१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

निष्ठाका पर्याय पुरुषोत्तम बस्नेत

व्यक्तित्व

नेपाली कांग्रेस सिद्धान्ततः एक लोकतान्त्रिक पार्टी भएकोमा दुई मत छैन। यस पार्टीको इतिहास लामो मात्र नभई यसको नेतृत्व एवं अगुवाइमा भएका अनेकथरी निरंकुशतन्त्र विरुद्धका युग परिवर्तनकारी जनआन्दोलनहरूका कारण यसको विगत मुलुकका लागि ऐतिहासिक एवं उज्यालो रहेको तथ्य सर्वविदितै छ। संस्थापक राजनेताहरू बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई लगायत अन्य कैयौं नेताले यसका विचार र आदर्शलाई जीवन्त तुल्याउन आजीवन संघर्ष र त्याग गरिरहे। जेलनेल र प्रवासका भुक्तमान सहे। उनीहरूले निर्माण गरेको लोकतान्त्रिक विचारले संघर्षका अनेकौं शृंखला पार गर्दै वर्तमानसम्म मुलुकलाई नेतृत्व गरिरहेछ।

लोकतान्त्रिक विचारद्वारा अनुप्राणित राज्य व्यवस्था समयको कसीमा घोटिइरहनुपर्छ अनि मात्र त्यो जीवन्त रहिरहन्छ। लोकतान्त्रिक प्रणाली समयानुसार सधैं विस्तारित भइरहने राज्य प्रणाली हो। यसमा संकुचन ल्याउने प्रयत्न कतैबाट हुन्छ भने त्यो लोकतान्त्रिक मान्यता र आदर्शअनुरूप हुन सक्दैन।

नेपाली कांग्रेसले विगतमा जहानियाँ राणातन्त्रका विरुद्धमा जनक्रान्तिको नेतृत्व गर्‍यो। यसले पञ्चायती निरंकुशतन्त्रविरुद्धको जनआन्दोलन २०४६ एवं तत्कालीन राजाको निरंकुश नेतृत्वविरुद्ध २०६२/६३ को दोस्रो जनआन्दोलनको पनि नेतृत्व गर्‍यो। यी सबै राजनीतिक परिघटनालाई सफलताको बिन्दुमा पुर्‍याउन अन्य विभिन्न राजनीतिक दलको पनि महŒवपूर्ण भूमिका रह्यो नै। असंख्य नेपाली सन्ततिहरूले लोकतान्त्रिक जनसंघर्ष, जनआन्दोलनहरूमा प्राणाहुति दिए। ती सबै स्तुत्य छन्।

नेपाली कांग्रेस वर्तमान राजनीतिक विचार एवं निष्ठाका हिसाबले निरन्तर अवरोहतर्फ गतिशील छ। पार्टी अवसरवादिता, व्यक्तिगत स्वार्थ, विचार तथा लोकतान्त्रिक संस्कारविहीनता एवं गुटबन्दीको धापमा झन्झन् मैलिँदै गइरहेको छ। यस्तो स्थितिप्रति कांग्रेस नेतृत्वले निर्मम ढंगले आत्मसमीक्षा एवं आत्मनिरीक्षण गर्दै पार्टीको भविष्यलाई उज्यालोतर्फ लैजान ढिला भइसकेको छ।

२०७२ सालमा जारी नेपालको संविधान, विगतका सबै राजनीतिक आन्दोलन एवं संघर्षहरूद्वारा निर्मित लोकतान्त्रिक वैचारिक आरोहणको लिखित दस्तावेज हो। संविधान जारी गर्नमा पनि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो। ऐतिहासिक महत्वका यी अनेक भूमिकाहरू सफलतापूर्वक सम्पन्न गर्न सक्ने हैसियतमा नेपाली कांग्रेसलाई कसले पुर्‍याएको होला त? त्यो सामथ्र्य निश्चय नै कांग्रेसभित्रका आदर्शवान, निष्ठावान, लोकतन्त्रका सेनानीहरूद्वारा अविरल निसृत समर्पणबाट प्राप्त भएको हो भन्नु अत्युक्ति हुने छैन। त्यस्ता असंख्य लोकतान्त्रिक निष्ठाका धरोहरमध्येका एक थिए पुरुषोत्तम बस्नेत। यस आलेखमा उनलाई स्मरण गर्ने प्रयत्न गरिएको छ।

