१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

आख्यान र जीवनीको संयोजन

पुस्तक

टाढा टाढा एउटा गाउँमा

बाजे–बराजु मरेकै ठाउँमा

म पनि अचानक अस्ति खसेको छु

त्यसैले आफू आफ्नै किरिया बसेको छु

ए! नआओ कोही बोलाउन मलाई

मभित्र आफ्नै कोलाहल छ

निषेधै निषेधको कोरा बारी बसेको छु

आफ्नै वियोग–वेदनाको हलालल छ’

उल्लिखित कविताका पंक्तिहरू भैरव अर्यालका हुन्। जुन अर्यालले मृत्यु हुनुअघि एउटा किताबको गाताको चौथो पृष्ठमा लेख्नुभएको थियो (‘शाश्वत व्यङ्ग्य शिल्पी’, सम्पादक रोचक घिमिरे, भैरव पुरस्कार गुठी, २०७५) ।

कविताका पंक्तिहरू अर्यालकै हस्ताक्षरमा ‘शाश्वत व्यङ्ग्य शिल्पी’ मा प्रकाशित छन्। कृति पढिन्छ। स्मृतिमा रहिराख्दैन, विस्मृतिमा हुन्छ। भैरवको सिङ्गो जीवनलाई समेटेर लेखेको प्रोल्लास सिन्धुलीयको कृति ‘भग्न भैरव’ हातमा पर्‍यो। त्यसपछि सम्झना भयो, शाश्वत व्यङ्ग्य शिल्पीको।

कविता त पढिँदैन भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी ? यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको।

कृतज्ञता, आदर, सम्मानजस्ता कुराहरू अधिकार नभएर कर्तव्य हो भन्ने ठान्छु। यस अर्थमा प्रोल्लास सिन्धुलीय अत्यन्त भावुक, जिज्ञासु, सरल, पूर्वजप्रति श्रद्धा, आस्था र निष्ठा भएका एक कृतज्ञ पुस्ताका प्रतिनिधि पात्र हुन्। त्यस्ता दुर्लभ मानवीय गुण नभएको भए सायद भग्न भैरवको जन्म हुने नै थिएन। अर्यालले धरती छाडेकै लगभग आधा शताब्दी पुग्न लागेको छ। त्यस्तो समयमा यस्तो कृति आउनु चानचुने र सामान्य कुरो होइन।

जीवनी नै नलेखेर यस्तो कृति लेख्नुको कारणमा सिन्धुलीयको भनाइ छ-अहिलेको समाजमा पठन संस्कृति र अचेलको नयाँ पुस्ताले भैरव अर्याललाई महसुस गरून् भन्ने चाहने हो भने जीवनी लेख्न थालेर भो त।

कविता त पढिँदैनन् भन्छन्, कतिले पढ्लान् यौटा साहित्यकारको रुखोसुखो जीवनी। यो उपन्यास वा कथा हो भनेपछि बल्ल किताबतिर हात जान्छ नयाँ पुस्ताको। यसरी जीवनी र आख्यानको संयोजन भएर ‘भग्न भैरव’ पाठकसामु आएको छ। नेपाली साहित्यको इतिहासमा यस किसिमको नौलो प्रयोग सम्भवतः पहिलो हो भन्ने लाग्छ। यस सम्बन्धमा समालोचकीय दृष्टिकोण आउने नै छन्। स्रष्टाको हातबाट पाठककहाँ पुगिसकेको छ। जीवन स्वयम् नै आफूले आफैलाई पढ्ने कृति हो। त्यसैले पूर्वीय दर्शनमा ‘म को हुँ’ भन्ने जान्ने प्रयास गर्नु वा आत्म साक्षात्कार गर्नु भनिएको हो।

जीवनी नै नलेखेर यस्तो कृति लेख्नुको कारणमा सिन्धुलीयको भनाइ छ– अहिलेको समाजमा पठन संस्कृति र अचेलको नयाँ पुस्ताले भैरव अर्याललाई महसुस गरून् भन्ने चाहने हो भने जीवनी लेख्न थालेर भो त।

कहिलेकाहिँ पढेका केही कृतिले मन यसरी बिथोलिन्छ, पिरोलिन्छ, त्यसको असर धेरै दिनसम्म रहिरहन्छ। पाठकलाई त्यसरी पगाल्न सक्नु, उद्वेलित पार्नु स्रष्टाको सफलता हो।

 रसियन साहित्यकार लियो टोल्सटायको ‘पुनरुत्थान’ भन्ने कृतिकी महिला पात्रको नियतिले धेरै दिनसम्म मनलाई चिमोटिरह्यो, दुःखी रह्यो। त्यस्तै भयो २०७९ सालमा पुरुषोत्तम दाहालको कृति ‘शान्ता’ को अडियो सुन्दा। डा. प्रसाद, उनकी डा. पत्नी, शान्ता र उनका पति उत्तम दा तथा छोराछोरी अनिमेश र अनुष्काको छायाले कति दिनसम्म पछ्याइरहेको थियो। कलेजो फेल भएका डा. प्रसादलाई आफ्नै भान्जी शान्ताले कलेजो दान दिएर मामालाई जीवन दान दिइन्।

