१२ असार २०८१ बुधबार
image/svg+xml
कला

सांस्कृतिक प्रवर्धनको बाटो कुर्दै ‘मैथिली फिल्म’

चलचित्र

अहिलेको रिमिक्सको युगमा हामी हाम्रो भाषा, संस्कृतिलाई कुन रूपमा सुरक्षित राख्ने हो? निकै चिन्ताको विषय बन्दै गएको छ। भर्खरै नेपाल सरकारको राष्ट्रिय जनगणनाले भाषाभाषीको अवस्था बाहिर ल्याउँदा मैथिली, भोजपुरी, तामाङ भाषाभाषी कम हुँदै गएको देखाएको छ।

यो गणक, विश्लेषकहरूको त्रुटि हो अथवा नव गणतन्त्रमा अवैज्ञानिक आधारमा नै बोलीलाई भाषा मान्दै जाँदा चेपुवामा परेर यस्तो दुर्गति भोगेको हो भन्न सकिँदैन। यो आउने दिनमा अध्ययन, मननको विषय हुन सक्छ।

अहिले हाम्रो संस्कृतिलाई कसरी बचाई राख्नेबारेको मूल प्रश्नतिर ध्यान केन्द्रित गर्नुपर्छ र त्यो पनि फिल्महरूको माध्यमद्वारा। नेपालमा अहिले मैथिली फिल्म, अडियो–भिडियो क्यासेटहरू निकै मात्रामा निस्कने गर्छन्। त्यसमा नयाँ नयाँ निर्माता, निर्देशक, संगीत निर्देशकहरू हुनु नराम्रो होइन। प्रशस्त यस्ता सिडीहरू बजारमा छन्।

त्यस्ता सिडी (एल्बम भन्ने त !)हरू कतै न कतै हिन्दी र भोजपुरी सिडीहरूको प्रभावमा बनेका पनि देखिएका छन्। गीतको बोललाई बढी लोकप्रिय बनाउन अथवा खेलिने फिल्ममा अलि उत्तेजित गीत राख्न हामी आफ्नो सीमालाई लत्याएर ‘व्यावसायिक’ बन्न बेर लगाउँदैनौं र यहींनेर माथ खान्छौं।

आफ्नो परम्परागत सांस्कृतिक मर्यादालाई ख्यालै नगरी चल्ती गीत र आयातित संगीतको घेरामा पर्दै जान्छौं। परिणामतः आफैंले प्रयोग गरेका गीत, नृत्य परिवारमा बसेर हेर्न वा सुन्न अप्ठ्यारो मान्ने गर्छौं। यस्तो स्थितिबाट बच्न सक्नुपर्छ।

अहिले ठुलो बजेटको मैथिली फिल्म नेपालमा बनेको छैन। त्यसैले पनि त्यस उचाइका गीत, संगीत र फिल्म हेर्न पाइएको छैन। तर जे जति प्रयास भएको छ, त्यसबाट पनि संस्कृतिलाई बचाउने/चिनाउने खालका गीतहरूको रचना गर्न सकिन्छ, फिल्मांकन गर्न सकिन्छ।

हामी टेलिसिरियलहरू हेर्छौं, खासगरी महिलाहरू स्टार, जिटिभीमा देखाइने सिरियल खाना बनाउन वा खुवाउन छोडेर पनि हेर्छन्। तर त्यसमा देखाइने सांस्कृतिक गतिविधि कति अंगीकार गर्छौं? विवाह समारोह, घरमा पूजन समारोह, विधि–व्यवहार, सामाजिक नाचगानहरूको प्रस्तुतिबाट आआफ्नो जातीय, वर्गीय संस्कृतिको प्रतिनिधित्व गरी रहेका हुन्छन् ती सिरियलहरू।

हामी आफ्नो लघु वा कथानक चलचित्रहरूमा त्यस्ता प्रयोग गर्न सक्छौं। हामी त्यसका दृश्यहरूमा आफ्नो माटो–पानी सुहाउँदो, परम्परालाई जोगाउने, हाम्रो पहिचानलाई स्थापित गर्ने गीतहरू राखेर आफ्नो सांस्कृतिक थातीको संरक्षण–संवर्धन गर्न सक्छौं।

प्रथम मैथिली फिल्म ‘ममता गावय गीत’ हो। यो सबैलाई थाहा छ। नयाँ उमेरका युवाहरूले त त्यो फिल्म हेर्ने अवसर पनि पाएका छैनन् होला। यद्यपि यो फिल्म अहिले पुनः युट्युबमा उपलब्ध हुन थालेको छ।

यो फिल्ममा निर्देशकले निकै रुचिपूर्वक मैथिल संस्कृतिका अनेकौं पक्षलाई समावेश गर्ने प्रयास गरेका छन्। खास गरी गीतहरूका माध्यमद्वारा अत्यन्त सरलतापूर्वक मैथिल संस्कृतिको दिग्दर्शन गराएका छन्।

यसको ‘अर्र बकरी घास खो, छोड गठुल्ला बाहर जो’ जस्ता गीतले ग्रामीण परिवेशको चित्रण प्रस्टैसँग गरेको छ। त्यस्तै–

‘भरि नगरीमे सोर, बौआ मामी तोहर गोर

मामा चान सन...