पुरुषोत्तम बस्नेत २००२ साल मंसिरमा सोलुखुम्बु जिल्लाको लिखुखोला गाउँमा जन्मेका थिए। ७८ वर्षको उमेरमा २०८० साल वैशाख २९ गते काठमाडौंमा उनको देहावसान भयो। नेपाली कांग्रेसका लागि मात्र नभएर मुलुककै लागि उनको देहावसान अपूरणीय क्षतिका रूपमा रह्यो। निष्ठाको एउटा स्तम्भ भौतिक रूपमा अब यस संसारमा रहेन।

बस्नेतले राजनीतिक क्रियाशीलताबाट भन्दा पहिले साहित्यिक सक्रियताबाट आफ्नो व्यक्तित्व निर्माणको उठान गर्न थालेका थिए भन्ने बुझिन्छ। यिनले प्रारम्भमा कविता लेखनबाट आफ्नो सिर्जना यात्रा थालेका थिए। पछि गएर यिनले मुकुट, सिउँडी, कल्पना, संक्रान्ति, पूजा आदि साहित्यिक पत्रिकाहरूको सम्पादन/प्रकाशन पनि गरे। यिनी अमलेख साहित्यिक आन्दोलनमा पनि सक्रिय थिए।

बस्नेतको लेखकीय एवं राजनीतिक व्यक्तित्वसँग चिरपरिचित साहित्यकार डा. तुलसीप्रसाद भट्टराई उनको व्यक्तित्व उठानका सम्बन्धमा भन्छन्, ‘प्रारम्भिक चरणमा उनले आफूलाई साहित्यिक व्यक्तित्वका रूपमा चिनाए पनि राजनीतिक परिवारका व्यक्ति भएकाले यिनले आफ्नो राजनीतिक व्यक्तित्वलाई पनि सँगसँगै अघि बढाए। पछि आएर उनको साहित्यतर्फ भन्दा बढी राजनीतिक लेखनमा सक्रियता रह्यो।’

साहित्यकार डा. तुलसीप्रसाद भट्टराई बस्नेतको व्यक्तित्व उठानका सम्बन्धमा भन्छन्, ‘प्रारम्भिक चरणमा उनले आफूलाई साहित्यिक व्यक्तित्वका रूपमा चिनाए पनि राजनीतिक परिवारका व्यक्ति भएकाले आफ्नो राजनीतिक व्यक्तित्वलाई पनि सँगसँगै अघि बढाए। पछि आएर उनको साहित्यतर्फ भन्दा बढी राजनीतिक लेखनमा सक्रियता रह्यो।’

बस्नेत परिवार २००७ सालको क्रान्तिताकादेखि नै बिपीसँग निकट र नेपाली कांग्रेसका गतिविधिहरूमा सक्रिय रहँदै आएको कुरा बुझ्न सकिन्छ। पुरुषोत्तम बस्नेतले राजधानी, नेपाल पुकार आदि समाचारपत्रको सम्पादन पनि गरे। यिनको राजनीतिक जीवन विद्यार्थीकालदेखि नै सुरु भयो। बस्नेतले नेपाल विद्यार्थी संघ, तरुणदलमा सक्रिय रहँदै राजनीतिक जीवनको आरम्भ गरे। २०१८ सालदेखि नै बस्नेतले तत्कालीन सुरक्षा कानुन र राजकाज अपराध ऐनअन्तर्गत पटकपटक जेलसजाय पाउँदै आए।

