१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

चलचित्र क्षेत्रलाई करको भारी! देशभरका सिनेमा हल बन्द

नेपालगन्जस्थित सिने रोयल। तस्विरः नागरिक

कोभिड–१९ (कोरोना भाइरस) ले चलचित्र घरअर्थात् सिनेमा हल ठप्प भए। सबैभन्दा ठुलो मार खेप्नेमध्येको क्षेत्र चलचित्र पनि एक हो। कोरोना भाइरसपछि सामान्य बन्दै गएको बजार चलचित्र क्षेत्र पुरानै लयमा फर्किने अपेक्षा थियो। रुस–युक्रेन युद्धपछि चुलिएको आर्थिक संकट नेपालजस्तो अविकसित देशमा नराम्री देखियो। यसले उठ्न थालेको चलचित्र क्षेत्र पुनः थलियो। यसको व्यापार घाटा निर्मातासम्म मात्र सीमित भएन हल सञ्चालकदेखि कलाकारसम्म पुग्यो।

अहिले आर्थिक संकटकै बीच चलचित्र क्षेत्रमा केही आशा जाग्ने देखिएको छ। सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।  

यसकै विरोधस्वरुप सोमबारदेखि देशभरिका सिनेमा हल बन्द भएका छन्। नेपालगन्जका दुई वटा हल पनि बन्द छन्। मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरू नलगाउने संहिता विपरीत चलचित्र विकाश शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरिएको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको ब्यहोरा सर्वविदितै छ। चलचित्र विकाश बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब चार सय ५० चलचित्र घरहरू सञ्चालनमा थिए भने मौजुदा अवस्थामा मुलुकभर करिब एक सय ५० सङ्ख्यामा चलचित्र घरहरू सञ्चालनमा छन्। सञ्चालनमा रहेका चलचित्र घरहरूको व्यवसाय शून्य प्रायः छ।  

चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएकाले विरोध जनाइएको सिने रोयल नेपालगन्जका सिओ रितेश श्रेष्ठले बताए।  

धराशायी भएको चलचित्र क्षेत्रलाई सरकारले निराशा पारेको उनको भनाइ छ। नेपालगन्जमा सामान्यतया दैनिक १५ वटा सो प्रदर्शन हुने गरेको छ।  

चलचित्र विकास बोर्ड स्थापना हुँदा देशभरि करिब चार सय ५० चलचित्र घर थिए। आर्थिक संकटका कारण धेरै बन्द छन्। अहिले एक सय ५० जति चलचित्र घर मात्र सञ्चालनमा छन्।

प्रकाशित: २३ माघ २०८० ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App