१९ पुस २०८२ शनिबार
image/svg+xml
कला

रमुवा

कथा

“रमुवा गोली ना खेल्बे? चल आज माजासे खेलल जाई। गोली नाखेलल कितना दिन हो गइल मालुम बा?” मैले उसको ध्यान आफूतिर आकृष्ट गर्दै भनेको थिएँ। मेरो आवाज उसको कानमा पर्नासाथ उसको नजर एकाएक मतिर मोडियो। हाम्रा आँखा एक आपसमा जुधे। ऊ खिस्स हाँस्यो र आँखा मिचेर जुरुक्क उठ्यो। तर तत्काल अन्य कुनै पनि प्रतिक्रिया देखाएन।

ऊ घरको आँगनमा बसिरहेको थियो। आँगन सफा र फराकिलो थियो। आँगनभन्दा अलि पर खरले छाइएको र खरकै बारले बारिएको एउटा सानो घर थियो। घरको भित्ता रातो र सेतो माटोले पोतिएको थियो। घर चिटिक्क देखिन्थ्यो। घरमा ढोका लगाइएको थियो। ढोका बाँस चिरेर बनाइएको थियो। घरको ढोकाबाट चिहाएर हेर्दा  घरभित्रको अवस्था सजिलैसँग देख्न सकिन्थ्यो।

घर तले थिएन। त्यहाँ घर भन्नेबित्तिकै एकतले भनेर बुझिन्थ्यो। तला नभएपछि बुईगल र चोटा हुने कुरै भएन। उसको घरमा पनि भान्सा पालीको एकछेउ बारेर बनाइएको थियो। यो उसको मात्र हैन गाउँकै आम प्रचलन हो। यहाँ पकाउने र खाने काम प्राय: बाहिरै हुने गर्छ। खै किन हो कुन्नि अधिकांश मानिसहरू यसै गर्छन्। यसर्थ यसलाई आम प्रचलन भन्नुपर्छ।

घरमा भान्साकै आडमा डेहरी देखिन्छ। ती त्यही डेहरीमा धान चामल राख्छन्। तर धान चामल राख्ने डेहरी आकार प्रकार र साइजमा अलगअलग हुन्छन्। उसको घरमा पनि त्यस्तै छन्। प’रै गाउँमा सय घरहरू छन्। ती सबै घर उस्तैउस्तै छन्। अर्थात् उसको मात्र हैन गाउँभरिका अधिकांश घर यही खालका छन्।

गाउँमा कुनै एक जातिको मात्र नभई मिश्रित जातजातिको बसोबास छ। आवश्यकतामा एकले अर्कालाई सघाउनु ती परम कर्तव्य सम्झन्छन्। जातिपिच्छे संस्कार र संस्कृति भए पनि ती सहज तरिकाले आआफ्ना जीवनयापन गरिरहेका छन्। एक आपसमा कसिलो मित्रता छ। भत्काउने वा धमिल्याउने प्रयास नभएका हैनन् तर अहिलेसम्म ती सफल बन्न सकिरहेका छैनन्।

मध्य तराईको एउटा सामान्य गाउँ बलुवा शान्त भाव र मित्रता बोकेर वर्षौंदेखि बाँचिरहेको छ। ग्रामबासीहरूका आफ्ना अलग सोच र चिन्तन छन् तर तिनले उनीहरूको जीवनयात्रामा कुनै फरक पारेको छैन। सहयोग र सहयात्राले अझ सहज बनाएको छ। यसलाई मन नपराउनेहरू खाडल बनाउन प्रयत्नशील छन् तर तिनीहरूको सामर्थ्य कामयावी बनिरहेको छैन।

छठ भर्खर सकिए पनि घाम सबैका लागि करिबकरिब प्रिय लाग्नलाग्न खोज्दै थियो। मानिसहरू त्यसलाई रुचाउन थालिसकेका थिए। अलि पाका पुस्ताका मानिस यसलाई बढी मन पराउन लागि सकेका थिए। कम उमेरकाहरू पनि घाममा बसेर काम कार्यवाही गरिरहेका थिए। तर त्यो दिनको घाम अलि मधुरमधुर थियो। आकाश पुरै खुल्न सकिरहेको थिएन। घामको उपस्थिति छ भन्ने स्थिति मात्र थियो।