२०४६ सालसम्म यिनले ओखलढुंगा, विराटनगर, पोखरा, सिन्धुपाल्चोक एवं काठमाडाैंका कारागारमा झन्डै ९ वर्ष जेलजीवन बिताए। त्यसबेला यिनी एम्नेस्टी इन्टरनेसनलमा सूचीकृत आस्थाका बन्दी थिए। २०४६ साल एवं २०६२/६३ का जनआन्दोलनमा यिनको सक्रिय सहभागिता रहनु स्वाभाविक थियो। यिनी नेपाली कांग्रेस सोलुका सभापतिका हैसियतमा पनि रहे भने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका प्रचारप्रसार विभागका सदस्यका रूपमा पनि काम गरे।

यस्तै २०४६ सालपछिको प्रजातन्त्रोत्तर कालमा यिनी गोरखापत्र संस्थानका अध्यक्ष रहेर पनि जिम्मेवारी बहन गरे। बस्नेत संविधानसभाको प्रथम कार्यकालमा संविधान सभासद्को भूमिकामा पनि रहे। यिनी बिपी स्मृति ट्रस्टमा आबद्ध रही बिपी विचारलाई जीवन्त राख्न निरन्तर कार्यरत पनि रहे।

पुरुषोत्तम बस्नेतको चिनारी एक लोकतान्त्रिक बौद्धिक योद्धाका रूपमा नेपालको राजनीतिक परिवृत्तमा चर्चित रह्यो। उनले मूलतः नेपाली कांग्रेस र बिपी कोइरालाका बारेमा सर्वाधिक कलम चलाए। विपी कोइरालाका प्रजातन्त्र, राष्ट्रियता, राष्ट्रिय मेलमिलाप एवं समाजवादका आदर्श र सिद्धान्तका बारेमा उनले असंख्य लेखरचना लेखेका मात्र छैनन्, नेपाली कांग्रेसको इतिहासको प्रारूपका दुई विशाल ग्रन्थहरूको अभिलेखन पनि गरेका छन्।

यी ग्रन्थहरूमा नेपाली कांग्रेससहित नेपालको इतिहासका तत्कालीन राजनीतिक, सामाजिक परिस्थिति एवं घटनाक्रमबारे प्रामाणिक एवं तथ्यपूर्ण विश्लेषण गरिएको छ। बस्नेतको लेखकीय व्यक्तित्वलाई मूलतः नेपाली कांग्रेसको इतिहासकारका रूपमा बुझ्न सकिन्छ।

यस्तै २०४६ सालपछिको प्रजातन्त्रोत्तर कालमा यिनी गोरखापत्र संस्थानका अध्यक्ष रहेर पनि जिम्मेवारी बहन गरे। बस्नेत संविधानसभाको प्रथम कार्यकालमा संविधान सभासद्को भूमिकामा पनि रहे।

नेपाली कांग्रेसको स्थापनामा बिपीको शीर्ष भूमिका त रह्यो नै, पार्टीको वैचारिक एवं सांगठनिक नेतृत्व पनि जीवनकालभरि उनकै नेतृत्वमा गतिशील रह्यो। वैचारिक तवरले बिपी विचारले उनको जीवनपर्यन्त पनि मुलुकलाई नेतृत्व गरिरहेको छ। पुरुषोत्तम बस्नेतले नेपाली कांग्रेसको इतिहासको प्रारूपको प्रथम खण्डको आरम्भमा लेखेका छन्, ‘बिपी कोइरालामा नै नेपाली कांग्रेसको इतिहासको समग्र पक्ष केन्द्रित भएर रहेको छ। नेपाली कांग्रेसको इतिहासको प्रस्थान बिन्दु बिपी कोइराला हो। यसको प्रत्येक घुम्तीले पुग्ने ठाउँ बिपी कोइराला हो ।’ यसो भन्दाभन्दै पनि बस्नेतले ग्रन्थहरूमा नेपालको इतिहासका अन्य स्मरणीय घटना/परिघटनाहरूलाई सकेसम्म तथ्यपूर्ण र विश्लेषणात्मक विवरणसहित आधिकारिक रूपमा प्रस्तुत गरेका छन्।

