७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

उनले लिएको उधारो माछा

कथा

‘नखाएर हुन्छ? जति रुच्छ त्यति खाऊ,’ हिजोआज रमाको आग्रह पनि विजयलाई आदेशजस्तो लाग्छ।

‘खानै मन छैन,’ विजयको झर्किएको जवाफ। रमा भान्सा कोठामा के के भन्छिन्। हुन त राम्रै भनेकी हुन्छिन् तर विजयलाई सरापेको जस्तो लाग्छ, तथानाम भनेकी जस्तो लाग्छ।

विजय ओछ्यानमा लडिरहन्छ, दाउरा काट्न ढालेको रुखको मुढाजस्तै। एक वर्षअघिको मोटरसाइकल दुर्घटनापछि उसको कम्मरदेखि तलको भाग चल्दैन।

‘दबाई खाऊ, यता फर्क,’ रमाको मिठो वचन पनि उसलाई बन्चराको धारजस्तो लाग्छ। रमा तातोपानी लिएर उभिएकी देखेपछि ऊ कराउँछ, ‘तैंले मलाई मार्न एसिड बोकेर आएकी?’

‘यो मान्छेले किन होस गुमाएको होला?’ रमा आँखाभरि आँसु पारेर भन्छिन्।

हिजोआज रमाको आँसुले विजयलाई फरक पर्न छोडेको छ। ऊ बिस्तारै पत्थर बन्दैछ। एक समय थियो, विजयलाई रमा हाँसेको, बोलेको सबैभन्दा राम्रो लाग्थ्यो। ती दिन सम्झेर हुरुक्क हुन्छ ऊ। अहिले रमा हाँसेर उभिएको देखेपछि विजय आफूलाई सबैबाट उपेक्षित सम्झन्छ।

‘किन अपराध, पाप सोचेर बस्छौ विजय?’

‘मलाई थाहा छ, म सबैको बोझ भएको छु।’

‘नचाहिने नसोच। तिमी एक दिन ठिक हुनेछौ।’

विजय नबोली भित्तातिर टाउको फर्काएर आँखा चिम्लिरहन्छ। दिनभर केही बोलेन, केही खाइदिएन पनि। रमा उदास उदास, यताउता गरिरहिन्। स्कुलबाट आएर छोरी कोठामा रोइरहेकी थिई। विजयलाई बेस्सरी रिस उठ्छ।

‘किन रुन्छेस्? अलच्छिना जनाएर साँझको बेला? तेरी आमा खोई?’ सकिनसकी विजय ओछ्यानबाट कराउँछ।

‘मलाई के था?’ छोरीले पनि च्याँट्ठिएरै जवाफ दिन्छे।

‘तिमेरु आमा छोरी मिलेर मलाई मार्न खोजेका छौ!’

‘हो नि, बाइक पनि हामीले एक्सिडेन्ट गराएको, मान्छे पनि हामीले मारेको, रक्सी पनि हामीले खाएको। जे पायो त्यै बोल्या छ, बरु बोली पनि बन्द हुनुपर्ने।’

छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।

‘कहाँ मर्‍या थिइस्?’

‘साँझको बेला त शुभ शुभ बोल कमसेकम!’

‘म कहिले मर्छ भएको छ हैन तिमेरु आमाछोरीलाई? मैले हड्डी घोटेर ख्वाइन्जेल म राम्रो थिएँ। आज अशक्त भएपछि तिमीहरूको बोझ भएँ होइन?’

‘किन पाप सोचिबस्छौ? आराम गर ठिक भइहाल्छौ नि !’