नानी–नाना दुनू तोहर, खाली गाल बजाबय

बाबी तोहर गंगा छौ, बाबा बनल हिमालय

मौसा तोहर चोर, मौसी मुँहक बड जोर

मैया पान सन...।’

यस्ता गीत बालसुलभ वातावरण भएको घरआँगनको चित्र कोर्न निकै सहायक हुन्छन्। ता–ता, थैया गर्दै गरेका नानीहरू घरआँगनका ती दिन स्मरण गराइदिन्छन्।

मिथिलामा त्यतिबेला यस फिल्मको महेन्द्र कपुरले गाएको गीत ‘भैया रामे राम हो भाइ, माता जे बिराजे मिथिले देश मे’ निकै लोकप्रिय थियो। माथिका गीतहरू रवीन्द्रनाथ ठाकुरले लेखेका हुन्। रवीन्द्र–महेन्द्रको जोडी जब गाउँगाउँ, नगर–नगर यी गीत लिएर घुम्थे र हातको औंलाले टेबुल, कुर्सी, बेन्च ठटाएर गाउँथे, पूरा दर्शक–श्रोता मन्त्रमुग्ध हुन्थे।

मलाई लाग्छ, फिल्म निर्माण गर्नेहरूले यो हेक्का त राख्नै पर्छ– फिल्ममा स्थानीय संस्कृतिको यथारूप प्रस्तुत होस्। सांस्कृतिक सम्पत्तिहरूलाई बडो आदरपूर्वक प्रस्तुत गर्नुपर्ने हुन्छ।

मलाई सम्झना छ– आफ्नो टेलिफिल्म ‘एकटा आओर वसन्त’को फिल्मांकनका क्रममा दुईवटा गीत हाल्ने निर्णय भयो। एउटा त टाइटल गीत थियो र अर्को विधवालाई विवाहका लागि उत्प्रेरित गर्ने खालको नृत्यगीत। मेरा शब्दहरूमा सुनील मल्लिकजीले निकै परिश्रम गरेर दुवै गीत रेकर्डिङ गर्नुभयो। फिल्ममा त्यो दृश्य अविस्मरणीय भएको छ।

बोल थियो– ‘सखी हे सावन के बुन्न झिसी, पिआ सँग खेलु पचिसी ना’। गाउँघरमा बर्सातको रमाइलो याममा आआफ्ना पतिसँग प्रेमालापमा निमग्न जोडीहरूको नृत्य र व्यवहारको सुन्दर चित्रण यस गीतमा छ।

त्यस्तै ठुलो बजेटको नेपाली कथानक चलचित्र ‘सीता’मा मैले एउटा होरी नृत्यका लागि गीत लेखें। शम्भुजित बाँस्कोटाको आग्रहमा गीतको बोलमा केही सम्झौता गरिए पनि त्यसले मिथिलाञ्चलमा होरीको उमंगको झझल्को दिन सफल रहेको छ।

यता गीतकार राजेन्द्र विमल, अशोक दत्त, विनीत ठाकुर आदि पनि च्यानल र एल्बमका लागि गीतहरूको रचना गरिरहनुभएको छ। उहाँका गीतमा पनि माटोको सुगन्ध, संस्कृतिको छाप देख्न सकिन्छ।

अहिले नेपालमा गम्भीरतापूर्वक मैथिली फिल्म बनाउने वातावरण बन्न सकेको छैन। भारततिर पनि हाल लघुफिल्मबाहेक पूर्ण फिल्म बनाउने निर्माता अगाडि आएको देखिएन। अहिले ‘नुनरोटी’ सिरियल अलिक राम्रो बनेको देखिन्छ तर अगाडि जाने हो वा होइन भन्न सकिन्न।

नेपाली फिल्ममा काम गरिसकेका पूणेन्दु चौधरी अहिले मैथिली फिल्मतिर पनि काम गर्न अगाडि आएका छन्। केही छोटा फिल्महरू बनाए पनि ठुलो पर्दाको फिल्मतिर जान चाहेका छन्। तर अनेकौं समस्या छन्– नयाँ कथानक, उचित पात्र, पैसा लगाउने निर्माता आदि। तर यस्ता फिल्म बन्न थालेपछि आफ्नो संस्कृति संरक्षण र संवर्धनको बाटो खुल्नेछ।

अन्त्यमा मेरो स्पष्ट मान्यता छ– हामी जहाँ जुन रूपमा प्रस्तुत भए पनि आफ्नो भाषा–संस्कृतिलाई जोगाइराख्न प्रयत्नशील हुनैपर्छ। यसले नै हाम्रो पहिचानलाई स्थापित गर्न मद्दत गर्छ।

लेखक मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हुन्।

प्रकाशित: ५ फाल्गुन २०८० ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App