७ वैशाख २०८१ शुक्रबार
कला

तरुलको स्वाद लिँदै कला चिन्तन

कलावती आर्ट काउन्सिलले गैंडाकोटमा राखेको तरुल सत्कार र कला विमर्शका सहभागीहरू ।

चितवन -बिक्री हुन्छ धेरै जसो चित्रकला प्रदर्शनी काठमाडौंमै हुने गर्छन् र धेरैजसो कलाकारले पनि काठमाडौंलाई नै कर्मथलो बनाएको देखिन्छ । तर काठमाडौं बाहिर पनि प्रशस्तै कलाकार छन् र हालका दिनमा मोफसलमा पनि चित्रकला सम्बन्धि कार्यक्रमहरू हुन थालेका छन् भने प्रदर्शनी आयोजना गर्नु पनि अब गाह्रो कुरा रहेन । त्यस्ता प्रदर्शनीमा पनि कालकारको सिर्जना राम्रै मूल्यमा  बिक्री हुन्छ  ।

नवलपुरको गैंडाकोटमा रहेको कलावती आर्ट काउन्सिलका सञ्चालक भीमप्रसाद शर्माले पछिल्ला वर्षहरूमा यस्तो अनुभव गर्न थालेका छन् । माघे संक्रान्तिमा तरुल, सखरखण्ड र खिचडी खाने चलन छ । चित्रकार शर्माले मंगलबार आफ्नो आर्ट ग्यालेरीमा चित्रकार, साहित्यकारहरूको जमघट राखे । पाहुनाहरूको सत्कारमा संक्रान्तिको खान्की पस्किए ।

संक्रान्तिको स्वाद लिँदै ग्यालेरीमा कलाका बारेमा चिन्तन मन्थन भयो । ‘कुनै बेला त निरास भइसकेको थिएँ । तर पछिल्लो समय चित्रकारिताबाट उत्साहित छु,’ शर्माले कुरा सुरु गरे । कलावती आर्ट काउन्सिलले गत वर्ष मार्च २२ मा नवलपुर अमरापुरीमा ‘नेचर आर्ट फेस्टिबल’ आयोजना ग¥यो । जहाँ देश विदेशका चित्रकारहरू भेला भएर कला सिर्जना गरे ।

त्यस्तै अगस्ट १९ देखि २३ सम्म गैंडाकोटमा कला प्रदर्शनी आयोजना गर्यो । जहाँ १० लाख रुपैयाँका चित्र बिक्री भए । ७० हजार रुपैयाँ मूल्यका चित्र पनि बिक्री भए । एकैजनाले डेढ लाख रुपैयाँसम्मका चित्र किने । ‘गतिविधि नगरेर पो रहेछ । केही न केही गर्ने हो भने कला बिक्री हुन सक्दो रहेछ,’ शर्माले भने । गत वर्ष नै नारायणगढमा कलाकार प्रकाश थापा ‘प्रथा’ले पत्रकारहरूको क्यारिकेचर चित्रको प्रदर्शनी राखे ।
‘हो केही गरिराखे र केही फरक गरे हाम्रो कलाका बारेमा सर्वसाधरण पनि जिज्ञासु हुन्छन् । कलासँग नजिक हुन्छन्,’ शर्माको निम्तो मान्न पुगेका कलाकार ‘प्रथा’ले थपे । काठमाडौं बाहिर कला सम्बन्धी ठूला कार्यक्रम हुनु र प्रदर्शनीमा लाखौंका चित्र बिक्री हुनु सामान्य कुरा नभएको प्रथाले बताए । यस्तो गतिविधिले सबै कलाकारलाई हौसला मिल्ने उनको भनाइ थियो ।

‘हो कलाकारले आफ्ना तर्फबाट सक्ने पनि गर्नुपर्छ तर उनीहरूको होस्टेमा हैंसे गर्न सरकार पनि आउनुपर्छ । अब स्थानीय सरकार वा प्रदेश सरकारले कलाकारको उत्थानका विषयमा सोच्नै पर्छ,’ चित्रकारसमेत रहेको सुपरिचित साहित्यकार गोविन्दराज विनोदीले सो जमघटमा आफ्नो भनाइ राखे । घर बनाउँदा नगरपालिकाले नक्सा पास गर्छ । घरमा चित्र राख्नुस है भनेर नगरपालिकाले भने राम्रो हुने उनले बताए ।
‘यसका लागि नक्सा बनाउने इन्जिनियरहरुले पनि ध्यान दिनु पर्ला कि ।

त्यसो त नेपालीले आफ्नो घरको भित्तामा सस्तो पोस्टरै भए पनि टाँस्ने गर्छन् । अल्लि राम्रो चित्र राख्ने वातावरण बनाउन सके उत्तम हुने थियो,’ साहित्यकार विनोदीले भने । चित्रले मान्छेको मनमा सकारात्मक भावना जगाउने हुँदा घर घरमा चित्र राख्नु बेकारको कुरा होइन भनेर बुझाउन सबैले पहल गर्नुपर्ने उनले बताए ।

‘भित्तामा चित्र राख्नु भनेको चानचुने कुरा हैन नि । प्रकृतिलाई कोठामा पुर्याउने अभियान हो,’ विनोदीले भने । चित्रकारिताको व्यवसायिक विकासका लागि सरकारले नै योजना ल्याउनुपर्नेमा प्रथा पनि सहमत छन् । ‘हो मान्छेले चित्र खोज्न थालेका छन् । तर सिर्जनाको मर्म र मूल्य अझै सकेका छैनन् । मलाई कोठाको रंगसँग मिल्दो चित्र चाहियो भन्छन् । चित्र त राम्रो रहेछ तर कोठाको पर्दाको रंगसँग मिलेन भन्छन्’ उनले भने ।

अक्षर समूहका अध्यक्ष साहित्यकार ईश्वर कँडेल स्थानीय र प्रदेश सरकार बन्न लागेका बेला साहित्य र कालको उत्थानका सर्जकले दवाव दिनु आवश्यक भएको बताए । ‘जसले केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दैछन् तिनले अब कला साहित्यको उत्थान गर्ने ठोस योजना ल्याउनु पर्यो,’ कँडेलले भने ।
कार्यत्रमका सहभागी भीमप्रसाद शर्माले भने, ‘सबैले सर सहयोग गर्नुपर्छ । एक्लै अगाडी बढ्न सकिन्न । सिर्जनाको महत्व बुझाउने काम सजिलो छैन । पहिलो कुरा  हामी नै सक्रिय हुनु पर्छ । अरुको साथ सहयोग पनि उत्तिकै चाहिन्छ ।’ उनले यो वर्ष पनि एउटा चरा र वन्यजन्तुसम्बन्धी र अर्को बुद्धसम्बन्धी चित्रकला प्रदर्शनी गर्न लागेको जानकारी दिए ।

 

 

प्रकाशित: ४ माघ २०७४ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App