वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीको लघुकथासङ्ग्रह ओरालोको सिलसिला ओल्टाइपल्टाइ गर्दा लागेका कुरा लेख्दै छु।
गपली, बोलाछेँ टोल, भक्तपुरनिवासी लघुकथाकार ध्रुव मधिकर्मीसँग मैले दुईपटक साक्षात्कार गर्ने अवसर पाएकी छु। २०७६ सालमा सर्वनाम थिएटरमा र २०७८ सालमा तीनकुनेमा।
झट्ट हेर्दा गम्भीर र शालीन व्यक्तित्व देखिने मधिकर्मी कम बोल्छन्। उनी साँच्चि नै वरिष्ठ र आदरणीय लघुकथाकार हुन् भन्ने कुराको पुष्टि पनि हो, यो लघुकथासङ्ग्रह ‘ओरालोको सिलसिला’( २०७८ )। ७६ पृष्ठमा ४० लघुकथा समेटिएको सानै आकारको यस पुस्तकभित्र लघुकथाको ठूलो खजाना भेटिंदो रहेछ। जुन पढेपछि मात्र अनुभूत गर्ने विषय हो न कि पाठकले बखान्ने भन्ने पनि लाग्यो।
सिर्जना अभियान समाजले प्रकाशन गरेको यस पुस्तक पल्टाउँदै गर्दा साहित्यकार किशोर पहाडीले लेखेको ‘कथाकार मधिकर्मी र उनको प्रिय पात्र ऊ’ र श्रीओम श्रेष्ठ रोदनले ‘लघुकथा लेखन र उन्नयनमा लागेका स्रष्टा’ सर्सर्ती पढें। अध्ययन गर्दै गर्दा मधिकर्मीको शालीन व्यक्तित्व, सम्बन्धभित्रको आत्मीय र कलमको योगदानबारे प्रष्ट हुन पाएँ।
मोहनबहादुर कायस्थको विचार पनि पढें। मधिकर्मी रेडियो नेपालका कर्मचारी, समीक्षक र नेपाली साहित्यका कुशल लेखक हुन् भनेर परिचय बुझ्न पाएँ। प्रकाशकीय पढ्दै गर्दा लाग्यो, २०७१ सालमा तयारी रहेको यो पुस्तक प्रकाशनमा ढिलाइ हुँदा पक्कै पनि विषय र प्रस्तुति पक्ष सेलाए होलान् भन्ने लागेको थियो तर होइन रहेछ। लघुकथा पढ्दै जाँदा समापनमा दिइने झड्काझैं लाग्यो, मलाई। सानो झ्यालबाट चिहाएर ठूलो संसार हेर्न सकिने पो रहेछन् , लघुकथाहरू।
तीसको दशकबाट नै लघुकथालेखनको यात्रा गर्नु हुने मधिकर्मीको एकल लघुकथासङ्ग्रहमा यो दोस्रो हो। समयको दौरानमा, परिस्थिति र अवस्थाको चपेटामा दोस्रो कृति ढिलै आए पनि सशक्त र अब्बल बन्न पुगेको छ।
लेखकले हार्दिक आभार भन्दै किताबमा किशोर पहाडी, श्रीओम श्रेष्ठ रोदन, मोहन कायस्थ, राजु क्षत्री अपुरो, विमल ताम्राकार, लघुकथा समाज र हाम्रो लघुकथा पाठशालालाई सम्झेका छन्।
मानिसले कुरा गर्दा जत्ति नै गफ लगाएर आफूलाई नास्तिक भने पनि परेको अवस्थामा आफ्नो धर्म र संस्कारप्रति झुकाव हुन्छ भन्ने कुरा संस्कार लघुकथामा व्यक्त भएको पाइन्छ।
त्यस्तै मानिस हूल वा समूहभित्र आबद्ध हुँदा आफ्नो मौलिक विचार मारेर निरीह र मरेतुल्य अवस्था पुग्ने यथार्थ पक्ष जत्था लघुकथामा अभिव्यक्त भएको छ। पद र प्रभाव रहुञ्जेल मानिसका सबै शुभचिन्तक हुन्छन् तर दुःख र अभावमा तिनीहरू कोशौंको दूरी तय गर्छन् भनेर मानवीय आचरणलाई शुभचिन्तक लघुकथामा देखाएको छ। कुनै खास समुदायमा छोरा पाउँदा लाखौंको आर्जन भएको महसुस गर्ने तीतो सत्य कमाइ लघुकथामा प्रस्तुत भएको छ।
नेताहरूले चुनावपछि जनतालाई कामबिनाको लौरो ठान्ने गरेको मनोविज्ञान लौरो लघुकथामा व्यक्त भएको छ। आफ्ना हाकिमलाई भर्याङ बनाएर कर्मचारीहरू माथि पुग्न कति पोख्त हुन्छन् भन्ने भावलाई व्यङ्गात्मक शैलीमा प्रस्तुत गरेको छ, भर्याङ लघुकथाले।
यसैगरी समग्रमा हेर्ने हो भने समाजको यथार्थ, सामाजिक विसङ्गगति, जीवनको भोगाइ, समयको आवाज, सरल र सहज भाषा, परिपक्व कथ्य, प्रतीक र बिम्बको प्रयोग, व्यङ्ग्यभाव जस्ता उनका खास लघुकथाकारिता पोखिएका छन्।
किताबभित्र ओरालोको सिलसिला शीर्षकको लघुकथा पनि रहेछ। सायद यसैबाट किताबको नाम जुरेको हो भन्ने एकिन पनि गरें। भ्रष्टाचार, घुस होस् वा कमिसन र नाफा। माथिका मन्त्रीदेखि तलका घरका नोकरसम्मको प्रभाव र प्रक्रियालाई व्यङ्ग्य गरेको छ।
पढ्दै गर्दा अनुमान लगाएँ, सायद भ्रष्टाचार जस्ता कुप्रवृत्तिले ऊ ओरालो झर्छ होला तर लघुकथाको समापन अनुमान विपरीत भैदियो। एकदम रोचक लाग्यो। यहाँनेर लघुकथाकारलाई सलाम गरें। चालीस सबै लघुकथालाई मेलै यहाँ समेटिनँ, सान्दर्भिक पनि देखिनँ तर लघुकथाको सूक्ष्मताभित्र व्यापकता सिक्नु छ भने यस पुस्तकलाई पढनै पर्छ भनेर सुझाएँ।
मधिकर्मीका लघुकथा आँखाले पढने होइन, दिमागले पढ्नुपर्ने रहेछ अनि मात्र लघुकथाको स्वाद चाख्न सकिने रहेछ भन्ने लाग्यो। सर्र हेर्दा सामान्य लाग्छन् तर घोत्लिन बाध्य गर्छन् अनि यस्तो पो लघुकथा बनेर पाठक सोच्न बाध्य हुने रहेछ।
केही लघुकथाले शब्दको सीमालाई नाघेको हो कि? तर कथ्यभावअनुरूप आवश्यक पनि हुन् कि भन्ने पनि लाग्यो। १५०।– रूपैयाँ मूल्य रहेको पुस्तक किनेर पढ्दा पछुताउनुपर्ने अवस्था चै पक्कै आउँदैन।
प्रकाशित: १५ फाल्गुन २०८० १३:४६ मंगलबार