म दिउँसो दिउँसो उसको घर पुग्दा आँगनमा ओच्छ्याइएको चटाईमाथि बसेर ढकी बुनिरहेको रहेछ। घरका अन्य सदस्य आइतबारे बजार गएका रहेका छन्। घर कुर्ने जिम्मा उसको काँधमा रहेछ। करेसापट्टि हाँस र कुखुरा क्वाँक्वाँ र कुँकुँ गर्दै आहारा खोज्न तल्लीन देखिन्थे। यो उनीहरूको जीवनचर्याको एउटा पाटो थियो। यसैमा ती रमाएर भविष्यको यात्रा खोजिरहेका थिए।

दुवैले एक अर्कालाई पेटभरि हेर्‍यौं। हाम्रा आँखा एक आपसमा मजैले जुधे। हेराहेरले मलाई वर्तमान हुँदै विगतको स्मृतिसम्म पुर्‍यायो। तर हामी दुवै आवाजविहीन अवस्थामा नै थियौं। विषयवस्तु अतीतसँग टाँसिएको थियो। मेरो छातीमा उसको वर्तमान चहर्‍यायो। व्यङ्ग्य गरेझैं पनि लाग्यो। केही क्षण एक अर्कालाई हेर्नमै तल्लीन रह्यौ। हाम्रो भेटघाट नभएको निकै वर्ष भएको थियोे। यसर्थ पनि एक अर्कालाई हेर्दा मजा नै भयो।

मेरो प्रश्न निरुत्तरित नै थियो। दुवै जना केही बोल्न खोजेर पनि दुवै निःशब्द जस्तै थियौ। मानौं सिङ्गो वर्तमान नै शब्दविहीन छ। मैले कृत्रिम हाँसो निकाल्दै पुनः अनुरोध गरेँ, “चल रमुवा न दिन भर गोली खेलल जाइ आजु। ओह! तोहरा याद बा कितना दिन होगइल?”

उसको ओठमा अनौठो तरङ्ग निर्माण भयो। एकपटक आँखा मिच्यो र टाउको हल्लायो। अनि जुरुक्क उठेर मलाई झ्याम्म अँगाल्दै भन्यो “अरे तु कैसे....?”

उसको आँखामा आश्चर्यको भाव थियो। पत्याउनै नसकिरहेको भाव पनि स्पष्ट रूपमा देख्न सकिन्थ्यो। मैले उसको प्रश्नको उत्तर दिन नपाउँदै ढाडमा प्रेममय थप्पड लगाएर आँगनमा ओछ्याइएको चटाईमा बस्न आग्रह गर्‍यो।

यो उसको स्वागत थियो। यसलाई हाम्रो मौलिक परम्परा मान्नुपर्छ। घर आएका पाहुनाको स्वागत सत्कार गर्नु पहिचानलाई निरन्तरता दिनु हो। मैले यसलाई अधिक स्वादिलो क्षण ठाने। यो हामी दुवैको सहज चिनारी हो किनकि पहिचानका पनि आआफ्ना मूल्यमान्यता हुने गर्छन्। “बैठ् न मर्दे काहे ठडियाइल बाड?” उसले पुनः आग्रह गर्‍यो। हामी दुवै चटाईमा बस्यौ।

आँगनछेउमै फुसको छाना भएको एउटा सानो घर पनि थियो। उनीहरू त्यही बस्थे। नजिकै बकैनाको वृक्ष पनि थियो। हुन सक्छ त्यो ठिङ्ग उभिएर हाम्रो गतिविधि नियाल्दै पनि थियो। तीन–चारओटा ईंटा जोडेर आँगनछेउमै चुलो बनाइएको थियो। यो उनीहरूको मौलिक परम्परा थियो। उनीहरू अधिकांश खाना पकाउने र खाने काम प्रायजसो बाहिर बसेरै गर्थे।

