ति बढ्दै गएको चर्चा गरिएको छ।

नेपाली समाजका मूल्यमान्यता अनि कानुनी व्यवस्थाविपरीत यस्ता अवैधानिक तथा अनैतिक सम्बन्ध गाँस्ने प्रवृत्तिले सामाजिक विकृतिसमेत बढाएको, मानवीय प्रेम र सम्बन्धकै परिभाषा परिवर्तन हुन थालेको, एउटै छानोमुनि बस्नेहरूको सम्बन्धमा पनि बिरानोपन, विरक्ति, बेमेल हुँदै सम्बन्ध सकसपूर्ण बन्दै जान थालेका छन् भन्ने चर्चा पनि यसका कथामा गरिएको छ।

प्रस्तुत सङ्ग्रहका कथामा मान्छेमा स्वार्थीपनका साथै स्वेच्छाचारिता बढ्दै गएको चर्चा गर्दै पैसाका लागि र क्षणिक आनन्दका पछि दौडिने तथा दूरगामी प्रभाव के पर्न सक्छ भन्ने कुरामा ध्यान नै नदिने संवेदनाहीन सोचका कारण मानवीय सम्बन्ध जटिल र सकसपूर्ण बन्दै गएको उल्लेख गरिएको छ। बेलैमा सचेत भई यसतर्फ ध्यान दिइएन र सुधारका लागि पाइला चालिएन भने यसले विकराल समस्या निम्त्याउन सक्छ भन्ने कथाकारको विचार देखिन्छ।

समयसापेक्ष सामाजिक मूल्य र मान्यतामा परिवर्तन तथा विकास गर्दै अघि बढ्नुपर्ने, स्वार्थ तथा अहम्पन त्यागेर नैतिकता अनि वैधानिकता ख्याल गरी पारस्परिक सम्मान तथा प्रेममा जोड दिनुपर्ने अनि मात्र मानवीय सम्बन्ध जीवन्त, दरिलो र दिगो हुन जान्छ भन्ने सन्देश सङ्ग्रहका कथामा प्रवाहित भएको पाइन्छ।

यसका साथै बिछोडिएकाहरूलाई पुनर्मिलन गराउने, गल्ती गरेकाहरूलाई पश्चातापबोध गराउनुका साथै सत्यको बाटोमा अग्रसर भएका तथा अन्याय, अत्याचार सहेर बस्न विवश भएकाहरूलाई सहयोग गर्ने सहयोगी व्यक्तिहरूको साथ दिलाउने, जीवन यात्रामा आशाको दियो निभ्नै लागेका बखत तेल थपिदिने व्यक्तिका रूपमा कसैलाई उभ्याइदिने प्रयत्न पनि कथाकारले गरेका छन्।

मूलतः सामाजिक विषयवस्तु, यथार्थपरक वर्णन, सरल भाषिक प्रस्तुति, नियति वा भाग्यवादी दृष्टिकोण, मानवतावादी विचार, शान्तिको चाहना, विकृति, विसङ्गति, कुरीति आदिको विरोध, विभेदरहित समाज स्थापनामा जोड यस सङ्ग्रहका कथामा पाइने मूलभूत प्रवृत्ति हुन्।

प्रकाशित: ८ वैशाख २०८१ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App