१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

‘सौगन्ध राम की खाते है हम मन्दिर वहीं बनायेंगे’ राम जन्मभूमि आन्दोलनकी अगुवा साध्वी ऋतम्भराले यस नारालाई भारतभर फैलाइन्। र, राम जन्मभूमि आन्दोलनलाई व्यापक बनाउँदै पक्षमा माहोल तयार पार्न सफल भइन्।

भारतको सर्वोच्च अदालतको फैसलाले वर्षौंको बलिदानीपूर्ण आन्दोलनले सार्थकता पायो। राम मन्दिर त्यहीं बन्यो। राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा हुँदा साध्वीको खुसी आँसुका रूपमा छचल्कियो। राम मन्दिरमा उमा भारतीलाई अँगालो हालेर साध्वी धित मर्ने गरी रोइन्। यो भावुक दृश्य देखेर रामललाको प्राणप्रतिष्ठा समारोहमा सहभागी धेरैका आँखा रसाएको देखिन्थ्यो।

राम जन्मभूमि आन्दोलनको पछिल्लो कडी हुन् नायिका कंगना रनौत। प्राणप्रतिष्ठा समारोहमा उनको खुसीको सीमा थिएन। जय श्रीरामको नारा लगाउने मामिलामा उनले सन्तसाधु तथा शंकराचार्यहरूलाई पनि उछिन्न सफल भइन्।  

प्राणप्रतिष्ठा समारोहलाई सम्बोधन गर्दै राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष गोविन्ददेव गिरीले प्रधानमन्त्री नरेन्द्र मोदीको ११ दिने व्रत तथा साधनाबारे बेलीविस्तार लगाउँदै भावुक भए। प्रधानमन्त्रीका आँखा आँसुले भरिए। गिरीले सम्बोधन सम्पन्न गर्दै गर्दा मोदीका आँखाबाट आँसु चुहिएको थियो। प्रधानमन्त्रीलाई व्रत खुलाउन चनाअमृत खुवाउँदै गर्दा गिरीका आँखाबाट पनि आँसु छचल्किएको थियो।  

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए। सोहीअनुसारको जीवनशैली अपनाएका थिए।

गिरीका अनुसार तीन दिनसम्म मात्र त्यो जीवनशैली अपनाए पनि हुन्थ्यो तर प्रधानमन्त्रीले सम्पूर्ण विधिलाई पूर्ण रूपमा पालना गरेका थिए। प्राणप्रतिष्ठा पूजापछि प्रधानमन्त्री मोदीले रामललाको मूर्तिअगाडि शिर मात्र झुकाएनन्, उनले साष्टाङ्ग दण्डवत् गरेर रामप्रतिको आफ्नो आस्था देखाएका थिए।

पूजा सम्पन्न गरी बाहिर आएर उनी राम मन्दिर प्राङ्गणमा बसेका सम्पूर्ण आमन्त्रितलाई शिर झुकाएर नमन गरेका थिए। उनी हात जोडेर सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए।

राम मन्दिरबाट करिब आधा घण्टा उनले सम्बोधन गरेका थिए। उनले न्यायालयदेखि कारसेवक (राम जन्मभूमिका आन्दोलनकारी)लाई सम्बोधन गरेका थिए। साधुसन्तदेखि शंकराचार्यलाई सम्बोधनमार्फत नमन गरेका थिए। उनको सम्बोधनले सम्पूर्ण सहभागीलाई गम्भीर र भावुक बनाइदिएको थियो।

‘सीया वर राम चन्द्र की जय’ अर्थात् सीताका वर रामचन्द्र कि जय। प्रधानमन्त्री नरेन्द्र मोदीले रामललाको प्राणप्रतिष्ठापछि सम्बोधनको सुरुवातमा रामको परिचय सीताका वर (श्रीमान्) भनेर गरेका थिए। यो अर्थपूर्ण शब्द नेपाल–भारत सम्बन्धको गहिराइ नाप्न काफी छ।

उनको यो सम्बोधनले रामलाई सीतासँग मात्र जोडेन, नेपाल भारतबिचको पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई समेत सम्मान गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए।

आज हाम्रो राम आइसकेको छ। सदियौंको त्याग, तपस्या र बलिदानपछि आज हाम्रो प्रभु राम आएको छ। उनले आफू गर्भगृहबाट ईश्वरीय चेतना अनुभूत गरेको उल्लेख गर्दै मोदीले भने, ‘भन्ने कुरा धेरै छन् तर मेरो कण्ठ अवरुद्ध छ, शरीर अहिले पनि स्पन्दित छ, चित अझै त्यो पलमा लीन छ।’ रामललाको प्राणप्रतिष्ठा राम जन्मभूमि अयोध्यामा भए पनि यसको अनुभूति विश्वभरका रामभक्तले गरिरहेको उनको भनाइ थियो।

‘२२ जनवरी २०२४ को सूर्य अद्भुत आभा लिएर आएको छ,’ मोदीले भने, ‘यो मिति क्यालेन्डरमा लेखिएको तारेख होइन। यो नयाँ कालचक्रको उद्गम हो।’ राम मन्दिरको भूमि पूजनदेखि देशमा उमंग र उत्साहको माहोल बढ्दैगएको थियो।

