६ श्रावण २०८१ आइतबार
image/svg+xml
कला

म मरेपनि मेरो देश बाँचिरहोस्...

'म मरेपनि मेरो देश बाँचिरहोस्...'

आज यो गित मलाई निकै सम्झना आइरहेको छ। यो एक मात्रै वाक्यले मेरो सारा भावनालाई सायद समेटिसकेको छ। ‘म’ को ? यो देशमा मेरो अस्तित्त्व के ? यो देश मेरो को ? ‘म’ यो देशको को ? मेरा लागि को ? यी र यस्ता प्रश्नहरूले मेरो मन कौतुहल बनिरहेको छ। सायद ‘म’ यो देशको कोही होइन र मेरो ज्यान गएपनि यो देशका लागि केही हुँदैन। तर, यो देश बाँचिरहनुपर्छ। ‘म’ र म जस्ता कैयनको रगत बगेर बनेको यो देश सँधै मुस्कुराइरहनु पर्छ।

सम्भवतः यो गीतले मेरो भावनालाई गलत अर्थ लाग्ला तर, मैले मेरो रगत बगाएर बनाएको यो देशले म जस्ता कैयनलाई के दियो भन्ने यक्ष प्रश्न सायद म जस्ता सबैका लागि होला। यो धर्तीमा, यो देशमा, यो समाजमा ‘म’ र मेरो परिवार अनि हामी जस्ताले आशा पाल्यौं। आज होइन, भोलि होइन, तर एकदिन यो देश मेरो बन्ने छ। म र म जस्ता कैयनलाई घरमा बुढी बेसहारा आमा र बहिनीहरूलाई एक्लै छोडेर जाने बाध्यता अन्त्य होला भनेर बसे। तर, आखिरीमा मैले यहि देशमा रगत बगाए, घरमा सबैलाई बेसहारा र एक्लो बनाए।

मेरा लागि सोचिदिने यो देशमा को ? मेरो घर परिवारका लागि सोचिदिने यो देशमा को ? तर, मैले आफ्नै लागि सोच्दा अनि केहि गर्न खोज्दा पनि मलाई रोक्ने यो देशलाई अधिकार कसले दियो ? मेरो मुखमा एक गाससम्म खुवाउन नसक्ने यो देशले मलाई रोक्यो किन ? मेरा लागि कोही नभएको यो देशले मेरो रगत बगायो किन ? यहि देशमा केही गर्न देउभन्दा पनि गर्न नदिने, मेरा सपना साकार बनाउने केही माध्यम बनाइदेउ भन्दा बनाइ नदिने, मेरो क्षमतालाई पहिचान गरेर आफ्नै माटोमा बस्न देउ भन्दा त्यो नि नदिने अनि मेरो रगत बगाउने तिमी को?

यो देशमा म र म जस्ता कैयनको एउटै त आशा छ होला, यहि घरपरिवारसँगै बस्न देउ, दुःखसुख बाँड्न देउ, दुई गास खान देउ, आफ्नै आमाको काँखमा सुत्न देउ। तर, त्यति पनि तिमीबाट पार नलागेसी मलाई रोक्ने तिमी को ? तिम्रो मैले के लिए, तिमीले मलाई के दियौं ? जो तिमीले मेरो रगत बगायौं?

तिमीलाई त हामीले तिरेको कर र हाम्रो पसिनाले कमाएको रेमिट्यान्सले आफ्नो सारा इच्छा पूरा गर्नुछ, तिमीलाई आफ्नो सपनाको महल बनाउनु छ, हाम्रो पैसा र मिहिनेतको बलि चढाउनु छ, त्यतिले पुग्दैन अनि देशलाई नै बेच्नतिर लाग्छौं। आफ्ना विचरा नागरिकको करप्रति माया लाग्दैन तर, अरुले दिनुपर्ने करलाई बाहिर पठाउनु छ। तेत्रोलाई मारेर अझै पुगेन तिमीलाई अनि म जस्तालाई पनि मार्‍यौं। यतिले पनि सायद पुग्दैन होला तिमीलाई अनि अझैलाई मार्नु। मारेरै आफ्नो शयन कक्ष सजाउनु। कसरी निद्रा पनि लाग्छ तिमीलाई ? म र म जस्ताको आवाजले किन पिरोल्दैन तिमीलाई ? मेरो आमाको रुवाई किन सुनाउँदैन तिमीलाई ? आखिर किन तिमी यति कठोर बनेको ? आखिर किन मलाई मेरो सपनाको महल पूरा गर्न दिएनौं?

तिमी र तिमी जस्ताको लागि हामी आन्दोलन गर्छौ भनेर हामीलाई नै मार्‍यौं, तिम्रै अधिकारका लागि भन्दै लड्यौं तर, मार्न हामीलाई नै मार्‍यौं, आगोको सल्कोमा हामीलाई नै फाल्यौं, सत्तामा पुग्न त तिमी पुग्यौं हाम्रै बलि दिएर। तर, हाम्रा लागि आखिरमा तिमीले गर्‍यौं के मलाई अझैं थाहा भएन, छैन र सायद त्यो बुझ्ने मौका पनि दिएनौं र दिने छैनौं। म निर्दोष हुँ वा होइन, मैले मेरो अधिकारका लागि बोल्न पनि नपाउने, मैले मेरो सपना पूरा गर्न बाहिर जान पनि नपाउने, मैले तिम्रो के बिगारे जो मलाई तिमीले सदाका लागि निद्राको शय्यामा पुर्‍यायौं?

मेरो लाशमाथि फेरि राजनीति गर्दैछौं। मेरो लाशको बोली लगाएर मेरो परिवारलाई किन्दैछौं। तिम्रो मन किन यति कठोर, आखिर कहिलेसम्म म र म जस्ताको आशु र रगतसँग खेल्नेछौं?

ठूलो सम्पत्ति त मागेको थिइन्, तिम्रो हिस्साको खुशी पनि मागेको थिइन्, तिमीले खाने गासको पनि एक टुक्रा मागेको थिइन्, तिम्रो घरको एउटा कोठा देउ पनि भनेको थिइन्, तिमी मलाई राख्न सक्दैनौं भने मलाई जान देउ मात्रै त भनेको थिए। तर, त्यसका लागि पनि तिमीले मलाई बाटो दिएनौं। आफैले बनाएको बाटोमा पनि तिमीले काँडा मात्रै ओछ्याइदियौं। आखिरमा म र मजस्ता नै भएन भने यो देश बाँचेर के गर्छ ? तिमी के गर्छौ ? म र म जस्ता बिनाको तिमी र तिम्रो सत्ताले के गर्छ? आखिर कहिलेसम्म म र म जस्ताको लाशमा तिमी आफ्नो खुशी खोज्छौं ? आखिर कहिलेसम्म तिमी म र म जस्तालाई लाचार बनाएर यसरी रोकेर राख्छौं?

प्रकाशित: १५ पुस २०८० ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App