दोस्रो खण्डको प्रारम्भमा उनले लेखका छन्, ‘वास्तवमा नेपाली कांग्रेसको इतिहास केवल त्यो पार्टीका केही घटनाको विवरण मात्र होइन। त्यससँग देशको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, साहित्यिक, सांस्कृतिक प्रवृत्ति आबद्ध हुन पुगेको छ। न्याय स्वतन्त्रता, वाक र लेखन स्वतन्त्रता, अरू यावत् स्वतन्त्रता एवं यिनीहरूको सम्बद्र्धनका निमित्त भएका संघर्षहरू, अरू कतिपय युगान्तकारी परिवर्तनहरू ती सबै नेपाली कांग्रेसको इतिहाससँगै अन्तर्निहित भएर रहेका छन्।’

एउटा लोकतान्त्रिक तवरले जीवन्त र ऐतिहासिक पार्टीसँग देशको समग्र पक्षको इतिहास गाँसिनु स्वाभाविक हुने कुरा लेखनका क्रममा बस्नेतले महसुस गरेका छन्। यिनले २०१७ साल पुस १ गतेको राजनीतिक षड्यन्त्रपछिका घटनाक्रमहरूलाई समेटेर प्रारूपको तेस्रो खण्ड चाँडै प्रकाशित हुँदै छ भन्ने कुरा बताएका थिए।

सम्भवतः त्यो प्रकाशनका क्रममा रहेको हुनुपर्छ। २०१७ साल पुस १ गतेभन्दा पहिलेसम्मका राजनीतिक र अन्य घटनाका विस्तृत विवरणलाई बस्नेतले अत्यन्तै मिहिनेतपूर्वक संकलन एवं अनुसन्धान गरी प्रकाशन गराएका छन्। सुन्दरीजल बन्दीगृहमा रहँदा बिपी स्वयंले लेख्ने अठोट गरी केही हजार शब्द लेख्न थालिसकेको भए पनि स्वास्थ्यस्थितिको प्रतिकूलताका कारण उनीद्वारा कांग्रेसको इतिहासको अभिलेखन हुन नसकेको कार्यलाई पुरुषोत्तम बस्नेतले मूर्त रूप दिएका छन्।

एउटा लोकतान्त्रिक तवरले जीवन्त र ऐतिहासिक पार्टीसँग देशको समग्र पक्षको इतिहास गाँसिनु स्वाभाविक हुने कुरा लेखनका क्रममा बस्नेतले महसुस गरेका छन्।

बस्नेतले ‘आधिकारिक तवरमा आएका थप कुरा समावेश गर्ने, संशोधन गर्ने, परिमार्जन गर्ने स्थानको सुरक्षा’ का लागि भनेर प्रकाशन गरेको प्रस्तुत इतिहासलाई प्रारूप मानेका छन्। इतिहासका नयाँ तथ्य र प्रमाणहरू उपलब्ध हुँदै जाँदा त्यसको संशोधन र परिमार्जन भइरहने कुरा हो। तसर्थ बस्नेतले आफ्नो इतिहास लेखनलाई इमान्दारीपूर्वक प्रारूप भनेको बुझ्न सकिन्छ।

बिपीले सन् १९७७ फेब्रुअरीमा सुन्दरीजल बन्दीगृहमा रहँदा लेख्न थालेको कांग्रेसको इतिहासका कुनै पनि हस्तलिखित सामग्री फेला परि नसकेको कुरा बस्नेतले उल्लेख गरेका छन्। बिपीले ११ फेब्रुअरीका दिन दोस्रो जेल डायरीमा लेखेको कुरा नै बस्नेतलाई इतिहासको प्रारूपको अभिलेखनका लागि प्रेरणास्रोत बनेको पाइन्छ। बिपीले डायरीमा लेखेको कुरा बस्नेतले उद्धृत पनि गरेका छन्, ‘मैले नेपाली कांग्रेसको इतिहास लेख्न सुरु गर्नुपर्छ भन्ने कुरा मनमा आयो। त्यतातिर लेखकहरूले दिनुपर्ने जति ध्यान दिएकै छैनन्।