घर नजिकै पैनी थियो। पैनीबाट बारै महिना कुलकुल गर्दै पानी बग्थ्यो। ती पानी इनारको खान्थे तर अन्य काममा पैनीकै पानी प्रयोग हुन्थ्यो। नाङ्गाबुङ्गा शरीर, असरल्ल कपाल, पुट्ट फुलेका भुँडी, शीतले चिराचिरा बनेका गोडा र उमेर नहुँदै ख्याउटिएका तीनचार जना केटाकेटी त्यही पैनीमा खेलिरहेका थिए।

मैले सोचें ती खुल्ला आकाश र स्वतन्त्र परिवेश पिउँदै र हाँस्दै जीवनका खुड्किला पार गरिरहेका छन्। त्यहीँ एक हूल हाँसहरू पनि स्वतन्त्रताको उपयोग गर्दै बसिरहेका थिए। नुहाएको हो कि के हो कुन्नि ती भुइँमा थुतुनो जोडेर कुलकुलको आवाजमा आफैँलाई भुल्दै थिए। हाँस, पैनी र ती बालबालिकाहरूले मलाई अतीतका मिठा क्षणहरू तर्फ ध्यानाकृष्ट गरे।

यही ठाउँ, वातावरण र परिवेशमा रमुवा र मैले बाल्यावस्थाका केही समय सँगसँगै बिताएका थियौं। यहीँबाट रमाउँदै रमाउँदै तरुण वर्षका खुड्किला चढ्न आरम्भ भएको थियो। यही पैनी, पैनी नजिकैको आहाल र अलि पररहेको खाप्से खोलामा खुबै पौडी खेलेका थियौं। अनि तातो बालुवामा घुस्रेर आफूलाई ऊ जस्तै बनाउने प्रयास गरेको थिएँ। त्यसका लागि घमाइला दिनभरि ती स्थानहरूमा लडीबुडी गरे पनि समर्थ हुन नसकेको सम्झना मेरो स्मृतिमा अझै पनि ताजै छ।

रमुवा मेरो बालसखा,आदर्श शिक्षक, मित्र, पथप्रदर्शक र संरक्षक। मेरो आँखामा यस्तैयस्तै विशेषणहरू रहेका छन्। त्यतिबेला ऊ र म पर्यायवाची जस्तै थियौं। हाम्रो मित्रता गाउँमा सहानुभूति र ईर्ष्या दुवै बटुल्न सक्षम थिए। चार प्रहर रातबाहेकको सम्पूर्ण समय एकैसाथ बित्थ्यो। झरी, बादल, हावाहुरी, चाडपर्व, हाट, गोठालो, खेल सबैमा बराबरी बाँडिएका हुन्थ्यौं। हामी त्यस्ता जुम्ल्याहा हौं, जो छुट्टिएर बाँच्न सम्भवै छैन हामीभित्र यस्तो भाव थियो।

उसैले हात समातेर मलाई पहिलो पटक स्कुल पुर्‍याएको थियो। स्कुलबाट घर ल्याएको थियो। एकएक गर्दै साथीस“गाती चिनाएको थियो। बाटाका अप्ठेरा र असजिला पन्छाएको थियो। प्रत्येक सुखदुःखमा साथ दिएको थियो। सधैँ अघि बढ्ने बाटो बनाएको थियो। उसले देखाएको बाटोले आजपर्यन्त मलाई अगाडि बढ्न र जीवन बाँच्न हौसला प्रदान गरिरहेको छ।

मलाई उसैले डन्डीबियो र कपर्दी खेल्न सिकायो। फुटबल र भलिबल सिक्न पनि उसैको दर्विलो साथ रहेको थियो। ऊबाटै तास र गुच्चा पनि खेल्न सिकेको हुँ। मगरु दाइको गागल, पुनियाँको आँप र भजनी चाचीको बयर हामीले मिलेरै चोरेका थियौँ। रामलीला, कौवाली र गाउँमा ल्याइएका नाचहरू हेर्ने बानी उसैले बसालेको हो। माछा मार्न, घुँगी समात्न अनि दुलामा पानी हालेर मुसा मार्ने काम पनि उसैबाट सिकेको हुँ।