‘परेको छैन मलाई निको हुन। बरु बिख खुवाएर मारिदेओ।’

रमा केही बोल्न सक्दिनन्। उता छोरी कोठामा रोइरहेको सुनेपछि रमा सोध्छिन्।

‘स्कुलमा फी नबुझाएकाले मलाई एडमिट कार्ड दिएन। म मात्रै कक्षामा उभिनुपर्‍यो। पढाउन नसक्नेले किन नाम लेखाइदिएको? साथीहरूले मलाई बिल्ला हाने।’

घरमा स्तब्धता छायो।

‘म स्कुल जान्न, सबै हाँस्छन् मलाई देखेर। फी तिर्न नसक्नेले जान्ने भएर स्कुलमा नाम लेखाइदिनुपर्ने।’

‘बढी थुतुनो नचला, मुख भत्किनेगरी भेट्लिस्,’ रमाले पनि छोरीलाई हप्काउँदै भनिन्।

‘उता जाओ है मलाई शान्तिले मर्न देओ,’ विजय फेरि करायो।

‘पल्लो घरदेखि भाइ लिएर आइज।’

छोरी खुट्टा बजार्दै गइन्।

‘मेरो काल किन आउँदैन?’ विजयको सुस्केरा रमाको कानसम्म आँधी बनेर पस्छ। उदास साँझ, ओछ्यानमा मुढोझैं लडिरहेको बिरामी लोग्ने। सास र मुख मात्रै चल्छ। चारैतिर अभाव।

 रमालाई पछाडिबाट कसैले घाँटी अँठ्याएको भान हुन्छ। सबै सकिन लागेको छ। आशा–अपेक्षादेखि लिएर चामल, नुन, तेल पनि। सबैतिर रित्तो। मन रित्तिएपछि सबै रित्तिँदै जाँदा रहेछन्। साँझ परेपछि घरमा सुरु हुने होहल्ला, झगडा नौदश बजेसम्म नै चलिरहन्छ। सानो छोरा विजयको छेउमा पर्नै छोडेको छ। चुपचाप कोठामा गएर कहिलेकाहीं भोकै निदाउँछ।

विजयको गनगन, ठुली छोरीको असन्तुष्टि र सानो छोराको अबोध आँखाअगाडि रमाले घुँडा टेकेकी छिन्। सानो छोरा आएर आमाको काखमा बस्न खोज्छ। ‘उता गएर पढ्न बस्,’ रमा झर्कंदै छोरालाई धकेल्छिन्। सानो छोरो रुन थाल्छ।

‘यो घर मसानघाट भएको छ,’ विजय फेरि ओछ्यानबाट कराउँछ। ‘तिमी एकछिन मुख टालेर बस्न सक्दैनौं?’ रमा पल्लो कोठाबाट कराउँछिन्।

‘मैले कमाइन्जेल...!’

‘चुप लागेर बस, प्यार प्यार बोलेको छ,’ रमा पनि रिसाएर बोल्छिन्।

‘तिमीहरूको यो तितो वचन खप्नलाई बाँचेको रहेछु। बरु मरिगएको भए सबैलाई आनन्द हुन्थ्यो।’

‘मरेको भए त सबैलाई आनन्द हुन्थ्यो नि ! म नि मर्‍या भए आनन्दै हुन्थ्यो। देशदुनियाँका अगाडि हात जोडेर रुँदै, ऋण माग्दै, भाका थप्दै हिँड्नुपर्ने थिएन। एकातिर छोरी बाउँठिन्छे, अर्कातिर बाउ च्याँठिन्छ। तिमीहरूलाई मात्रै रिस उठ्छ? दिक्क लाग्छ? एकछिन शान्तिले बस्न दिने होइन। सकेको त गरिरहेकै छु नि। भएको नभएको सबै तिमीहरूलाई मात्रै थाहा छ र? ऋण, साहु सबै मिलाउँदै छु। रिसाएको छ, झर्किएको छ, कराएको छ। मलाई वचनले घोचेको छ घोचेकै छ।’

पुनः सुनसान भयो घर। कोठामा घडी चलेको आवाज मात्रै सुनिन्छ। ‘तिमी मुख सिलाएर बस, अनि तँ पढ्दैनस् भने नपढ। आठसम्म पढाएकै छु, पाप लाग्दैन। यत्रो भइसकी। आमाको मर्का बुझ्न सक्दिनस् भने तैंले पढेको बेकार छ।’