सदियौंको धैर्यलाई राम मन्दिरका रूपमा नयाँ धरोहर भेटिएको उनको भनाइ थियो। ‘आजभन्दा हजार वर्षपछि पनि मानिस यस पलको चर्चा गर्ने छन्,’ उनले दाबी गर्दै भने, ‘हाम्रा लागि यो समय विजयको मात्र होइन, विनयको पनि हो।’

अयोध्यामा राम मन्दिर बन्नुहुन्न भन्नेहरू नभएका होइनन्। राम मन्दिरको विपक्षमा पनि एउटा समूह छ, जसले राम मन्दिर बने देशमा आगो सल्किने तर्क गर्दै आएका छन्। प्रधानमन्त्री मोदीले राम मन्दिरले आगो होइन, देश र विश्वमा ऊर्जा प्रदान गर्ने बताए।

उक्त अवसरमा मोदीले भने, ‘त्रेतागुगमा १४ वर्षको वियोग असह्य थियो भने यस युगमा अयोध्यावासी र भारतवासीले सहेको सयौं वर्षको वियोग कति कष्टदायक होला ? भारतको संविधानको पहिलो प्रतिमै भगवान् राम विराजमान रहेको उनले उल्लेख गरे।

संविधानको अस्तित्वमा आएपछि पनि रामको अस्तित्वबारे कैयौं वर्ष कानुनी लडाइँ चल्यो। उनले भारतको न्यायपालिकाप्रति आभार प्रकट गर्दै भने, ‘हार्दिक आभार, जसले न्यायको इज्जत राखिदियो।’

राम मन्दिरमा प्राणप्रतिष्ठा भएको रामललाको मूर्ति कृष्णशिला (पत्थर) बाट निर्माण गरिएको छ। पत्थरबाट बनेको रामललाको मूर्तिप्रति लाखौं श्रद्धालुको भिड अयोध्यामा उर्लेको छ, उर्लिंदै छ।

राम मन्दिर तीर्थ क्षेत्र ट्रस्टका अनुसार जनवरी २३ तारिखदेखि दैनिक पाँच लाखभन्दा बढी श्रद्धालु दर्शनका लागि आउँदैछन्। ‘मानो तो देव नहीं तो पत्थर’ यो कथन मिथिलाञ्चलमा मात्र नभई नेपाल–भारतभर लोकप्रिय छ। पौराणिक मान्यताअनुसार मूर्तिपूजा परापूर्वकालदेखि चलिआएको छ र अन्य वेदहरूमा पनि मूर्तिपूजाको व्यवस्था छ।

तर ईश्वरीय ज्ञान वेदमा मूर्तिपूजालाई अमान्य भनिएको छ किनभने भगवान् निराकार र सर्वव्यापी छन्। त्यसैले ब्रह्माण्डको प्रत्येक कणमा व्याप्त ईश्वरलाई एउटै मूर्तिमा सीमित राख्नु ईश्वरको गुण, कर्म र स्वभावको विपरीत हो। वैदिक कालमा निराकार भगवान्को मात्र पूजा गर्ने व्यवस्था थियो। यी तथ्य यस कथनलाई प्रस्ट्याउन काफी छन्।

वैदिक कालको व्यवस्था र मान्यतालाई अयोध्यामा देखिएको दृश्यले नवीकरण गरिदिएको छ। गत सोमबार भारतको देवभूमि अयोध्यामा कृष्णशिलाबाट बनाइएको रामको बालरूप ‘रामलला’प्रतिको आस्था, श्रद्धा र आकर्षणले त्रेतायुगको वैदिक काललाई सम्झाइदिएको छ।

गत आइतबार काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा बाक्लो हुस्सुसँगै शरीर कमाउने ठन्डी थियो। त्यहाँबाट सडकमार्ग हुँदै राति अयोध्या पुग्दा मैले पत्थरप्रतिको यत्रो श्रद्धा देखेको थिइनँ।

१५ किलोमिटर वरैदेखि जनशैलाव (मानवसागर) रामललाको दर्शन गर्न उर्लेको थियो। अयोध्याको सडकमा लाखौं मानिस हात जोडेर उभिइरहेको देखें। सडकमा देखिएका युवा, वृद्ध, बालबालिका, महिला, घुम्टोमा अनुहार लुकाएका बेहुलीहरूको भिडले धार्मिक आस्थाको अनुपम र अद्भुत अनुभूति गराउँदै थियो।

महिला, पुरुष, युवाहरू सर्यू नदीको तटमा स्थान गरी हातमा जल र अक्षता लिएर पूजा गरिरहेका थिए। उनीहरू मंगलबारको पर्खाइमा थिए। मंगलबारदेखि रामललाको दर्शन आम मानिसका लागि खुला गरिँदै थियो।