यी काम गर्दै बरालिएर हिँडिरहँदा घरबाट पाएको सजाय र भोगेको यातना पनि कम्ती छैनन्। ती स्मृतिमा अझै ताजा छन्। मेरो बानी सुधार गर्न घरले गरेको प्रयासलाई पटकपटक अस्वीकार गरेको थिएँ। अब त्यस्तो गर्दिनँ भनेर गरेको कबुल एकैछिनपछि बिर्सन्थेँ। यस्ता कामहरू गर्न म उसलाई प्रेरित गर्थेँ। मेरै कारण उसले समेत निकै पटक हप्काईच खानु परको थियो। आज हुन्छ हुन्थे भन्थेँ तर भोलि भुसुक्कै बिर्सन्थेँ। ती कुराहरू सम्झँदा मन आज पनि रोमाञ्चित बन्ने गर्छ।

कडा सजाय र यातनाले पनि मेरो उद्दण्डतामा कमी नआएपछि आमा मलाई काखमा राखेर खुबै रुनुभएको थियो। आमासँगै म पनि रोएको थिएँ। अर्थात् आमा रुनुभएको कारण म रोएको हुँ। उहाँ किन रुनुभयो मलाई पहिले थाहा थिएन। जब मेरै कारण उहाँ रुनुभएको भन्ने रहस्य खुल्यो तब मैले उहाँको इच्छाबाहिर अबदेखि कहिल्यै नजाने प्रण गरेँ। आमाले हास्दै मेरो शिर मुसार्नुभयो। जिउ सुम्सुम्याउनुभयो। यसो गर्दा उहाँको आँखाबाट आँसु झरिरहेको थियो। आमाको आँसुले मलाई अत्यन्तै द्रवित तुल्याएको थियो। मैले उहाँलाई अब तपाईले देखाएको बाटोभन्दा अन्यत्रबाट कहिल्यै जान्नँ भन्दै प्रण गरेको थिएँ। त्यो प्रणपछि अगाडिको बाटो हिँड्न अलि सहज भएको थियो। अहिले म त्यो बाटोबाट हिँडिरहेको छु। अहँ, अलिकति पनि विचलित छैन।

यतिखेर मलाई आमाको त्यो आँसुको मूल मभित्र पोखिएको अनुभूति हुँदैछ। जुन मार्गमा पाइला चाल्दै छु, त्यसमा उहाँको स्नेहको महासागर छचल्किरहेछ। उहाँले देखाएको बाटो नहिँडेको भए म कता पुग्थेँ होला। उहाँको हँसमुखले नै मलाई बाटो बदल्न लगाएको थियो। त्योभन्दा अघि उटपटयाङ काम गर्न मजा लाग्थ्यो। म रमुवालाई पनि प्रभाव पारेर आफ्नो काममा लाग्न प्रेरित गर्थेँ।

हो नि, कैयौं दिन त हामी स्कुलबाट भागेरै हाट भर्न पनि पुगेका हुन्थ्यौं। बाढीको समयमा खोलामा पौडी खेल्न र नदीले बगाएर ल्याएको दाउरा समात्न खुब तम्सिन्थ्यौंँ। खोलामा माथिबाट बग्दैबग्दै गएर निकै तल उत्रिन मजा लाग्थ्यो। यसले साथीहरूका माझ शक्ति देखाउन पनि सघाउँथ्यो। यसर्थ हामी त्यो कर्म आनन्दित बनेर एकपटक हैन बारबार गर्ने गर्थ्याैं।

मभन्दा करिब दुई वर्ष जेठो रमुवा पौडी खेल्न औधी सिपालु थियो। उसैले मलाई पौडी खेल्न सिकाएको हो। नत्र कसरी जान्नु र? परिवारमा पौडी खेल्न जान्ने कोही पनि थिएनन्। मैले इच्छा देखाउनेबित्तिकै ऊ पूरा गर्नतिर अग्रसर बनिहाल्थ्यो। कैयौंँ दिन त उसको घरमा बसेर तिनीहरूको चालचलन र आनीबानी जानेबुझेको थिएँ। यसकारण ऊ मेरो सबैथोक थियो।

आमाका सबै कुरा मान्न पनि मलाई उसैले अह्राएको हो। उसको बारबारको आग्रह र अनुरोध नभएको भए सायद म त्यति चाँडै उहाँका कुरा पनि मान्न पक्कै तयार हुने पनि थिइनँ होला। ती दिनहरूमा ऊ मेरो आमाभन्दा पनि बढी थियो। यसकारण उसका एकएक कुरा म मान्ने गर्थेँ।