मैले लेखिन भने अरू कसले लेख्छ र ? त्यसपछि उठेर लेख्न थालें। एक हजार शब्दजति लेखेछु। लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रिकाहरूका एक इन्च जति चौडा छेउछेउका लामो ठाउँ काटेर राखेको छु। कागजका ती लामा टुक्राहरूमा नेपाली कांग्रेसको इतिहास लेखिँदै छ।’

बिपीले सन् १९७७ फेब्रुअरीमा सुन्दरीजल बन्दीगृहमा रहँदा लेख्न थालेको कांग्रेसको इतिहासका कुनै पनि हस्तलिखित सामग्री फेला परि नसकेको कुरा बस्नेतले उल्लेख गरेका छन्।

विडम्बना, उपलब्ध समाचारपत्रका पानाका किनारका सानो खाली ठाउँमा बिपीले लेखेका इतिहासका अक्षरलाई तत्कालीन व्यवस्था र समयका मतियारहरूले सायद बन्दीगृहभित्रै नष्ट गरे।

बिपीको हस्तलेखनलाई नष्ट गरिए पनि उनको सपनालाई उनकै एक इमानदार अनुयायी पुरुषोत्तम बस्नेतले प्रेरणाका रूपमा लिएर कलम चलाए। यस्तो पुनित कार्य गरी बस्नेतले बिपीको आत्मालाई पनि कृतज्ञ गराएका छन्। बस्नेतद्वारा लिखित नेपाली कांगे्रसको इतिहासका सन्दर्भमा डा. भट्टराई भन्छन्, ‘पुरुषोत्तम बस्नेत बनारसमा बिपीसँग धेरै निकट भएर बसे। त्यसो हुँदा उनले बिपीबाट प्रत्यक्षतः धेरै कुरा जान्नेबुझ्ने मौका पाए।

यस्तै गणेशमानजी, किशुनजी र गिरिजाबाबुसँग पनि उनी जेलमा वा बाहिर, मुलुकभित्र वा प्रवासमा निकटमा रहिरहे। यसकारण उनको लेखन बाहिरी अध्ययनबाट मात्र नभई प्रत्यक्षतः इतिहास निर्माताहरूसँगको राजनीतिक सन्निकटताबाट प्राप्त ज्ञान र अनुभवबाट पनि खारिन पुग्यो। यसरी लेखनका लागि प्रयोगात्मक पक्ष र अध्ययन पक्ष पनि राम्रो भएकाले उनले लेखेको इतिहासलाई आधिकारिक मान्न सकिन्छ।’

बस्नेत जीवनको उत्तराद्र्धमा इतिहासकारका रूपमा बढी चर्चित रहे। उनको लेखन बिपी चिन्तनको व्याख्या र विश्लेषणमा उत्तिकै अनवरत रह्यो। त्यसो त बिपी विचारमाथि निरंकुश पञ्चायतकालमा अनवरत कलम चलाउनेमध्येका एक मेधावी विद्वान् थिए सिके प्रसाईं। उनले राष्ट्रपुकार र अन्य साप्ताहिक पत्रपत्रिकामार्फत् बिपी विचारलाई विस्तारित गरे।

विडम्बना, उपलब्ध समाचारपत्रका पानाका किनारका सानो खाली ठाउँमा बिपीले लेखेका इतिहासका अक्षरलाई तत्कालीन व्यवस्था र समयका मतियारहरूले सायद बन्दीगृहभित्रै नष्ट गरे।