कहिलेकाहिँ पढेका केही कृतिले मन यसरी बिथोलिन्छ, पिरोलिन्छ, त्यसको असर धेरै दिनसम्म रहिरहन्छ। पाठकलाई त्यसरी पगाल्न सक्नु, उद्वेलित पार्नु स्रष्टाको सफलता हो।

एउटा मनकारी दानशील महिलाको ‘अमरकथा’ हो। शान्ता सबैले पढून् भन्ने लाग्छ। अंग प्रत्यारोपणको चिकित्सा पद्धति, दान लिने र दिनेको शारीरिक तथा मानसिक अवस्था, रोगी तथा दाताको स्याहार र सुसारमा खट्ने, मनकारी ती थुप्रै सहयोगी, परिवार तथा आफन्तलगायत तत्क्षणको अवस्थाले निकै दिनसम्म पिरोलेको थियो। घरि घरि आधुनिक चिकित्सा पद्धतिसँग थुप्रै मौन प्रश्न उठेका थिए।

एउटा परेवाको जीवन रक्षाका लागि आफ्नो शरीरको मासु काटेर दान गर्ने शिवि, कलुषित भावको साथ आएको याचकलाई आफ्नो शरीरको रक्षा कवच र कुण्डलको दान गर्ने दानवीर कर्ण पनि फिक्का लागेको थियो। शान्ता र उनका पति उत्तम दा तथा छोराछोरीको अवस्थाले।

हो अहिले त्यस्तै पूर्व कृतिहरू पढ्दाको अवस्था झैं ‘भग्न भैरव’ बनायो। यो कृतिले आफ्नो सम्बन्धप्रति अत्यन्त इमानदार र खुलस्त दुई मित्र रोचक घिमिरे र (सम्पादक, रचना द्वैमासिक पत्रिका) र भैरव अर्यालको सम्बन्धलाई अमरता दिएको छ।

सन्दिपनि ऋषिको गुरुकुल आश्रममा बसेर पढेका भगवान् कृष्ण र सुदामाको मित्रवत् सम्बन्धलाई श्रीमद् भागवतलगायत पुराणहरूले कालजयी बनाएका थिए। त्यस्तै ‘भग्न भैरव’ ले घिमिरे–भैरवको सम्बन्धलाई अमरता दिएको छ। भुल्नु हुँदैन कि त्यहीं महाभारतमा गुरुकुलीन बालशखा राजा दु्रपद र गुरु द्रोणाचार्यको सम्बन्ध पनि छ।

हो अहिले त्यस्तै पूर्व कृतिहरू पढ्दाको अवस्था झैं ‘भग्न भैरव’ बनायो। यो कृतिले आफ्नो सम्बन्धप्रति अत्यन्त इमानदार र खुलस्त दुई मित्र रोचक घिमिरे र (सम्पादक, रचना द्वैमासिक पत्रिका) र भैरव अर्यालको सम्बन्धलाई अमरता दिएको छ।

राजसिंहासनको अहंकारमा रहेका राजा दु्रपदले आफ्नो दरबारमा आएका बालशखा द्रोणाचार्यको आत्मसम्मानमा नराम्रोसँग धक्का पुर्‍याएका थिए। ठेस लगाए। त्यसपछि जीवनभर उनीहरूको सम्बन्ध शत्रुवत् र कटुतापूर्ण रह्यो। मित्रता समान अवस्थाका बीचमा हुन्छ, असमानसँग होइन भनेर दु्रपदले आफ्ना मित्र द्रोणाचार्यलाई गरेको व्यवहारलाई पटक पटक सम्झने गर्छु। निष्ठायुक्त इमान्दार सम्बन्धले दु्रपदको अनुशरण गर्दैन। त्यसको पुष्टि ‘भग्न भैरव’ ले गरेको छ। यस कृतिले यी दुई मित्रको सत्र वर्षको त्यो सम्बन्धलाई अमर गाथा बनाएको छ।

यस कृतिको प्रारम्भ ‘पटापेक्ष’ शीर्षकमा ‘म’ पात्र (रोचक घिमिरे) बाट भएको छ। यस टुङ्गाउनी पनि ‘कथोपकथन’ शीर्षकमा म पात्रबाट नै भएको छ। यस कृतिको सिर्जना २०७५ साल २४ गते असोज घटस्थापनादेखि कार्तिक २७ गते छठपर्वसम्म अर्यालले आत्मोत्सर्ग गरेको थलोका नजिकै ‘देशेगाउँमा’ रहेर सिर्जना गरिएको भन्ने लेखकको कथन छ।

