२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विन्टर हाइकिङ

रामदेवी महर्जन
काठमाडौं चिसिएको छ । हुस्सु र कुहिरोले जनजीवन प्रभावित छ । यस्तो बेला सबैलाई घाम प्यारो लाग्छ । जाडो याममा चारैतिर हिमाल देखिन्छ । अग्ला डाँडामा हिउँ समेत  पर्छ ।

हिमाल हेर्न काठमाडौंका जुनसुकै डाँडा चढे पनि हुन्छ । पारिलो घाम ताप्दै हिमालको उज्यालोमा उपत्यकालाई नियाल्न पाइन्छ । उकाली ओरालीहरुमा शरीरबाट निस्कने पसिनासँगै विकार पनि बाहिरिन्छ ।

जाडोकै कारण शारिरीक व्यायाम पनि कम भएको हुन्छ । यस्तो बेला त हाइकिङको झन महत्व हुन्छ । पदयात्रा आफैंमा स्वस्थबद्धर्क र ज्ञानबद्र्धक हुन्छ । स्वास्थ्य लाभका साथै दृष्यावलोकन गर्दै जाडोमा पदयात्रा गर्दा न्यानो हुन्छ । यात्रामा हिमाल हेर्न त पाइन्छ नै, कहिलेकाहिँ हिउँ खेल्ने अबसर जुर्छ । विन्टर हाइकिङका लागि थुप्रै गन्तव्य छन् काठमाडौंको सेरोफेरोमा ।

फूल्चोकी
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फूल्चोकी (२,८००मिटर) डाँडामा चिसो हावा चल्छ । त्यहा“बाट देखिने दृष्यले तन र मनलाई शीतल बनाउँछ । त्यहाँबाट सगरमाथादेखि अरु दर्जनौ हिमाल देखिन्छ । सूर्योदय र सूर्यास्तकासाथै काठमाडौं उपत्यका पनि छर्लंग देखिन्छ । पुस–माघमा त्यहाँ हिउँ पर्छ ।

फूल्चोकीमा वैशाख १ गते मेला लाग्छ । चैत–बैशाखमा फूल्चोकीको बाटैभरी रंगीविरंगी गुराँस फूल्छ । बाटामा काफल र एेंसेलु पनि हुन्छ ।

फूल्चोकी हाइकिङ ललितपुरको गोदावरीबाट सुरु गर्ने । त्यहाँबाट फूल्चोकी जाने दुई बाटा छन् । पहिलो नौधाराबाट जंगलको ठाडो बाटो र दोस्रो कुण्डबाट कच्ची मोटर गुड्ने बाटो । झरी पर्दा तेर्सो बाटोमा हिँड्ने र अरुबेला गोरेटोमा ।   
कुण्डबाट २ घन्टामा चापाखर्क पुगिन्छ । खर्कमा चौबाटो छ, पूर्व ओरालो झरे काभ्रेको ¥याले पुगिन्छ । उत्तर लागे कोटडाँडा, पश्चिम झरे गोदावरी । खर्कबाट दक्षिण उकालो चढ्ने, २ घन्टामै फूलचोकी पुगिन्छ । फर्कंदा पश्चिम ओरालो झरेर गोदावरी नौधारासम्म हिँड्ने ।   

डाँडामा हवाइजहाज र टिभीलाई सिग्नल पठाउने टावर छन् । सैनिक क्याम्प पनि छ । होटल तथा रिसोर्ट छैनन्, सामान्य खाजा घर मात्र छ ।

कसरी पुग्ने :  काठमाडौं–गोदावरी १५ किमि । लगनखेल बसपार्कमा गोदावरी जाने गाडी पाइन्छ । गोदावरीकुण्डबाट पिकनिक स्पट, चापाखर्क हुँदै फुल्चोकी टप र टपबाट जंगलको गोरेटो ओरालो झरेर नौधारासम्म पदयात्रा । हाइकिङ दुरी १८ किमि । समय ८ घन्टा । जीप र मोटरबाइक फुल्चोकीसम्मै पुग्छ ।

