नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क -३३ लोकार्पण भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई, प्राडा लक्ष्मणप्रसाद गौतम, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, प्रकाश घायल, शंकर भारती लगायतले उक्त पत्रिका लोकार्पण गरेका हुन्।
संस्थाका सदस्य सुशील रिजालले शब्दमार्फत उपस्थितजनकाे स्वागत गरेका थिए। कृति लोकार्पण गर्दै प्राडा भट्टराईले भने, ‘संस्कृति सभ्यतासँगै बदलिँदो रहेछ। हिजो जे थियो, आज जे छ त्यो संस्कृति नै हो तर संस्कृतिमा आफ्नोपन हुनुपर्छ। संस्कृतिको जगेर्ना गर्ने यो प्रयास स्तुत्य छ।’
उनले संस्कृतिलाई मान्छेले ठूलो शक्ति,भक्ति र तिर्खाकाे रूपमा लिनुपर्ने बताए। अर्का वक्ता प्राडा गौतमले भने, ‘स्रष्टा दर्पणमा संस्कृतिबारे अहिलेसम्म नआएका विषयवस्तु पनि आएका रहेछन्।’
अङ्क पठनीय र संग्रहणीय भएको आफूले पाएको बताए। नेपाल स्रष्टा समाजको भूमिकाको प्रशंसा गर्दै उनले भने, ‘साहित्यको प्रवर्द्धन गर्न साहित्यिक कार्यक्रम जरुरी छ। यो सत्कर्म नेपाल स्रष्टा समाजले गर्दै आएको छ।’
समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा दर्पण समाजको ऐनाको रूपमा आएको बताए। उनले भने, ‘जसले यो पत्रिका हेर्छ उसले पनि संस्थाको अडिट गर्न सक्छ।’
उनले गत वर्ष ३४ विभिन्न साहित्यिक गतिविधि समाजले गरेको जानकारी दिए। उनले पत्रिकाको यो अङ्कमा लुकेका संस्कृतिहरूलाई समेत खोज गरी तयार पारिएका लेखहरू समेत समावेश गरिएको बताए।
संस्थाका सदस्य एलिसा ढुंगानाले सञ्चालन गरेकाे कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,समाजका महासचिव प्रकाश घायल लगायतले समाजका गतिविधिबारे आफ्नो मन्तव्य राखे।
समाजको बागमती प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शंकर भारतीले गरे।
साहित्य र संस्कृति विशेष अङ्कको रूपमा आएको यो पत्रिकाभित्र साहित्य र संस्कृतिसँग सम्बन्धित खोजमूलक लेख, अन्तर्वार्ता, निबन्ध,कविता आदि ३१ थान रचना समावेश गरिएका छन्।
आयोजकले जानकारी दिए अनुसार साहित्य र संस्कृतिका अध्येता, अनुसन्धानकर्ता र पाठक सबैका लागि उपयोगी हुने महत्त्वपूर्ण अङ्कको रूपमा आएको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ ०८:३३ बुधबार