सम्पादक होमनाथ दाहालले राष्ट्रपुकार साप्ताहिकमार्फत तुलनात्मक रूपमा बढी नै बिपीसम्बद्ध सामग्रीलाई महत्वका साथ प्रकाशन गर्ने साहस गरेका हुन्। यस्तै राजनीतिक चिन्तक प्रदीप गिरीले बिपीका राजनीतिक चिन्तनमाथि गहिरो विश्लेषण गरेका छन्। त्यसो त बिपीमाथि कैयौं विद्वान् एवं साहित्यकारबाट यथेष्ट लेखिएको छ। कैयौंले बिपीका राजनीतिक एवं साहित्यिक व्यक्तित्वमाथि पिएचडी गरिसकेका छन्। विदेशी विद्वान् एवं पत्रकारहरूबाट पनि बिपीमाथि निकै कलम चलाइएको पाइन्छ। यो क्रम निरन्तर छ। स्वयं बिपीकै निर्देशनमा शैलजा आचार्यको सम्पादनमा वनारसबाट प्रकाशन हुने गरेको ‘तरुण’ बुलेटिनले बिपीलगायत प्रजातन्त्रवादी लेखकलाई मनग्य स्थान दिएको थियो। पुरुषोत्तम बस्नेतको इतिहास लेखनलाई परिपक्वता प्रदान गर्न उल्लिखित सन्दर्भहरूको पनि महत्वपूर्ण पृष्ठभूमि रहेको बुझ्न सकिन्छ।

बस्नेतद्वारा अभिलिखित नेपाली कांग्रेसको इतिहासका विभिन्न खण्डहरू (प्रकाशोन्मुख तेस्रो खण्डसहित) मुलुकको इतिहासका दस्ताबेज हुन्। बस्नेतको लेखन तपस्याका निशानाका रूपमा पनि सर्वदा रहिरहने छन्। अब बस्नेत रहेनन्। तिनै लेखन कर्मका अभिलेखहरू छोडेर उनले धर्तीबाट बिदा लिए। समयले उनको कलमको सामर्थ्यलाई सधैं जीवित राखिरहने छ।

नेपाली कांग्रेस वर्तमान राजनीतिक विचार एवं निष्ठाका हिसाबले निरन्तर अवरोहणतर्फ गतिशील छ। यो अवसरवादिता, व्यक्तिगत स्वार्थ, विचार तथा लोकतान्त्रिक संस्कारविहीनता एवं गुटबन्दीको धापमा झन्झन् मैलिँदै गइरहेको छ। यस्तो स्थितिप्रति कांग्रेस नेतृत्वले निर्मम ढंगले आत्मसमीक्षा एवं आत्मनिरीक्षण गर्दै पार्टीको भविष्यलाई उज्यालोतर्फ लैजान ढिला भइसकेको छ।

यस्तो बिझाउँदो परिदृश्यमा आफ्ना आदर्श एवं सैद्धान्तिक निष्ठाकै बलमा मुलुकलाई चौतर्फी उन्नयनका उचाइमा पुर्‍याउन नेपाली कांग्रेसले अन्य कैयौं इतिहास भइसकेका निष्ठावान् व्यक्तिहरूसहित हालै मात्र दिवंगत बौद्धिक नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेतको आदर्शमय अनि निष्ठामय जीवनयात्रालाई स्मरण गर्नैपर्छ।

नेपाली कांग्रेस वर्तमान राजनीतिक विचार एवं निष्ठाका हिसाबले निरन्तर अवरोहणतर्फ गतिशील छ।

उनी जस्ता निष्कलंक छविका त्यागमय कर्म र विचारहरू नेपाली कांग्रेसको सामर्थ्यका उर्जा स्रोत हुन्। पुरुषोत्तम बस्नेतका छरिएका लेखरचनालाई संकलन गरी छुट्टै ग्रन्थ प्रकाशन गर्न ढिलो गर्नु हुँदैन। उनको जीवन स्वयंमा कांग्रेसको इतिहासको सुनौलो पाना हो। बस्नेतजस्ता संघर्षशील बौद्धिक व्यक्तित्वको कर्मशीलता एवं त्यागमय जीवनबाट कांग्रेसको नयाँ पुस्ताले धेरै पाठ सिक्न सक्छ। यिनै केही शब्दपुष्पका साथ दिवंगत बस्नेतको आत्माप्रति हार्दिक श्रद्धाञ्जली!  

प्रकाशित: १३ जेष्ठ २०८० ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App