कृति तयार गर्दा आधार बनाइएका पुस्तक, पत्रिका आदि सबै सूची अन्तिम पृष्ठमा दिइएको पाइन्छ। कृतिमा जे जति पात्र छन्, ती सबै यथार्थपरक छन्। कृति कल्पना होइन। भैरव अर्यालको जन्म, बाबुआमा, शिक्षा, विवाह र पारिवारिक जीवन, प्रेम, मित्रमण्डली, पेसा, शारीरिक र मानसिक अवस्था, अर्याललाई नराम्रोसँग प्रयोग गर्ने मनुवा आदि सबै पक्षको जानकारी कृतिले दिएको छ।

‘भग्न भैरव’का म पात्र रोचक घिमिरेले ‘भैरवसँगका सत्र वर्ष’ मा लेख्नुभएको छ– ‘उसको आर्थिक विवशता र सोझोपनको फाइदा धेरैले धेरै पटक उठाएका छन्। कोही जापान घुम्न जान्थे भने तिनको जापान सम्बन्धी पूरा किताब भैरवले लेखिदिनुपथ्र्यो। लेख, कविता, भैरव लेखिदिन्थ्यो, प्रतियोगितामा विजयी भएर पुरस्कार र सुनको तक्मा अरूले नै ढल्काउँथे। कोही वरिष्ठ सम्पादक कहलाएर मानसम्मान र पत्रकार संघको सभापति पद नै पड्काउँथे तर तिनको हरेक अंकको सम्पादकीय भैरवले लेखिदिनुपथ्र्यो।

कुनै महिला नेतृ महिला सम्बन्धी ग्रन्थ लेखेर सम्माननीय हुन पुग्थिन् तर तिनको त्यस ग्रन्थको प्रमुख लेखक भैरव आफ्नो पारिश्रमिक नपाएर धाउँदैमा हैरान हुन्थ्यो। कुनै ठुलोबडो प्रकाशन संस्था आफू छाप्न भनेर किताब माग्थ्यो र छाप्थ्यो अर्काको नाउँमा अनि, कुनै प्रकाशक चाहिँ आफूले हजारौं कमाउन सक्ने किताब केही सय रुपियाँ दिएर ऊसँग लिन्थ्यो र सर्वाधिकार प्रकाशकमा भन्ने कागजमा झुक्काएर सही गराउँथ्यो (शाश्वत व्यङ्ग्य शिल्पी, सम्पादक रोचक घिमिरे, भैरव पुरस्कार (गुठी)। मानिसले अरूलाई ढाँट्छ भनेको त आफैले आफैलाई समेत यसरी ढाट्दो रहेछ। कुन हदसम्म मानिस गिर्न सक्दो रहेछ त्यसको साक्षी ‘भग्न भैरव’ भएको छ।

यस्तो सामाजिक घात र दबाबको थिचाइमा परेका थुप्रै प्रसङ्ग किताबमा छन्। मानसिक आघातजस्तो मन्द विषको प्रभाव पर्दै गएको छ उनलाई आत्महत्याको अवस्थामा पु¥याउन। हालखबर ‘गोरखापत्र’ रचना साहित्यिक पत्रिकालगायत थुप्रै पत्रकार र लेखकका प्रसङ्ग छन्। मध्यमाको परीक्षा दिन आर्थिक अभाव भएपछि राजा महेन्द्रलाई चढाएको निवेदन र प्राप्त सहयोगको प्रसङ्ग निकै रमाइलो छ।

यस्तो सामाजिक घात र दबाबको थिचाइमा परेका थुप्रै प्रसङ्ग किताबमा छन्। मानसिक आघातजस्तो मन्द विषको प्रभाव पर्दैगएको छ उनलाई आत्महत्याको अवस्थामा पु¥याउन।

घाँटीको समस्या र त्यसको उपचारमा दरबारले गरेको सहयोग, आत्महत्याको मानसिकता कहिलेबाट उनमा सुरु भएको थियो? आत्महत्या आकस्मिक थिएन। पूर्व तयारी थियो। जसको पुष्टि गोरखापत्र संस्थानलाई लेखेको राजीनामा पत्र छोराछोरी तथा बाबुलाई लेखेको चिठीबाट हुन्छ। यस कृतिको आधिकारिकता र प्रमाणिकता शाश्वत व्यङ्ग्यशिल्पी भैरव पुरस्कार गुठीद्वारा प्रकाशित पुस्तकले गर्छ भन्ने लाग्छ किनकि यो ‘भग्न भैरव’ को समग्र जीवनको पक्ष हो, जहाँ वृक्षका रूपमा उसले उम्रिन सक्यो। त्यसैले साहित्यका अनुरागी, अध्येता, अनुसन्धान, अन्वेषक जो सुकैका लागि पनि ‘भग्न भैरव’ निकै पठनीय र संग्रहणीय छ। 

प्रकाशित: २ असार २०८० ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App