रुँदारुँदै थाकेर रमा भान्साकोठातिर लागिन्। यसो चामलको बोरा हेर्छिन्, चामल सिध्दिन लागेको रहेछ। नुनतेलका बट्टाहरू पनि खाली हुन लागेका रहेछन्। रमालाई रिँगटा चल्यो। आँखाअघि अँध्यारो छायो। पछिल्तिर उभिएको छोरालाई देखेर हत्तपत्त छातीमा टाँस्छिन्।

‘आमा ! भोक लाग्यो ?’ बल्ल छोराको बोली फुट्यो। भोको पेटले रोग र शोक नभन्ने रहेछ। रमाले लामो सास फेरिन्।

मुसुरोको दाल र भात पकाएर छोराछोरीलाई दिइन्।

‘लौ उठ, भात पाक्यो,’ रमाले विजयलाई झकझकाउँदै भनिन्।

‘खान्न म,’ फेरि झर्किंदै बोल्यो विजय।

‘अलिकति खाऊ, दबाई खानु छ।’

‘तँ खा। मलाई खानु छैन तेरो भात, तेरो दबाई।’

‘हत्तेरी कस्तो नबुझ्ने भएको तिमी?’ दिक्क मान्दै बोल्छिन् रमा।

छोराछोरी भात खाएर सुते। विजयले खान मानेन। भान्छाकोठामा बत्ती रातभर बलिरह्यो।

बिरामीका अगाडि थालमा अलिकति भात र मुसुरोको दाल त्यत्तिकै थियो। रुँदारुँदै निदाएकी रमा ब्युझँदा बिहानको तीन बजेछ। यसो हेर्छिन्, लामखुट्टेले टोकेर हात, गोडा र अनुहार चिलाइरहेको रहेछ।

सेतो घरको भित्ताभरि रगतले ढाडिएर, उड्नै नसक्नेगरी बसेका लामखुट्टेहरू छ्याप्पै देखेर रमाको मन कस्तो कस्तो भयो। विजयले भित्तापट्टि अनुहार फर्काएको रहेछ। जागै थियो कि निदाएको थियो तर ऊ अचल थियो। रमा झसङ्ग भइन्।

हत्तपत्त उठेर उसको निधार छामिन्। हनहनी ज्वरो आएको रहेछ। पानीपट्टी गरिदिइन्। विजयले सिटामोल पनि खाइदिएन, रिसाइरह्यो, झर्किरह्यो। रमा रुन पनि सकिनन्। बिहानीको पर्खाइमा बसिरहिन्।

‘घाम झुल्किसक्यो, उठ्नुपर्दैन? पढ्नुपर्दैन?’ रमा छोरीलाई उठाउँदै भन्छिन्।

‘भात खुवाएर भाइलाई स्कुल पठाउनू, म पल्लो घर जान्छु काम छ।’

छोरी उठेर खुट्टा बजार्दै धारातिर लागिन्। रमा फुकेर छरपस्ट भएको कपाल मिलाउँदै घरदेखि निस्किन्। बेसुरमा हिँड्दाहिँड्दै छोराछोरी पढ्ने स्कुल, प्रिन्सिपलको अफिस पुगिछिन्।

‘नमस्कार सर !’

‘नमस्कार भाउजू ! दाइलाई कस्तो छ ? म त आउन पनि भ्याएको छैन।’

‘उस्तै छ सर, सुधार अलिकति पनि छैन। म त समस्या बताउन आएकी। छोरीको फी जम्मा गर्न सकिरहेकी छैन। परीक्षा छुट्छ भनेर छोरी रोएर बसेकी छे। सर केही समयलाई मिलाएर परीक्षा दिनेसम्म बनाइदिनुपर्‍यो। म भरसक चाँडै पैसा जम्मा गर्नेछु सर।’ अप्ठ्यारो मान्दै हात जोडेर रमाले भनिन्।

