३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित

लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।

सर्वनाम नाट्य कालिकास्थानमा आयोजित उक्त कार्यक्रममा लघुकथाकार केसीलाई एक्काइस हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका संस्थापक अध्यक्ष एवं स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले केसीलाई सम्मान तथा पुरस्कार अर्पण गरे। 

लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सदस्य एवं पत्रकार राजेश खनालले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा समाजका सल्लाहकार, समीक्षक प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, वरिष्ठ नाटककार अशेष मल्ल, ब्राह्मणका सुपुत्र मनोज शर्मा, मुरारि सिग्देल,समालोचक डा. शेखरकुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

श्रीबाबु कार्कीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्तरीको दशकपछि मुहार पुस्तिकाको माध्यमबाट लता केसीले लघुकथाको प्रचारप्रसार गर्नुका साथै नारी लघुकथाकारमध्ये सबैभन्दा धेरै लघुकथा कृति निकालेर लघुकथाको विकासमा योगदान गरेका कारण समाजले सम्मान गरेको बताए।

कार्यक्रममा अशेष मल्लले लघुकथा लेखन मात्र ठूलो नभई पाठक महत्त्वपूर्ण रहेको बताउँदै पाठकले लघुकथाका कृति खोजेर पढ्न लालायित बनाउने कृतिको अपेक्षा रहेको बताए।

त्यसै गरी कार्यक्रममा प्राडा गौतमले सम्मानित स्रष्टाको कार्यलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै लता केसीको कार्य प्रशंसनीय रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि भागीरथि श्रेष्ठले श्रीओम रोदनको व्यक्तिगत लगानीबाट स्थापित पूर्णप्रसाद ब्राह्मण पुरस्कारले लघुकथाकारलाई प्रोत्साहित गरेर लघुकथा समाज नेपालले स्तुत्य कार्य गरेको बताइन्।

सोही कार्यक्रममा लघुकथा समाज, कोसी प्रदेशले पाक्षिक रूपमा सञ्चालन गरेको लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारहरूलाई सम्मान गरिएको थियो।

उक्त सम्मान कार्यक्रम लघुकथा समाज कोसी प्रदेशका अध्यक्ष ममता मृदुलको संयोजकत्वमा भएको थियो। लघुकथा समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए।

सम्मान ग्रहणपछि बोल्दै लता केसीले आफूले निरन्तर गरेको कामको मूल्यांकन हुँदा खुसी लागेको बताइन्। उनले सम्मान पाउँदा खुसी लागेको उल्लेख गर्दै खुसीभन्दा धेरै जिम्मेवारी बढेको पनि बताइन्।

यो पुरस्कार समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठले पूर्णप्रसाद ब्राह्मणको नाममा स्थापना गरेका हुन्। ब्राह्मणले २००७ सालमा नै लघुकथाको पहिलो कृति प्रकाशित गरेकाले उनलाई लघुकथाका संस्थापक मानिन्छ।

उक्त पुरस्कार यसअघि सर्वनाम नाटक घर र वरिष्ठ आख्यानकार अनिता तुलाधरलाई प्रदान गरिएको थियो।

दोस्रो चरणमा लघुकथाकार लता केसीको दुई लघुकथा ’दृश्य’ र ’विधवा’ मन्चन पनि गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०८० १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App