यसो त मेरै आग्रहमा ऊ पहिलो पटक स्कुल पुगेको थियो। हामी दुवैले सँगसँगै अक्षर चिनेका थियौँ। त्यस क्रममा उसैले हात समातेर पहिलो पटक कपुरी ‘क’ देखि ज्ञानी ‘ज्ञ’ सम्म लेखाएको थियो।

ओहो! त्यति लेखेपछि म कम रमाएको थिएँ र भन्या? अहिले सम्झँदा पनि जिउ सिरिङसिररिङ हुन्छ र अचाक्लीसँग मन रोमाञ्चित बन्छ।

समय आफ्नै गतिमा नदीझैँ शान्त भावले बगिरहेको थियो। वसन्तका नवपालुवा विभिन्न आवरणमा रङ्गिदै गइरहेका थिए। स्कुलप्रतिको हाम्रो लगावले पारिवारिक स्नेहमा अझ तला थपिएको थियो। उसको कुरा के थियो म भन्न सक्दिनँ तर म भने पढे ठुलो मानिस बन्न पाइन्छ भन्ने आग्रह आत्मसात् गरेर अगाडि बढेको थिएँ।

हाम्रो पढाइ तेस्रो वर्षमा प्रवेश गरेको थियो। घरैमा बोरा काटेर सिलाइएका झोला बाकेर स्कुल जाँदा खुब रमाइलो हुन्थ्यो। हामी सँगसँगै स्कुल जान्थ्यौ र सँगसँगै आउँथ्यौँ। स्कुल जाने बेलामा छिटो हुनेले ढिलो हुनेको घरमा बोलाउन जानुपर्थ्याे यसैले ऊ सधैँ मेरो घरमा पुग्थ्यो। फर्कदाँ चौबाटोबाटै आआफ्ना घरतिर लाग्थ्यौँ।  

तीन कक्षामा पुग्दा नपुग्दै रमुवाको पढाइ छुट्यो। पहिले पनि मैले रमुवाको आमासँग अनुरोध गरेको थिएँ र उहाँले मान्नु पनि भएको थियो। तर त्यसपटक उहाँले मान्नुभएन । पहिलेझैँ रमुवा नपढे म पनि पढ्दिनँ भनेर लिएको अड्डीले काम गरेन। अर्थात् मेरी आमाको ठुलो आग्रह र प्रयत्न बेकार अनि व्यर्थ भएको थियो।

अलिपछि थाहा पाएँ रमुवाका तीन भाइमध्ये एक भाइ परिवारबाट अलग भइसकेका रहेछन्। दिदीको विवाहमा लिएको कर्जा चुकाउन पिता र अर्को एक भाइ साहुको घरमा जिराइत बसेकाले आमाको सहयोग र सहाराका पढाइमा पूर्णविराम लागेछ।  पक्कै पढाइभन्दा पेट ठुलो हुन्छ। अरूलाई ढाँट्न सकिन्छ तर पेटलाई कहिल्यै र कसैगरी पनि ढाँट्न र छल्न सकिँदैन।

मन नलागीनलागी स्कुल जाने सिलसिला अगाडि बढ्यो। तर मन सधैँ रमुवा सँगसँगै हुन्थ्यो। झिक्ने जति प्रयास गरे पनि असफल हुनुको अर्को विकल्प छँदै थिएन। गरिबी र विवशताले गाँजिएको परिवार पीडित थियो। उठ्न गाह्रो थियो। अभावको भकारीमा वर्तमान तुन्द्रुङ्ग झुन्डिइरहेको देख्न सकिन्थ्यो।

गाउँका सम्पूर्ण खुसी र इच्छा नालीको पानीमा बगिरहेका थिए। उठाउने प्रयास गरिएकै थिएन। बाहिर जे जसरी देखाइए पनि स्वतन्त्रता र आकाङ्क्षा कुण्ठित थिए। अभाव र गरिबीका पर्खाल पहाड बनेर लम्पसार परेको अनुमान सहज भावले गर्न सकिन्थ्यो। उन्मुक्ति र स्वतन्त्रता एउटा परिवेशको काँधमा सम्पूर्ण घरपरिवारमा छरपस्टिएका थिए। तर त्यसले भेटघाट र आपसी वार्तालापलाई असर गर्न सकिरहेको थिएन।