‘के गर्नु भाउजू? गाह्रो सबैलाई छ। अब तपाईंको अवस्था थाहा छ तर व्यवहार दयामायाले मात्रै चल्दैन भन्दा नमिठो लाग्छ। दुई नानीहरूको फी धेरै पो जम्मा भएको रहेछ।’

‘दशा लागेर सर ! यसपालि जसरी भए पनि मिलाइदिनुपर्‍यो,’ रमाको हातगोडा थरर काँप्यो।

‘रिजल्ट अगाडिसम्म चाहिँ जसरी भए पनि फी जम्मा गरिदिनुहोला भाउजू। के गर्नु, मैले पनि स्कुल चलाउनुपर्छ, कर्मचारी पाल्नुपर्छ,’ अलि कडा स्वरमा बोल्यो प्रिन्सिपल।

‘हुन्छ सर,’ रमाले कृतज्ञ भएर भनिन् अनि गह्रौं पाइला चाल्दै घरतिर लागिन्।

घर पुग्दा ज्वरोले बेसुरमा बर्बराइरहेको विजय देखेपछि झन् गलिन् रमा।

‘भाइ स्कुल गयो?’

‘अँ’ छोरीले जवाफ दिइन्।

‘ला, तेरो एडमिड कार्ड, जा राम्रोसँग पढ्न थाल।’

छोरी दिक्क लाग्ने अनुहार बनाएर कोठातिर लागिन्।

‘विजय, यता हेर त,’ रमाले पानीपट्टी गरिदिँदै लोग्नेलाई बोलाइन्।

‘कहाँ मर्‍या थिस्?’ उही तितो शब्द।

‘स्कुल गा’थें छोरीको एडमिड कार्ड लिन। पर्सिदेखि परीक्षा छ।’

विजय आँखा चिम्लिरहन्छ।

‘के खान्छौ?’

‘मलाई बिख दे भनेको सुन्दिनस्?’

‘आधा मासु नबनाऊ। कति रिसाएको? कति झर्किएको तिमी? अब तिम्रो पीडा मैले लिन मिल्दैन। चुप लागेर बस, दबाई खाऊ। बिस्तारै सबै ठिक हुन्छ।’

‘तेरो रामायण नसुना, उता जा।’

रमा जुरुक्क उठेर भान्साकोठातर्फ लागिन्। सुकिसकेको घाँटी चिसो पानीले भिजाइन्।

घरभरि मान्छे विजयलाई सपना जस्तो लाग्छ। यसो आँखा खोलेर हेर्छ। अपेक्षा थियो आफ्ना, आफन्त, साथीहरूको तर वरिपरि त ऋण उठाउन आएका सहकारीका मान्छेहरू पो रहेछन्। रमालाई उनीहरूका अगाडि हात जोडेर उभिइरहेकी देखेपछि उसको चित्त फाट्यो।

‘यो हाम्रो क्लोजिङको टाइम हो। साँवा नभए पनि ब्याज त जम्मा गर्नुपर्छ नि।’

‘थाहा छ सर। कतैबाट उपाय चलेन। बिरामीलाई दबाई गर्न सकिरहेको छैन। केही समय पर्खिदिनुपर्‍यो।’

‘कहिलेसम्म पर्खने? तपाईंलाई नै गाह्रो हुन्छ।’

‘जसरी हुन्छ, केही महिनालाई मिलाई दिनुस् हजुर। म जोरजाम गर्नेछु,’ रमाले हात जोडेर भनिन्।

ओछ्यानमा कम्मरदेखि तलको भाग नचल्ने भएर मुढाझैं लडिरहेको विजयले तुरुक्क आँसु खसाल्यो। आँखाभरि अँध्यारो छायो।

‘उसो भए ब्याजलाई मूल कर्जामा नै गाभेर नयाँ ऋणको कागज बनाउनुपर्छ। के गर्नु, हामीले पनि हिसाब देखाउनुपर्छ। क्लियर भएन भने बैंकले लगानी गर्दैन।’

