२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जुम्लामा निर्वाचन प्रहरीमा दोब्बर आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीलाई आवेदन परेको छ।  

कोटा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ९ सय ७४ जना निर्वाचन प्रहरी आवश्यक पर्नेमा १ हजार ८ सय १८ जनाले दरखास्त दिएका हुन्। जिल्लामा नेपाल प्रहरीका ८ सय ७८ र सशस्त्र प्रहरी बलका ९६ जना भर्ना गर्ने कोटा तोकिएको छ।  

जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार आवेदन दिनेमा ६ सय ५८ जना महिला र १ हजार १ सय ६० जना पुरुष छन्। जाडो बिदा र व्यापारका सिलसिलामा केही युवा कालापहाड झरेका कारण संख्या अपेक्षाभन्दा घटेको उनले बताए।

आवेदक अधिकांश २५ देखि ३५ वर्ष उमेर समूहका छन्। कोटाभन्दा कम आवेदन परेका जिल्लामा दुई दिन म्याद थपिए पनि जुम्लाका लागि म्याद थप आवश्यक नरहेको रेग्मीले बताए।  

उनका अनुसार माघ ५ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ। लिखित र मौखिक परीक्षा गरी माघ ९ गतेसम्म छनोट सक्ने तालिका बनाइएको छ। निर्वाचन प्रहरीमा यसअघि निर्वाचनमा काम गरेका म्याद प्रहरीदेखि भूतपूर्व प्रहरीसम्मले आवेदन दिएका छन्।  

कर्णाली प्रदेशका १० जिल्लामा निर्वाचन प्रहरीका लागि कुल १८ हजार १ सय ६४ जनाले आवेदन दिएका छन्। यसमध्ये नेपाल प्रहरीका १७ हजार ३२ र सशस्त्र प्रहरी बलका १ हजार १ सय ३२ जना छन्। प्रदेशभर निर्वाचन प्रहरीको कोटा १० हजार ७ सय ५२ रहेको छ। जसमा नेपाल प्रहरी ९ हजार ७ सय ७३ र सशस्त्र प्रहरी बल १ हजार ९ जना छन्।  

आवेदन खुलाइएको ७ दिनमै कोटाभन्दा दोब्बरभन्दा बढी आवेदन परेको हो। अन्य जिल्लाको तुलनामा सुर्खेतमा कोटाभन्दा दोब्बर बढी आवेदन परेको छ। तर हुल्लामा सशस्त्र प्रहरी बलका लागि मागिएको ४६ जनामा एकजनाको पनि आवेदन परेको छैन। दैलेखमा १ सय ७९ जना माग हुँदा दुई जनाले मात्रै आवेदन दिएका छन्। निर्वाचन प्रहरीको सेवा अवधि ४० दिन रहने छ।

 

प्रकाशित: ४ माघ २०८२ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App