म चार कक्षामा पुग्दा ऊ कसैको घरमा गोठालो बनेर बसिसकेको थियो। उसलाई हेरेर टोल्हिनुभन्दा बढी केही पनि गर्न सकिने स्थिति थिएन। जीर्ण शरीरका मांसपेशी नभमण्डल चियाइरहेका देखिन्थे। आकाङ्क्षा र भावनाका तरेली वेदनाको आगोभित्र गुम्फित थिए। म पनि करिबकरिब उसकै अवस्था बाँच्दै थिएँ। सहानुभूतिको मधुर आवाज मात्र मेरो सहायता थियो। योबाहेक उसको आँसु पुछ्न असमर्थ थिएँ।

रमुवाको आँसुबाट द्रवीभूत मैले कल्पनाको संसार (जहाँ स्वतन्त्र परिवेश छ, आँसुको मूल्य छ, जीवन–जीवित भएर बाँच्न सकिन्छ) तिर जाने प्रस्ताव गरें। तर मेरो प्रयास सार्थक बनेन। निरर्थक निरर्थक भयो।

उसले सम्झाउँदै भन्यो,“तिमीले के भनेको रोज आखिर तिमी त मेरो किरण हौ नि! त्यसो त भन्दै नभन। तिम्रो अघि बढ्ने कुरा र मेरो वर्तमान उही हैनन्। यी एक ठाउँमा भेला हुन पनि सक्दैनन्। तिमी अगाडि जाऊ। पछाडि हट्ने कुरा गर्दै नगर। अन्यथा म तिम्रा...।”

यसो भनिरहँदा उसका नजर सजल बनेका थिए। यसपछि एकले अर्कालाई पेटभरि हेरेका थियौँ।

गाउँबाटै एसएलसी परीक्षा पास गरेपछि उसको पनि सद्भाव र पारिवारिक महत्त्वाकाङ्क्षा बोकेर म शहर पुगें। मेरा पाइला अवरुद्ध बन्न पनि खोजेका थिए। पढ्नुपर्छ भन्ने उसको सद्भावबाट म मुक्त हुन सकिरहेको थिइन। तर पनि अगाडिको बाटो सहज र सरल पक्कै थिएन।

“रोज अगाडि लम्कनु नै जिन्दगी हो भनेर हामीलाई पढाउने सरले भन्नुभएको बिर्स्याै?”

ऊ समयसमयमा भन्ने पनि गर्थ्याे। “रुन हुँदैन है,नरोउ, तिमी रोएको मलाई पटक्कै मन पर्दैन। तिम्रा पाइला कहिल्यै निराश र हताश हुनु हुन्न।”

ऊ मलाई बारम्बार सम्झाईबुझाई गर्थ्याे।

अथक प्रयत्नपश्चात् एउटा काम भेटियो। म पाँच वर्षसम्म घर फर्किनँ। पाँच वसन्त शहरकै परिधिमा घुमिरहेँ। जीवन आरोह–अवरोहका उकालीओरालीहरूमा आस्था र विश्वासका सयपत्री उमारेर म आजको अवस्थामा आइपुगेँ। पछिसम्म पनि उसैको शुभेच्छा र सहयोग गाउँबाट प्राप्त गरेको थिएँ। त्यो प्रेरणाबाट कृतज्ञ छु।

शहरले स्वार्थी, दम्भी र अहंपूर्ण परिवेशमा पुर्‍यायो। म चाहेर पनि उम्कन सकिनँ। रमुवाको शुभेच्छा, हौसला, प्रेरणा र मार्गदर्शनले स्नातक बनायो। विगत सम्झेर अहिले आफूभित्र जल्दै अतीतको सम्झनामा हराउन विवश छु।

मेरा खुट्टाहरू खुबै तानिए । रमुवाको उत्सर्ग र आफन्तका स्वार्थ मानसपटलमा मजाले नाचे। मुटु धड्कियो तर मन निरुत्तरित बन्दै गयो। असमर्थ दिमागका तन्तु गितारका तारझैं झंङ्कृत बनिरहे।  

