३० चैत्र २०८१ शनिबार
image/svg+xml २२:२२ अपराह्न
कला

हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल!

मुक्तक

१) मुक्तक

एउटै गल्तीले धेरै, आँसु बहन सक्छ,

कमजोर मनले पीडा, कहाँ सहन सक्छ?

विश्वासहरू भत्किन्छ्न्, मन दुखेको बेला,

मुटुभरि त्यो माया, कहाँ  रहन सक्छ?

२) मुक्तक

हरेक मन भक्कानिएर रुन्छ अचेल,

किन सधैं नमीठो ऐंठन हुन्छ अचेल।

जब देश पीरको झरीले रुझेको देख्छु,

आफ्नै आँसुले मुस्कान धुन्छ अचेल।

३) मुक्तक

यात्रा हो जीवन, कहिले तिमी हार नठान्नू,

आँसुलाई असफलताको आधार नठान्नू।

हरेक रातपछि एउटा बिहान जन्मिन्छ,

आफ्ना स्वर्णिम सपनालाई निस्सार नठान्नू।

४) मुक्तक

हामी काँडामा छौं, तपाईं फूलमा हुनुहुन्छ,

हामी तुइनमा छौं, तपाईं पुलमा हुनुहुन्छ।

हामी तपाईंभित्र, असल मान्छे खोजिरहेछौं

तपाई भने, चाकडीवाजको हुलमा हुनुहुन्छ।

५) मुक्तक

अपेक्षित सपनाहरू खण्डित छन्,

अकारण निमुखाहरू दण्डित छ्न्।

अरूलाई झार्ने,आफ्नालाई तार्ने,

यत्रतत्र सर्वत्र, चिप्ला पण्डित छन्।

६) मुक्तक

आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि,

नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि।

हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल,

नसानसा याद्को झङ्कार हुन थालेपछि।

७) मुक्तक

व्यक्तिको परिचय आफैं खुल्छ स्वभावले बतायो भने,

जून सधैं सुन्दर देखिन्छ “छली” बादललाई हटायो भने।

मान्छेको जात एउटै, रगत रातै, मजबुरी फरक होला,

यत्ति बुझ्नू, माथि पुगिन्छ अग्लो मानवता पलायो भने।

८) मुक्तक

जिन्दगीको पानामा सुख जोड्दै, दुख घटाउन सकिन्छ,

निरन्तरको साधनाले जीवनका अफ्ठ्यारा कटाउन सकिन्छ।

आफूमा अन्तर्निहित क्षमतालाई, प्रष्फुटन गर्न सकियो भने,

सिङ्गै ब्रह्माण्डलाई पनि आफ्नै हत्केलामा अटाउन सकिन्छ।

९) मुक्तक

कतिपय सम्बन्धमा छिद्राछिद्रा प्वालहरू भेटिन्छन्,

कतै नाघ्नै नसक्ने बाध्यताका पर्खालहरू भेटिन्छन्।

इतिहास कहाँ छ र हुटिट्याउँ एक्लैले सगर थामेको,

विश्वासभित्र पनि अविश्वासका अरिंगालहरू भेटिन्छन्।

१०) मुक्तक

भोकाहरू भोकै छन्,अघाएकालाई कोच्नुपर्छ,

कुम्भकर्णलाई बिउँझाउन, पटकपटक घोच्नुपर्छ।

आकांक्षाको खोला तर्न कहाँ हुन्छ भनेजस्तो,

जिन्दगी हो बाँच्न यहाँ, धेरै कुरा सोच्नुपर्छ।

प्रकाशित: २ माघ २०८० ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App