बेथानचोक
महाभारत शृङखलाको अग्लो डाँडा हो काभ्रेपलाञ्चोकको बेथानचोक (३,०१८ मिटर) । त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, लाङटाङ, गौरीशंकर र सगरमाथासम्म देखिन्छ । मन्दिर, हिमाल र हरियाली हेर्न उपयुक्त गन्तव्य । सूर्योदय र सूर्यास्त त देखिने नै भयो ।

डाँडामा धर्मशाला बाहेक अन्य बस्ती छैन । त्यहाँ लोठ सल्लाको जंगल छ । मन्दिरमा नयाँ वर्ष र फागु पूर्णिमामा मेला लाग्छ । फागु मेलामा झाँक्रीहरुले ढ्याङग्रो ठोक्छन् । तिर्थालु रातभर मन्दिरमा जाग्राम बस्छन् ।

फलामेटार र ढुङखर्क साँधको डाँडामा नारायणको मन्दिर छ । डाँडामा साततले गुफा पनि छ । गुफाभित्र थरिथरिका आकृति छन् । डाँडामा पानी छैन । पानी लिन डेढ घन्टा तल ओर्लिनु पर्छ ।

बेथानचोक बेस क्याम्प गेल्डुङबजार दूध उत्पादनका लागि प्रख्यात छ । त्यहाँ खुवा पनि बनाइन्छ । ढुँखर्कलाई एग्रो टुरिज्म डेष्टिनेशनका रुपमा विकास गर्न सकिन्छ ।

गेल्डुङमा मुक्तेश्वर महादेव मन्दिर छ । बृद्धाश्रम पनि छ । त्यहाँ सामान्य खाजा घर र लज छन् । बेथानचोकमा बास बस्ने गरी जाँदा सिल्पिङ, व्याग, टेन्ट र खाना बोक्नु पर्छ ।

ललितपुरको प्रकृतिप्रेमि समूहले दक्षिणी ललितपुरको छपेली, माझखण्ड, गोटीखेल, कालेश्वर, बतासे डाँडा हुँदै बेथानचोकसम्मको पदमार्गलाई ‘हिलटप ट्रेक’ नामाकरण गरेको छ । यसरी तीन दिनको पदयात्रा पनि गर्न सकिन्छ ।   
कसरी पुग्ने : काठमाडौं–पनौती ३२ किमि । पनौती–ढुँखर्क १३ किमि । ढुँखर्क–बेथानचोक करिब ९ किमि । पनौती बसपार्कमा ढुँखर्क जाने बस पाइन्छ । तिनले डेढ–दुई घन्टामा गेल्डुङ बजार पु¥याउँछन् । गेल्डुङ बजारबाट ठाडो उकालोमा साँढे तीन घन्टा पदयात्रापछि बेथानचोक । पदयात्रा दुरी १८ किमि । समय ७ घन्टा ।

चम्पादेवी
चम्पादेवी पवित्र तिर्थस्थल हो । डाँडामा देवीको मन्दिर छ । चम्पादेवी (२,२५० मिटर)बाट चारैतिर रमणीय दृश्य देखिन्छ । पश्चिमदेखि पूर्वउत्तरसम्म हिमसृङखला देखिन्छ भने दक्षिणमा महाभारत सृङखला र दक्षिणकाली ।   

किंवदन्ती अनुसार भगवान मञ्जुश्री स्वयम्भु आउँदा साथमा दुइटी श्रीमती ल्याएका थिए । ती मध्ये एउटी मर्ददेवी (केशानी) जसलाई लक्ष्मी भनिन्छ र अर्की उपकेशानी (सरस्वती) थिए । त्यतिबेला काठमाडौं जलमग्न थियो । त्यसैले श्रीमतीलाई अग्ला डाँडामा बास गर्न पठाएर चोभारको डाँडालाई खड्गले काटेर पानी कटाएर काठमाडौंमा बस्ती बसाएको भनाई छ । उनले फूल्चोकी (२,८०० मिटर)मा केशानी र चम्पादेवी (२,३००मिटर)मा उपकेशानीलाई राखेका थिए ।

