४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

सत्ता... सत्ता...

व्यंग्य

नेपाली दर्शकहरू मैदानमै खेल हेरेर रमाइरहेका हुन्छन्, तिनीहरू नेपाली खेलाडीले गरेको प्रत्येक ‘ब्याटिङ’मा चिच्याइरहेका देखिन्छन्–‘छक्का... छक्का...!’ उता मैदानमा जति जति ‘छक्का... छक्का...’को आवाज आउँछ, उति उति यता देशभित्र ‘छक्का’ भन्दा एक कदम अघि बढेर ‘सत्ता’को चलखेल बढिरहेको देखिन्छ।

अरू देशमा जस्तै नेपालको पनि राष्ट्रिय खेल छ। तर, अधिकांश नेपालीलाई थाहा छैन, नेपालको राष्ट्रिय खेलको नाम के हो? के, तपाईं भन्न सक्नुहुन्छ? सायद तपाईंलाई पनि थाहा छैन।

विश्वभरका देशहरूको राष्ट्रिय खेलमा मान्छे लडाउने खालका कतै कपर्दी, भालेजुधाइजस्ता पारम्परिक खेलहरू छन् भने धेरै देशमा त्यस्तै जसरी पनि मान्छे नै लडाउने जुडो, कराँते, बक्सिङ, कुस्तीजस्ता खेलहरू छन् भने कतिपय देशहरूमा दौडेर, उफ्रेर, पौडेर, गुडेर खेल्ने फुटबल, भलिबल, बास्केटबल, बेसबल, स्विमिङ, साइक्लिङ, एथ्लेटिक्सलगायतका खेलहरू छन्।

तर, हाम्रो राष्ट्रिय खेल भने अन्य देशका भन्दा बिल्कुलै भिन्न छ। के होला हाम्रो राष्ट्रिय खेलको नाम? भन्नुस् त! हो, त्यो खेलको नाम हो–डन्डीबियो। तर, आजको पुस्ताले यो खेलको नाम सुनेको पनि छैन होला। त्यसमाथि अब झन् खेल कस्तो होला भनेर त के थाहा पाउनु? कस्तो हुन्छ डन्डीबियो? कसरी खेलिन्छ यो?

त्यसो त, आफ्नो राष्ट्रिय खेलसँग निश्चितरूपले परिचित नभए पनि प्रायःले अनुमान गरेर भन्ने गरेका छन्–‘नेपालको राष्ट्रिय खेलको नाम खुट्टा तान्ने खेल हो कि!’ हुन पनि त्यो डन्डीबियोको अभ्यास वा प्रणाली हराइसकेको स्थितिमा र हामी नेपालीको चरित्रसँग सुहाउँदो खुट्टा तान्ने खेललाई देशको राष्ट्रिय खेल भन्नु स्वाभाविक नै छ।

अरू देशमा जस्तै नेपालको पनि राष्ट्रिय खेल छ। तर, अधिकांश नेपालीलाई थाहा छैन, नेपालको राष्ट्रिय खेलको नाम के हो? के, तपाईं भन्न सक्नुहुन्छ? सायद तपाईंलाई पनि थाहा छैन।

साँच्चै नै भन्ने हो भने नामसमेत विस्थापित भइसकेको डन्डीबियोलाई हटाएर ‘खुट्टा तान्ने खेल’लाई नै राष्ट्रिय खेलका रूपमा मान्यता दिने हो भने के फरक पर्छ र? यदि त्यो मान्यता संविधानमार्फत स्थापित गर्ने हो भने आफ्नो अधिकारलाई मजाले उपभोग गर्न पाउने आजको यो गणतान्त्रिक नेपालमा नागरिकहरू पक्कै खुसी हुने कुरामा दुईमत छैन।

प्रसङ्ग खेलको। खेलको दुनियाँमा फुटबल सबैभन्दा लोकप्रिय रहिआएको छ। तर, हिजोआज फुटबलका अलावा क्रिकेट पनि उत्तिकै लोकप्रिय बन्दै गइरहेको छ। सबैलाई थाहा भएकै कुरो हो, क्रिकेटको हारजित ‘रन’का आधारमा हुन्छ। अर्थात्, खेलको मुख्य प्वाइन्ट भनेको ‘रन’ हो। दुई टिमबीच हुने प्रतिस्पर्धामा जसले बढी रन हासिल गर्न सक्यो, त्यही रनका आधारमा एक टिम विजेता घोषित हुन्छ। तर, बुझ्नुपर्ने कुरो के छ भने रन भनेको दौडेर लिइने मात्रै भनेर बुझ्नुहुँदैन। यस अर्थमा, दौडेर लिइएको रनमा मात्रै जितको सीमा तोकिएको हुन्न, त्यसमा ‘चौका’ र अझ त्यसभन्दा अघि बढ्दै ‘छक्का’ प्रहार गरिएको रनको झन् सबैभन्दा बढी महत्व हुन्छ।

अहिले खेल–दुनियाँसँग विश्वका सबै देश र मानिस जोडिएका छन्। जो खेल्दैन वा जो खेल हेर्दैन, ऊ सिङ वा पुच्छर नभएको पशु बराबर हुन्छ। चाहे खेलाडी होऊन् वा खेलप्रेमी, खास गरेर क्रिकेट–खेलसँग प्रायः मान्छेहरू आबद्ध वा आकर्षित छन्। नेपाल र नेपाली पनि क्रिकेटको दुनियाँबाट अछुत छैनन्।

