भूगोल साहित्य समाजले लोकतन्त्र दिवसको अवसरमा काव्य गोष्ठीको आयोजना गरेको छ।
लोकतन्त्र प्राप्तिका लागि शहादत हुने शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै प्रारम्भ गरिएको कार्यक्रमका प्रमुख अतिथि श्रीमती हिरण्यकुमारी पाठक र प्रमुख वक्ता साहित्यकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्त रहेका थिए।
प्रमुख वक्ता पन्तले निवृत्त कर्मचारीहरूबाट यस किसिमको कार्य हुनु प्रशंसनीय भएको भन्दै लामो जागिरे जीवन बिताएपछि निवृत्त हुँदा के गर्नु र कसो गर्नु हुने र एक खालको अन्योल उत्पन्न हुन सक्ने भएकाले त्यस्तो समयलाई साहित्यिक कृतिको अध्ययन तथा साहित्य सिर्जनामा लगाई सक्रियता साथ बिताउन सकिने बताए।
उनले लामो व्यस्ततापछि स्वतन्त्र र फुर्सदिलो भएका कर्मचारीले साहित्य सिर्जनामा समय उपयोग गर्नु उपयुक्त हुने, यस्तो सिर्जना आफ्ना अनुभव,भोगाइ,घटेका घटनाको स्मरण र अनुभूतिहरूको रूपमा समाजलाई दिन सकिने धारणा राखे।
उनले सिर्जनाले व्यक्तिलाई अमर बनाउने हुँदा फुर्सदको समयलाई सिर्जना कर्ममा लगाउनु उचित हुने बताए।
प्रमुख अतिथि श्रीमती पाठकले आफ्नो समयको शैक्षिक एवं सामाजिक परिवेश, जागिरे जीवन र साहित्य सिर्जनामा संलग्न भएपछिका अनुभूतिका विषयमा जानकारी गराउँदै निवृत्त कर्मचारीहरूले पठन एवं साहित्य सिर्जनातर्फ लाग्नु उचित हुने तथा यसले निराशा र एक्लोपनबाट मुक्त गराउने बताइन्।
कार्यक्रमका अतिथि समाजका मानार्थ सदस्य उद्धव खनालले भूगोल साहित्य समाजको स्थापना र यसले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिए।
कार्यक्रममा कविहरू-बुद्धिराज पाण्डे, मुकुन्द अर्याल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, महेश रिजाल, शैलेन्द्रकुमार शाह लगायतले आआफ्ना रचना वाचन गरेका थिए।
समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा आगन्तुकको स्वागत र कार्यक्रम सञ्चालन समाजका सचिव शैलेन्द्रकुमार शाहले गरेका थिए।
भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूको स्थापित साहित्यिक संस्था हो। विभिन्न अवसर र सन्दर्भ पारेर साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको झन्डै चार वर्षअघि स्थापित समाजको यो एक्काइसौं कार्यक्रम हो। कार्यक्रम दरबारमार्गस्थित समाजको सभाकक्षमा भएको थियो।
प्रकाशित: १६ वैशाख २०८० ०६:४३ शनिबार