डाँडामा बुद्ध स्तुप छ । नयाँ वर्षको अघिल्लो दिन टौदहको पानी डाँडामा लगेर वैशाख १ गते तिर्थालुलाई बाँड्ने चलन छ ।  
चम्पादेवी पदयात्राका लागि दुइटा रुट छन् । पहिलो कीर्तिपुरको मच्छेगाउँबाट डाँडा चढेर देउरालीहुँदै चम्पादेवी पुग्ने । मच्छेगाउँको मच्छेनारायण दर्शन गरेर डाँडा चढ्ने । डाँडा चढ्नु अघि पुष्पलाल पार्क घुम्ने । ठाडो उकालो २ किमि चढे भञ्ज्याङ पुगिन्छ । भञ्ज्याङबाट २ किमि तेर्सो जंगलको बाटो हिँडे चम्पादेवी । चम्पादेवी चौरमा खाजा खाने । डाँडामा पसल छैन । चम्पादेवीबाट देउराली, बोसन हुँदै चाल्नाखेलसम्म पदयात्रा गर्ने ।  

अर्को रुट, टौदह घुमेर हात्तीवन, चाल्नाखेल, बोसनहुँदै देउराली पुग्ने । देउरालीबाट ढुँगे सिँढी करिब १ घन्टा चढे चम्पादेवी पुगिन्छ । त्यहाँबाट ठाडो ओरालो झरेर मातातीर्थसम्म पदयात्रा । पदयात्रा दुरी १२ किमि । समय ५ घन्टा ।

कसरी पुग्ने : रत्नपार्कबाट बल्खुहुँदै कीर्तिपुरसम्म गाडीमा । रत्नपार्क–कीर्तिपुर ९ किमि । कीर्तिपुरबाट बाघभैरब, भत्क्यापाटी, पुष्पलाल पार्क, जातीय संँग्रहालय जंगलको ठाडो उकालो भएर देउरालीहुँदै चम्पादेवी र त्यहाँबाट हात्तीवन देउराली, चम्पादेवी पाउहँुदै चान्लाखेलसम्म पदयात्रा । पदयात्रा दुरी १४ किमि । समय ६ घण्टा ।

नगरकोट
नगरकोट हिल स्टेशन हो । सूर्योदय, सूर्यास्त र हिमाल हेर्न कहलिएको डाँडो । जहाँबाट अन्नपूर्ण, गणेश, दोर्जे लाक्पा, लाङटाङदेखि सगरमाथा हिमालसम्मको लामो लर्कन देखिन्छ । शरीर र मन चंगा हुन्छ नगरकोटमा ।

काठमाडौंको उखरमाउलो गर्मी छल्न र डेटिङका लागि नगरकोट उपयुक्त गन्तव्य हो । काभे्रपलाञ्चोकको टुकुचा तथा नाल्दुम र भक्तपुरको नगरकोट क्षेत्र समुच्चलाई नगरकोट (२,१९५ मिटर) भनिन्छ । ध्यान, योग र अध्यात्मिक गतिविधिका लागि नगरकोट उपयुक्त छ ।

हाइकिङ र माउन्टेन बाइकिङमा साँखु, धुलिखेल, चाँगुनारायण र चिसोपानीसम्म पुग्न सकिन्छ । नगरकोटमा हस्तकला बेच्ने पसल छन् । आधुनिक होटल तथा रिसोर्ट छन् । तर, काठमाडौंदेखि नगरकोटसम्म सोझै बस सेवा छैन ।

नगरकोट पदयात्रा गर्दा तेलकोट (१,६०० मिटर) भञ्ज्याङबाट गर्नु राम्रो हुन्छ । त्यहाँबाट दुई घन्टामा नगरकोट पुगिन्छ । तेलकोटबाट नगरकोट बजारसम्म हाइकिङ दुरी करिब ६ किमि । हिँड्न दुई घन्टा । मोटर बाटोबाट जाँदा चाहिँ ८ किमि हुन्छ । नगरकोट बजारदेखि टावरसम्म दुरी ३ किमि छ ।