मंगलबार बिहान २ बजेखि नै दर्शनका लागि श्रद्धालुहरू लाइन लागे। र, श्रद्धा राम मन्दिरमा पोखियो। भनिन्छ, पत्थरमा पनि आफ्नो आराध्य देख्ने शक्ति पाउनका लागि सभ्यतालाई अध्यात्मको उच्चतम बिन्दु छुनु पर्दोरहेछ। तर नेपालदेखि भारतको अयोध्यासम्मका आमजनलाई यो अवसर सहजै प्राप्त भयो। रामको ससुराली जनकपुरधाम मात्र नभई पहाड र हिमालका आमजन पनि दीपावली मनाए। जताततै ‘जय श्री राम’ले माहोल मुग्ध थियो।  

धनीगरिबको भेद थिएन। मानिस आफ्ना जातीय सीमा र आर्थिक भेद भुलेर ‘राम सीया राम’ जप्न मग्न देखिन्थे। उनीहरूलाई यति मात्र थाहा थियो, राम भगवान् वनवास पूरा गरी आफ्नो घर आएका छन्। यस अद्भुत क्षणलाई दिलदिमागमा कैद गर्नुपर्छ।

अयोध्यामा उर्लिएको श्रद्धालु यस क्षणमा पलपल बाँच्न चाहन्थे, रमाउन चाहन्थे, अद्भुत आनन्द प्राप्त गर्न चाहन्थे। नेपालदेखि अयोध्यासम्मका आमजनलाई एकताबद्ध गर्ने मन्त्र थियो ‘राम सीया राम सीया राम, जय जय राम’।

प्राणप्रतिष्ठा समारोहमा सहभागी क्रिकेटर एवं भारत रत्न सचिन तेन्दुल्करले भने, ‘यो आनन्दलाई म शब्दमा बयान गर्न सक्दिनँ, यो अद्भुत र ऐतिहासिक अनुभूति हो।’ उनमा खुसीको सीमा थिएन। हुस्सु बिस्तारै हट्दै थियो तर हावामा चिसो सिरेटो बाँकी नै थियो। प्राणप्रतिष्ठा समारोह सम्पन्नतर्फ अघि बढ्दै थियो।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रमा ट्रस्टका अधिकारीहरू, साधुसन्त र आमन्त्रितहरूको ठुलो संख्यामा भारतीय र विदेशी सञ्चारकर्मीको घुइँचो लागेको थियो। त्यो घुइँचो रामललाको दर्शनका लागि थियो।  

अनुभूति  : अयोध्यादेखि अयोध्यासम्म

गत सोमबार भारतको उत्तर प्रदेशको ऐतिहासिक धार्मिक स्थल भगवान् रामको जन्मभूमि अयोध्यामा रामको बालरूप ‘रामलला’को प्राणप्रतिष्ठामा सहभागी हुँदाको क्षण यादगार मात्र नभई अद्भुत भयो।

कृष्णशिलामा भगवान् रामको बालस्वरूप बनाएर भगवान्को स्वरूपमा पुजिन थाल्यो। त्यो दृश्य अद्भुत थियो। पत्थरमा भगवान् कुँदेर पूजा नेपालमा पनि नगरिएको होइन। तर, भारतमा व्यापक रूपमा पुजिएको देख्दा छक्क परें। यतिको श्रद्धाभाव देखेर आश्चर्यचकित भएँ। नेपालमा भन्दा भारतको अयोध्या आइपुग्दा श्रद्धाको सीमा पार भएको देखें।  

श्रद्धालुले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमंग र सहभागिताले अलौकिक अनुभूति भइरहेको थियो। राम मन्दिर दर्शनका लागि उर्लेको आस्था, श्रद्धाको भिड देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको आभास हुन्थ्यो। काखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाहरूले नतमस्तक भएर सर्यू नदीलाई ढोगिरहेका देखिन्थे।

राम मन्दिरको बाहिर श्रद्धालुको भिड नतमस्तक भएर ढोगेको देखें। उनीहरू भन्दै थिए, ‘अयोध्याको माटोमा टेक्नु नै पुण्य हो। भगवान् रामसँग सम्बन्धी सर्यू नदीको पानी छुन पाउनु नै पुण्य हो भन्ने भावमा श्रद्धा प्रकट गर्थे यहाँका श्रद्धालुहरू।  

राम मन्दिरनजिकै रहेको लतामंगेशकर पथमा जब नेपालको चन्द्रसूर्य अंकित झन्डा फहरायो, त्यो क्षण नेपाली नागरिकको हैसियतमा मेरा लागि गौरवमय थियो। राम धुनमा मुग्ध माहोलमा नेपालको झन्डा फहराउँदै श्रद्धालुहरू मग्न देखिन्थे। यस माहोलमा नेपाली श्रद्धालुहरूलाई भारतीयहरूले पनि भरपूर साथ दिइरहेका देखिन्थे।

अयोध्यामा नेपालीप्रति अपार सम्मान र माया पाएँ। जनकपुरधाम–अयोध्याको सम्बन्धको डोरीले नेपाल र भारतलाई जोडेको पाएँ। सीता–रामको विवाह सम्बन्धले दुवै देशका नागरिकबिच सम्बन्ध गाढा बनाएको पाएँ।

प्रकाशित: १३ माघ २०८० ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App