रमाले सहमति जनाएर टाउको हल्लाइन्। नयाँ तमसुक लेखियो। के लेखियो रमालाई मतलब भएन, बस् उनलाई ऋणको भाखा अलि बढाउनु थियो, बढ्यो। त्यसैमा खुसी भइन्। सहीछाप गरी कागज बोकेर सहकारीका मान्छेहरू गए, रमाको मुटु चिसियो।

उनी नबोली बसिरहिन्। विजय भित्तातिर फर्केर रोइरह्यो। आफ्नो विगत सम्झिरह्यो।

के थिएन, सबथोक थियो। स्वस्थ शरीर, बिर्तामोडमा सधैंभरि भिडभाड हुने किराना पसल, आफ्नाहरू, साथीहरू, घरमा अभाव केही थिएन। मिठोमसिनो खाँदा सम्झने साथीहरू, दिदीबहिनी, दाजुभाइ खोज्दै आउँथे। ससुराली, मावली सबैले सम्झन्थे।

कहिलेकाहीं त ससानै कार्यहरू ऊबिना अधुरो नै रहन्छ कि जस्तो गर्थे। पहाडदेखि काठमाडौं जानुपरे विजयले टिकट गरिदिनुपथ्र्यो। गाउँमा कसैलाई रोगले च्यापे डाक्टर, अस्पताल खोजी गर्ने जिम्मा उसको हुन्थ्यो। आफ्नाहरू विदेश जान परे ‘वैदेशिक डिमान्ड’ खोजी गर्दै विजय नै बिर्तामोडका गल्लीहरू पुगिरहेको हुन्थ्यो।

मेन पावरका ढोका ढकढकाउन ऊ नै पुग्थ्यो। पहाडतिरबाट सागसब्जी गाडीमा आइपुग्थ्यो कोसेलीस्वरूप। सबै भरिपूर्ण थियो। घर, आफन्त, साथी, छिमेकी खुसी थिए, आफ्ना थिए। सम्बन्ध र परिस्थिति बदलिन समय नै नलाग्ने रहेछ। मोटरसाइकल दुर्घटनापछि सुरु भएको शारीरिक र मानसिक पीडाले विगत नौ महिनादेखि पछ्याइरहेको छ।

दुर्घटनामा साथीको मृत्यु भयो भने सडकमा हिँडिरहेका दुई जना ससाना नानीहरू घाइते भए। उनीहरूको उपचार र क्षतिपूर्तिमा भएभरको सम्पत्ति सकियो। पैसाको अभावमा विजयको उपचार हुन सकेको छैन।

घरभित्र सबैभन्दा बढी अभावले मुख आँ गरेर बसेको छ। विजय आँखा चिम्लन्छ। ती निर्दोष छोराछोरी र रमाको मुहार देख्छ। आफू बाँचेकोमा सबैभन्दा बढी पछुतो लाग्छ।

‘त्यो दिन रक्सी खाएर बाइक नचलाएको भए !’ ऊ बारम्बार सम्झिरहन्छ।

केही उपाय देख्दैन। साथ दिने कोही छैन। रिस मात्रै उठ्छ, झर्को मात्रै लाग्छ। उसलाई अब रमाको बोझ बन्नुछैन, मन दह्रो बनाउँछ।

‘विजय, यो चाउचाउ भए पनि अलिकति खाइदेऊ न,’ रमा हातमा सानो बटुका बोकेर उभिएकी थिई।

‘खान मन छैन रमा, तिमीहरू खाऊ,’ धेरै पछि नम्र भएर बोल्दै थियो विजय। रमा छक्क परिन्।

‘यहाँ बस त रमा।’

‘के भयो ?’

‘केही भएको छैन। तिमीलाई धेरै दुःख दिएँ है?’

‘फेरि नचाहिने कुरा किन गरेको?’

‘दुःखसुख गरेर छोराछोरी पढाउनू, बुद्धि नबिगार्नू, आफ्नाहरूको आशा नगर्नू। सबैले बलेको आगो मात्रै ताप्ने रहेछन्, तिमी दह्र्रो हुनू !’

