१२ असार २०८१ बुधबार
image/svg+xml
कला

वैशाख १२

कविता

कविता: वैशाख १२

 

म अझै पनि सम्झन्छु

त्यो मेरो घरको चिम

कसरी हल्लिएको थियो त्यो दिन!

घरको अगाडि बसेर हेर्दै गर्दा

कसरी थर्किएको थियो त्यो दिवार!

सुनसान शनिबार

कसरी एक्कासि भएको थियो कोलाहलपूर्ण

कसरी उडेको थियो

हरीबले डाँडामा त्रासदीको धुलो!

कसरी लडेको थियो एक झोक्कामै

डिल्ले दाइको घर!

मेरो कानमा अझै ताजा छ

गौंथली भाउजूको

विक्षिप्त चीत्कार!

नानीहरूको नानीमा बसेको त्रास

हजुरआमाको ओठमा परेको कलेटी

मेरो मनमा आएको हतोत्साही

सबका सब ताजै छ यो स्मृतिमा

शास्त्रको हात्तीले काँध फेरेको त्यो दिन

ईन्द्रले रिसाएर क्रोध व्यक्त गरेको त्यो दिन

विज्ञानको भूगर्भशास्त्रको

दुई भूखण्ड टकराएको त्यो क्षण

संचित शक्ति विस्फोट भएको त्यो क्षण

कसरी मान्छेहरू एकाएक

महलबाट सडकमा आएका थिए

कसरी मान्छेहरू

आफ्नो औकात भुल्न विवश थिए

कसरी एक अमिर

आफ्नो नोकरसँग सुतेको थियो

सडकमा

एक प्याकेट चाउचाउ

एक बोत्तल पानीको भरमा!

मृत्यु भए र त्रासको बिचबाटै

कसरी सिकाएको थियो प्रकृतिले

समानता, मानवता, दया र करुणा!

कसरी गरेको थियो प्रश्न एकमुस्ट

हाम्रो निर्माण अभ्यास

र निर्माण हेलचक्य्राइँमाथि!

कसरी गरेको थियो हमला

हाम्रो प्रशासन, पूर्वाधार र सेवाहरूमा

कसरी घचघचाएको थियो

हाम्रो ज्ञान, क्षमता, योजना र व्यवस्थापनमाथि!

नेपाली जातिमाथि परेको त्यो विपत्तिमा

कसरी उर्लिएको थियो

विश्व समुदायको सद्भाव

कसरी एकजुट भएको थियो आम समुदाय

लडखडाएका हाम्रो अवस्था सम्हालेर

रन्थनिएको बारपाक र लाप्राकहरूमा

मलम लगाउन आउने

ती तमाम दातालाई सलाम

ती तमाम सहृदयीलाई नमन!

उठ्दै छ हाम्रो धरहरा

रानीपोखरीमा पानी बारिंदैछ

चर्किएको सिंहदरबार टालियो प्रबलीकरणले

उठेका छन् गाउँका घरहरू

चाउरिएका छन् दिलका घाउहरू!

यत्तिले अझै पुगेको छैन

आम व्यवस्था र कार्य शैलीको

प्रबलीकरण गर्नुपर्नेछ

टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू

उठ्नु छ/उठाउनु छ यो देशको सान

उठेझैं सगरमाथाको उचाइ!

प्रकाशित: १२ वैशाख २०८० ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App