हाइकिङ रुटमा तेलकोट, जाल्पादेवी, डाँडाटोल, पिपलबोट, गडगडे हुँदै भट्टेडाँडा (नगरकोट बजार) पुगिन्छ । यी गाउँमा तामाङ र नेवारको बसोबास छ । गाउँमा खाजा पसल छन् । यो रुटमा कतै गोरेटो त कतै सडकमा हिँड्नु पर्छ ।  
कसरी पुग्ने : काठमाडौंको कोटेश्वरबाट १९ किमिमा तेलकोट भञ्ज्याङ । तेलकोटबाट ११ किमिमा नगरकोट टावर । तेलकोटबाट हाइकिङ । हाइकिङ दुरी ९ किमि । समय ३ घन्टा । नगरकोटसम्म भक्तपुरको कमल विनायकबाट गाडी गुड्छन् । काठमाडौंको बागबजारबाट भक्तपुरको कमलविनायकसम्म सार्बजनिक बस चल्छन् । काठमाडौं–नगरकोट ३३ किमि ।

 

शिवपुरी
उपत्यकाको उत्तरी डाँडो शिवपुरी (२,७३२ मिटर) । काठमाडौंमा बस्नेहरुको पानी मुहान शिवपुरी । वागमति, विष्णुमतिका साथै अरु खोलाबाट पानी संकलन गरी काठमाडौं ल्याइएको छ । शिवपुरीमा जैबिक विविधता अध्ययन गर्न सकिन्छ।

शिवपुरी पदयात्राको प्रस्थानविन्दु बुढानिलकण्ठ । बुढानिलकण्ठमा भगवान बिष्णुको सुतिरहेको मूर्ति छ । बुढानिलकण्ठबाट पानीमुहान २ किमि । मुहान निकुञ्जको प्रबेशद्वार हो । मुहानबाट शिबपुरी पुग्ने दुई बाटा छन् । पश्चिम जंगलको ठाडो बाटो भएर थाप्लोमा पुग्ने अनि बागद्वार, नागी गुम्बा हुँदै फर्कने । अर्को मोटरबाटो हुँदै नागी गुम्बा, बागद्वार भएर डाँडामा पुग्ने र ठाडो ओरालो झर्ने । थाप्लोमा पुग्न मुहानबाट ठाडो उकालोे ४ किमि हिँडे पुग्छ भने तेर्सो बाटो ८.१ किमि छ । जुन बाटो जाँदा पनि उकालो उक्लन चार घण्टा र ओर्लन दुई देखि तीन घण्टा लाग्छ ।

हाइकिङ ठाडो उकालोबाट सुरु गर्ने । घना जंगल, दायाँ बायाँ हरिया रुखहरु, बीचमा ढुँगा ओछ्याइएको ठाडो उकालो । ठाडो उकालो तीन घण्टा उक्लेपछि पुगिन्छ शिबपुरी टप । शिवपुरी बाबाले तपस्या गरेको पूण्य भूमिमा पुग्दा मनमा शान्ति छाउँछ।

डाँडाबाट उत्तरमा मुस्कुराइरहेका हिमाल देखिन्छन् भने मुन्तिर नुवाकोटका वस्ती । पूर्वतिर चपली भद्रकाली र नगरकोट देखिन्छ । डाँडामा बसेर खाजा खाने । त्यहाँ पसल छैन, खाजा आफैं बोक्नु पर्छ ।

शिवपुरी टपबाट १.१ किमी दुरीमा छ बागमतिको मुहान बागद्वार (२,४७५ मिटर) । बागद्वारमा बाघको मुखबाट पानी निस्किरहन्छ । बागद्घारबाट २ घण्टामा नागी गुम्बा (१,९,००मिटर) पुगिन्छ । गुम्बाबाट पानीमुहान हुँदै बुढानिलकण्ठसम्म पदयात्रा गर्ने ।