‘तिमीले के भनेको? केही बुझिनँ,’ रमा झसंग हुँदै भनिन्।

एक्कासी रोयो विजय। रमालाई साह्रै नमिठो लाग्यो।

‘धेरै पिर नगर। तिमी पहिले जस्तै ठम ठम हिँड्ने छौ। सबै ठिक हुनेछ। मैले पर बसपार्कको जग्गा बेच्ने भनेर सबैलाई भनेकी छु। बिकेपछि हामी राम्रो अस्पताल जानुपर्छ।’

रमाको कुरा सुनेर झन् दुःखी भयो विजय। बाँकी रहेको त्यहीं १० धुर (एउटा घडेरी) पनि आफ्ना लागि बेच्न लागेकी रमाको विवश आँखामा विजयले नजर जुधाइरहन सकेन र फेरि आँखा चिम्लियो।

‘ल यो चाउचाउ खाइदेऊ।’

विजयले मुख खोलिदियो। रमाले चाउचाउ लोग्नेको मुखमा हालिदिइन्। अलिकति हाँस्दै चाउचाउ खाइदियो। रमाको मुहार अलिकति उज्यालियो।

‘तिमीलाई के खान मन लागेको छ ?’ रमाले खिइँदै गएका विजयको हात सुमसुम्याउँदै सोधिन्।

‘मलाई माछा खान मन लागेको छ।’  

‘हो, यसरी मन लागेको खान्छु भन, नरिसाऊ, तिमी ठिक भई हाल्छौ नि।’

‘मम्मी, म प्रीतिकोमा गएर म्याथको नोट लिएर आउँछु है,’ छोरीले कोठादेखि निस्किएर भनिन्।

‘यहाँ आइजा त नानु,’ विजयले छोरीलाई बोलायो। छोरी आएर नजिकै बसिन्।

‘तँ राम्रोसँग पढ्नू, मम्मीलाई दुःख नदिनू, भाइको ख्याल गर्नू,’ विजयले छोरीको मुखमा हेर्दै भन्यो।

‘हवस् डेडी,’ छोरी खुसी भएर साथीको घरतिर लागिन्। विजयले यसो झ्यालबाट टाउको उठाएर छोरीलाई हेरिरह्यो। रमा छक्क परिन्। सानो छोरालाई छेउमा बसाएर निकैबेर सुमसुम्याइरह्यो विजयले। मोटरसाइकल दुर्घटनापश्चात् आज पहिलोपटक बाबुको यस्तो रूप देखेर छोरा पनि मक्ख परिरहेको थियो। खाजा खाएर खेल्न निस्कियो साथीहरूसँग।

‘साना, छिट्टै घर आउनू है। म बजार जान्छु डेडीलाई हेर्नुपर्छ ल,’ रमाले कुद्न लागेको छोरालाई भन्न भ्याइन्।

‘हस्, मम्मी,’ छोरो कुदिहाल्यो। उसैगरी झ्यालदेखि छोरो कुदेको हेरिरह्यो विजयले। उसको मुटु चल्न बिर्सिएझैं गर्‍यो। आँखा रसाए उसका। रमा फुरुंग परेर भान्साकोठामा काम गर्दै थिइन्। अलिकति मन हलुको भएको थियो उनको।

‘तिमी बस्दै गर, म कृषिथोक (बजार) पुगेर आउँछु। ट्वाइलेट जान्छौ ?’ रमाले चिसो हात पुछ्दै भनिन्।

‘ट्वाइलेट जान्न तर तिमीसँग पैसा त छ के रमा?’

‘छ,’ रमा कपाल मिलाउँदै भन्छिन्। विजय रमालाई हेरिरहन्छ, नरमाइलो लाग्छ।

‘पानी खान्छौ?’