साँच्चै नै भन्ने हो भने नामसमेत विस्थापित भइसकेको डन्डीबियोलाई हटाएर ‘खुट्टा तान्ने खेल’लाई नै राष्ट्रिय खेलका रूपमा मान्यता दिने हो भने के फरक पर्छ र? यदि त्यो मान्यता संविधानमार्फत स्थापित गर्ने हो भने आफ्नो अधिकारलाई मजाले उपभोग गर्न पाउने आजको यो गणतान्त्रिक नेपालमा नागरिकहरू पक्कै खुसी हुने कुरामा दुईमत छैन।

वास्तवमा नेपाली खेलाडीहरूले क्रिकेटमा अचानक छलाङ मारेको अवस्था छ अहिले। नेपालभित्रै खेल्दा निकै प्रतिष्ठित विदेशका टिमलाई पनि जित्न लागेका छन्। त्यति मात्रै होइन, विदेशी भूमिमै गएर पनि विदेशी टिमहरूमाथि विजय हासिल गर्दै गइरहेका छन्। र, टेलिभिजनबाट गरिएका प्रत्यक्ष प्रसारणमा ती खेलहरू नेपालीहरूले जहाँ बसेर हेरिरहेका हुन्छन्–त्यहाँ मजाले रमाइरहेका देखिन्छन्। अझ रोमाञ्चित कुरो त के छ भने, जो नेपाली दर्शकहरू मैदानमै खेल हेरेर रमाइरहेका हुन्छन्, तिनीहरू नेपाली खेलाडीले गरेको प्रत्येक ‘ब्याटिङ’मा चिच्याइरहेका देखिन्छन्– ‘छक्का... छक्का... !’

अब हेरौं यहींनिर झन् बढी रमाइलो कुरो!

उता मैदानमा जति जति ‘छक्का... छक्का...’को आवाज आउँछ, उति उति यता देशभित्र ‘छक्का’ भन्दा एक कदम अघि बढेर ‘सत्ता’को चलखेल बढिरहेको देखिन्छ।

कति प्रिय छ सत्ता!

सत्ता चलाउने महोदयहरू सत्ता चलाइराख्नका लागि जुनसुकै मूल्य चुकाउन तयार हुनुहुन्छ, चाहे गठबन्धन बदलेर नै किन नहोस्! अर्कोतर्फ, हुँदाहुँदैको सत्ता भत्काएर बिल्कुल नयाँ सत्ता स्थापना गर्न सत्ताबाहिरकाहरू उत्तिकै चुलबुल गरिरहेका भेटिनुहुन्छ। गजबकै हुँदो रहेछ सत्ताका आकांक्षीहरूको चालामाला!

देखिराखिएको छ, सत्ताका लागि उहाँहरू मरिमेटिइरहनु भएको छ।

– दिन भन्नु हुन्न, रात भन्नु हुन्न,

– हिँडिरहँदा, बसिरहँदा... कहीं गफ गरिरहँदा

– सभा–समारोहहरूमा... यत्रतत्र... जता पनि सत्ताकै तानाबाना बुनिरहनुहुन्छ। यतिसम्म कि सुतिरहेको बेला, सपनै पनि सत्ताकै देखिरहनुहुन्छ।

हुन त, अलकत्रा पनि नछोड्ने चरित्रमा हुर्कनुभएका उहाँहरू सत्ताको त बास्नाबाटै चलायमान बनिहाल्नुहुन्छ।

– संविधानको धारै परिवर्तन गरेर हुन्छ कि!

– नागरिकता बेच्नुपर्छ भने त्यो पनि सही

– सीमा हस्तान्तरण गर्नुपर्छ भने त्यो पनि ठिक ! आखिर सत्ता हत्याउनु हो, त्यसका लागि जेसुकै गर्न पनि तयार ! यस्तोमा अब कसैले कुनै प्रश्न वा जिज्ञासा उठाउन के खाँचो? इमानदारी बन्धकमा राखेर भए पनि वा नैतिकतालाई लिलाममा राखेर, सत्ताका लागि दौडनेहरूका लागि कुनै प्रश्न वा जिज्ञासाको केही अर्थ हुन्न।

–आँधी आएर कतै झुपडी उडाओस् कि!

–बाढी आएर कुनै बस्ती डुबाओस् या गाउँ नै बगाओस्

–अथवा, भुइँचालो आएर जमिन भासिए पनि भासियोस्! सत्तामा आँखा गढेपछि ती आँखा सामान्य रहँदैनन्। धृतराष्ट्रका जस्ता हुन्छन्, एकोहोरा! अरू केही देख्दैनन्, देख्छन् त हस्तिनापुर राज्य! राज्यमा आफ्नो सत्ता..., केवल सत्ता... सत्ता...।

त्यसो त, इतिहास नै हेरौं न! यहाँको राज्यमा सत्ता टिकाउन के मात्रै गरिएको छैन? कोतपर्वजस्तो जघन्य रक्तपातपूर्ण आधारशीलामा सत्ता हत्याइएको इतिहास यहींको होइन र?

– फेरि कहिले निषेधाज्ञा जारी गरेर भए पनि,

– फेरि टेलिफोन–इन्टरनेट काटेर भए पनि,

–कहिले महँगो मासुको भाउमा जिउँदा सांसद किनबेच गरेर वा

– कुनै सांसदलाई रासलीलामा मस्त बनाएर..., त्यस्ता इतिहासले डोर्‍याएर यहाँसम्म ल्याएको राज्य न हो यो। त्यसैले हो कि, तिनै इतिहासबाट पाठ सिकेर उहाँहरूले जसरी पनि सत्ता थेग्नुपर्छ भन्ने अभिभारा लिइरहनुभएको?  

प्रकाशित: १३ श्रावण २०८० ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App