कसरी पुग्ने : काठमाडौबाट पानी मुहानसम्म बसमा १४ किमि । बुढानिलकण्ठबाट पानीमुहान र मुहानबाट ठाडो उकालो चढेर शिवपुरी टप पुग्ने । टपबाट बागद्घार, नागी गुम्बा हँुदै पानीमुहानसम्म पदयात्रा । पदयात्रा दुरी १६ किमि । समय ७ घन्टा ।

भालेश्वर
झलमल्ल हिमालको मुनि उपत्यकाको पुरा दृष्य । सलाईका बट्टा जस्ता देखिन्छन् घरहरु ।  भालेश्वर (२,५००मिटर) आकर्षक छ । त्यहाँ तीन तले प्यागोडा शैलीको मन्दिर छ । त्यसभित्र छन् भालेश्वरको प्राचीन शीला । पहिला खुला आकाशमुनि थिए महादेव । केबलकार सञ्चालकले मन्दिर बनाएर भित्र शिला राखेका।     

काठमाडौंबाट मात्र १९ किमि दुरी दक्षिणमा अबस्थित भालेश्वर प्रख्यात तिर्थ हो । डाँडाबाट चारैतिर राम्रो दृश्य देखिन्छ । पूर्वमा काठमाडौं उपत्यका, पश्चिममा मकवानपुरको चित्लाङ, उत्तरमा हिमाली सृङखला र दक्षिणमा चखेल दामन एवं महाभारत पर्वत छन्।

भालेश्वरसंग बडामहाराज पृथ्वीनारायण शाहको सन्दर्भ जोडिएको छ । उनले चन्द्रागिरीबाट सुन्दर उपत्यका देखेपछि भालेश्वर आएर मनकामना गरेछन् । पछि यही बाटो भएर काठमाडौं आक्रमण गरि जितेका थिए।

भालेश्वरमा केबलकार छ । अढाइ किमि लामो केबलकारमा थानकोटबाट भालेश्वर पुग्न १० मिनेट लाग्छ । भालेश्वरसम्मै मोटर बाटो पुगेको छ । थानकोट पछाडि गोदामबाट गाडी चल्छन् । डाँडामा रिसोर्ट, पार्क र होटल छन् ।

हाइकिङ गोदामबाट सुरु गर्ने । गोदामबाट जंगलको उकालो चढ्ने । त्यहाँबाट चन्द्रागिरी भञ्ज्याङ पुग्ने दुई बाटा छन्, मोटरेबल सडक र ठाडो गोरेटो । गोदामबाट चन्द्रागिरी ठाडो उकालो ३.८ किमि र मोटर बाटो ४.५ किमि । गोदामबाट दुई घन्टा लाग्छ भञ्ज्याङ (२,२५०मिटर) पुग्न।

भञ्ज्याङमा बौद्ध स्तुप छ । भञ्ज्याङ माथि चौरमा बसेर खाजा खाने । भञ्ज्याङको दक्षिणमा ३ किमि दुरीमा छन् भालेश्वर । त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो दृश्य देखिन्छ।

मच्छेगाउँबाट चम्पादेवी डाँडा भएर भस्मेश्वर हुँदै चखेल देउरालीबाट भालेश्वर आउन पनि सकिन्छ । भालेश्वरमा बस्ती छैन, बस्ती पुग्न २ किमि झरेर चखेल पुग्नुपर्छ । चखेलबाट पूर्व ओरालो झरेर मातातिर्थसम्म पदयात्रा गर्ने ।  

कसरी पुग्ने : काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधाराहुँदै थानकोट गोदामसम्म १५ किमि गाडीमा । गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै भालेश्वर र भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा । पदयात्रा दुरी : १६ किमि । समय ७ घन्टा ।

 

प्रकाशित: २० माघ २०७४ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App