‘खान्न।’

रमाले विजयको वरिपरि हेर्छिन्। धारिलो सरसामान केही नदेखेपछि ढुक्क हुन्छिन्। विजयको छेउमा, हातले भेट्ने ठाँउमा त्यस्ता सामान रमाले राख्न छाडेकी छिन्। पटकपटक विजयले आफैंलाई मार्न खोजेको थियो। रमाले ओछ्यान वरिपरि हेर्दा एकपटक विजयको शरीर चिसो भएको थियोे।

‘रमा, मैले तिमीलाई धेरै दुःख दिएँ है?’ ढोकादेखि निस्कन लागेकी स्वास्नीलाई भन्यो विजयले।

‘नहुने कुरा नगर है, म छिट्टै आइहालें,’ रमाले विजयको अनुहार सुमसुम्याउँदै भनिन्।

‘ल जाऊ। रात पर्छ, छिटो आउनू,’ रमा गएतिर हेरिरह्यो विजयले। रमा बाँसको झ्याङमा छलिइन्।

घर सुनसान भयो। विजयले एकपटक आफ्ना सुकिसकेका दुई खुट्टा हेर्‍यो ऊ। एकै ठाउँ आफूलाई हेर्छ। निरीह पाउँछ। वरिपरि साथमा साथ दिने कोही छैन। सम्झन्छ, सधैंभरि अरूले भर दिएर पनि त जिन्दगी चल्दैन। अरूको आशा र अपेक्षाले कति दिन जिन्दगी घिसार्न सकिन्छ र? सबैको आआफ्नै समस्या, परिस्थिति, परिवार र जिम्मेवारी छन्। कति दिन रमाको बोझ बन्ने? म नै भइनँ भने आज रुन्छिन्, भोलि रुन्छिन्, पर्सिदेखि मन बाँधेर छोराछोरी हेरेर बाँच्नेछिन्, जिन्दगी चलाउनेछिन्। आफू बाँच्नेछिन्, छोराछोरी पनि बचाउनेछिन्।

आखिर मरेर जाने सँगै, छोडेर जाने सँगै, जीवनयात्रा ठप्प कहाँ हुन्छ र ? सबैको चलेको छ, रमाको पनि चल्नेछ। विजयको मुटु ढक्क फुल्यो। घरको सिलिङतर्फ हेर्‍यो। भित्तामा रमाको अर्धकदको ठुलो तस्बिर उसलाई नै हेरिरहेको थियो। एकपटक रोयो अनि अलिकति हाँस्दै माछा किन्न गएकी रमालाई सम्झियो। अरू कसैलाई सम्झेन। ती रमा मात्रै थिइन्, उसलाई निःस्वार्थ प्रेम गर्ने, उसको मनले भन्यो।

‘रमा! मलाई माफ गर,’ सुक्दै गएका उसका हात थरर काँपे। सिरानीमा अस्तिदेखि लुकाएर राखेको सिसाको गिलाँस थियो। निकालेर छेवैमा भएको कुर्सीमा ठोक्काएर धारिलो टुक्रा बनायो अनि आँखा चिम्म गरेर जोडले आफ्नै घाँटीमा रेट्यो।

‘रमा !’ अन्तिममा पुकारेको थियोे विजयले।

‘लौ, विजयले आफैंलाई रेटेछ !’ हल्लाखल्ला भयो छिमेकमा। मान्छेहरू भेला हुन थाले। सिरानी रगतको आहालमा डुबेको थियो।

रमालाई लिन छिमेकी बजारमै पुगेका थिए। रमा माछा किन्दै थिइन्। चिसो मुटु बनाएर घरभित्र पस्दा विजय जीवनको अन्तिम सास फेर्दै थियो।

‘विजय, यो के गरेको तिमीले?’ रमाले चिच्याउँदै भनिन्। विजयले अलिकति आँखाको परेली खोलेर हेर्‍यो अनि अन्तिम सास लियो। रमा बेहोस भएर ढलिन्। कालो पोलिथिन झोलादेखि ससाना माछाहरू निस्केर उफ्रिँदै थिए। त्यो माछा पनि रमाले उधारो मागेर ल्याएकी थिइन्।

प्रकाशित: २७ माघ २०८० ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App