एउटा सामान्य मनस्थितिको विशाल हृदयले मन पटक पटक घोचिरह्यो। प्रमाणपत्र जुन मेरो नाममा निकासा भएको छ, प्रथम हकदार रमुवा नै हुनुपर्ने हो। मेरा लागि मरिमेट्ने आफन्तका त स्वार्थ होलान् तर रमुवाको केही पनि छैन। मेरा आ“खामा रमुवाका अनगिन्ती प्रतिबिम्ब समयसमयमा उठिरहन्छन्।

कसैले कुम हल्लाएपछि मेरो तन्द्रा भङ्ग हुन्छ। “बबुवा चलन तनी पानी पिआइ खाले” रमुवाकी आमा अम्खरामा पानी लिएर मेरो अघि उभिएकी थिइन्। रमुवा सानो छोरो काखी च्यापेर मेरो नजिक उभिएर खै केके हो कुन्नि सोचिरहेको थियो।

रमुवाले हाँस्दै सोध्यो, “अरे कौन संसार मे रहनीजी?”

यो प्रश्नले मेरो तन्द्रा भङ्ग भयो। हो त साँच्चै म तरङ्गमा रहेछु। पुलुक्क उतिर हेरेँ, काखमा छोरो बोकिरहेको ऊ मलाई नै हेर्दै रहेछ। आँखा पुनः रसाए। मुटु ढक्क फुल्यो तर मुखबाट कुनै शब्द निस्किएनन्।

रमुवाकी आमाले सुनाइन् ऊ अहिले रतनलालकहाँ बसेको छ। सानो छोरो बिरामी भएका कारण घर आएको हो। दिउँसो उनीहरू उसैको सानो छोरो लिएर उनी अस्पताल गएकी थिइन्। चार सन्तानका बाउ रमुवा त्यो परिवारको एक मात्र सहारा पनि हो। छोरो निमोनियाले ग्रस्त रहेछ। पैसाको अभावले उसको व्यथा कम हुन सकिरहेको थिएन। ऊ विरामी छोरो काखी च्यापेर मृत्यु कुररहेको भान भयो।

मेरा नजर पुनः रसाएर आए। मलाई निःस्वार्थ सहयोग गर्ने रमुवाको छोरो निमोनियाको चपेटामा पर्दा म केही गर्न सक्ने अवस्था थिइनँ। मसँग सहानुभूति मात्र थियो। तर त्यसलाई औषधि र चामलसँग साट्न सकिंदैनथ्यो। त्यति बेला कुनै भाव प्रकट गर्न चाहिनँ,  केवल हेरिरहे हेरिरहेँ।

सहानुभूतिका वाक्य औषधिका निम्ति काफी थिएनन्। सबैतिरबाट हारेपछि सायद उसले मृत्युलाई सहज सम्झेको थियो। आफूसँग भएको पैसा भाकल र पूजापाठमा सकिएपछि तिनीहरू निरुत्तरित बनेका थिए।

रमुवाकी आमाको मुहार पढ्न मन लाग्यो। उनको मुखाकृति पनि विलकुल निस्सारतामा डुबेझैँ लाग्यो। पहिलेपहिले अभाव तिनीहरूको अगाडि उभिइरहन्थ्यो। तर अहिले मृत्यु नजिकिएको छ। यो अनुमान हो। तथापि म केही पनि गर्न सक्ने अवस्थामा छैन। तर त्यस्तो नहोस् कामना गर्छु। त्यसपछि म एकोहोरिएर उनीहरूको तस्वीर हेरिरहन्छु हेरिरहन्छु र केवल हेरिरहन्छु।

(कथाकार नवराज रिजालकाे विखण्डित प्रवाह कथासंग्रहबाट। २०६३ सालमा प्रकाशित उक्त कृतिले २०६५ काेअनेसास पुरस्कार पाएकाे थियाे। साे कृति १७ वर्षपछि भुँडीपुराण प्रकाशनले दोस्राे संस्करणका रूपमा बजारमा ल्याएकाे हाे।)

प्रकाशित: २४ फाल्गुन २०८० १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App