छातीमा भित्र कताकता अलि गाह्रो जस्तो भयो। म नजिकैको प्राइभेट हस्पिटलमा गएँ। ढोकाको चेपबाट देखें डाक्टरको रुममा चेकजाँच चलिरहेको रहेछ। मेरो पालामा भित्र पसें। मभन्दा अघि एक भद्र मानिसको पालो थियो। डाक्टरले उनलाई जाँच्न सुरु गरे। पहिला नामथर सोधे। ठेगाना सोधे। पेसा व्यवसाय सोधे। छोराछोरी कति छन् र कहाँ छन् भनेर सोधे। केमा आउनुभयो भनेर पनि सोधे। उनले पनि प्रश्नको उत्तर दिए:
नाम-रामप्रसाद थापा
ठेगाना-न्युरोड, पोखरा
पेसा-व्यापार
छोराछोरी-२ छोरा,एउटा छोरा अमेरिका, अर्को छोरा अस्ट्रेलिया,आफ्नै गाडीमा आएको।
डाक्टरले पहिला प्रेसर नापे। छातीमा डिग्री लगाए अनि भने-तपाईको होल बडी चेकअप गर्नुपर्छ। तपाईं केही दिन यहीं भर्ना भएर बस्नुस्। हामी रोगको अब्जर्भेसन गर्छौ। अनि तुरुन्त नर्सलाई बोलाएर जिम्मा लगाए।
यो सब देखिरहेको मेरो ओठमुख निलोकालो भयो। अब पालो मेरै आयो। मलाई पनि उनले त्यही सोधे। मैले पनि जे हो त्यही भनिदिएँ।
नाम-हरि पौडेल
ठेगाना-सूर्यपाल,लमजुङ
पेशा-आधारभूत शिक्षक
एउटा छोरा, एउटी छोरी
दुवै गाउँकै स्कूलमा पढ्छन्।
तर,उनले मलाई केमा आउनुभयो भनेर चैं सोधेनन्।
उनले सामान्य चेकजाँच गरे। एकछिन गमे, टाउको हल्लाए, औषधि लेखिदिए अनि महिना दिनपछि भेट्नु भनेर पठाइदिए।
म नमस्कार गर्दै ‘हस् धन्यवाद’ भनेर निस्कें। उनले मतिर हेर्दा पनि नहेरी हस् भने। त्यसपछि म बाहिर निस्कें।
मैले सोचें,मेरो रोगको अवस्था सामान्य रहेछ।
डाक्टरले सोचे, बिरामीको आर्थिक अवस्था सामान्य रहेछ।
प्रकाशित: २२ वैशाख २०८० ०४:४४ शुक्रबार