२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन खाना

होटल, रेष्टुरेन्ट, किराना पसल र मासु पसलहरूमा  सेवाग्राहीले प्रयोग गर्ने उपभोग्य खाद्य पदार्थ र खाना गुणस्तरहीन भएको पाइएको छ।

रातारात धनी बन्ने आशमा कतिपय होटल मालिक तथा खाद्यान्न तयार गर्ने कम्पनी तथा व्यक्तिहरूले मानव जीवनमा खेलवाड गर्दा यस्तो अवस्था आएको हो। यतिबेला उपभोक्ताहरूले उपभोग गर्ने हरेक सामग्रीमा शंका गर्नुपर्ने स्थिति आएको छ। जसरी बजारीकरण बढ्दै छ, त्यही अनुपातमा बजारमा  गुणस्तरहीन तथा अखाद्य सामाग्रीहरू भेटिन थाल्नु चिन्ताको विषय हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरूले पछिल्लो समय बजार अनुगमनको कामलाई तीव्र बनाएका छन्। हरेक दिन कहीँ न कहीँ अनुगमन गरिरहेका हुन्छन् तर सबैजसो अनुगमनमा केही न केही कैफियत भेटिएकै हुन्छ।

होटल तथा रेष्टुरेन्टमा सरसफाइ नभएको, बासी खाना भएको, तयारी खाद्य वस्तु नछोपी राखिएको, प्याकेटमा उल्लेख भए अनुसार तौल नमिलेका जस्ता कैफियत भेटिनु सामान्य भइसकेको छ।

विभागको टोलीले गत पुस २८ गते  काठमाडौं मनपा–३२, पेप्सीकोला दाउरा थकाली प्रालि   तथा काठमाडौं मनपा–३२, पुरानो सिनामंगल (पेप्सीकोला) मटन स्टेसन प्रालिमा अनुगमन गरेको थियो।

विभागका प्रवक्ता बालकुमारी शर्माका अनुसार दाउरा थकालीमा भाँडा माझ्ने र पकाउने स्थानसँगै रहेको, खुला अवस्थामा रहेको, तयारी खाद्य वस्तु नछोपी राखेको अवस्थामा राखिएको पाइएको बताइन्। साथै फोहोर फाल्ने भाँडोसमेत व्यवस्थित नरहेको लगायतका कैफियत भेटिएको उनले बताइन्। मटन स्टेसन प्रालिमा भने पकाउने खाद्य वस्तुहरूमा कृत्रिम खाद्य रङ प्रयोग गरिएको लगायतका कैफियत देखिएको छ।

कानुनी व्यवस्था के छ?

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तरको विषयमा विभिन्न मापदण्ड राखिएको छ। साथै अनुगमनको क्रममा गुणस्तरीहन तथा दूषित खाद्यवस्तु भेटिए सजायको व्यवस्था पनि गरिएको छ तर गुणस्तरहीन र दूषित खाद्यवस्तुको विषयमा फरक–फरक सजाय गर्ने व्यवस्था गरिएको छ।

कानुनमा गुणस्तरहीन खाद्यवस्तुको तुलनामा दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई बढी सजाय हुने व्यवस्था छ। ‘गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरे मान्छेको ज्यान जाँदैन तर दूषित खाद्यवस्तु प्रयोग गरे ज्यान नै जाने सम्भावना हुन्छ। त्यसैले सजायको मात्रा फरकफरक भएको हो’, प्रवक्ता शर्माले भनिन्।

गुणस्तरहीन खाद्यवस्तु भेटिए त्यसको सुनवाइ सम्बन्धित जिल्लाको प्रमुख जिल्ला प्रशासन अधिकारीको कार्यकक्षमा पुग्छ। दूषित खाद्यवस्तु भेटिए उक्त मुद्दा सम्बन्धित जिल्लाको जिल्ला अदालतमै लग्ने व्यवस्था गरिएको छ। कतिसम्म भने दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई जेल सजाय समेतको व्यवस्था गरिएको छ।

ऐनमा सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको वा तयार पारिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको, मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सूक्ष्म जिवाणु वा हानिकारक तत्त्व वा रसायनको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्यान्न उत्पादन, प्रशोधन, निकासी पैठारी, सञ्चय राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ।

यसैगरी जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, जिवाणुजन्य विष,  प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोद्दीपक (साइकोट्रपिक) रसायनको प्रयोग गरेको, तत्कालीन वा दीर्घकालीन असर पुर्‍याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी विकीरणयुक्त खाद्य समग्री पनि बिक्री वितरण तथा उत्पादन गर्न नमिल्ने व्यवस्था ऐनमा गरिएको छ।

यसैगरी ढाँटी वा झुक्याई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी पैठारी सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भनी ऐनमा स्पष्ट व्यवस्था गरिएको छ।

यसैगरी कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा अखाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ मिसावट गरी उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, बिक्री वितरण तथा उत्पादन गर्न नपाउने व्यवस्था कानुनमा गरिएको छ।

यसैगरी खाद्य सामग्री उत्पादन गर्दा सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका खाद्य पदार्थ भए उत्पादक तथा प्रशोधनकर्ताले र निकासी वा पैठारी गरिने खाद्य पदार्थ भए निकासी वा पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ भनेर ऐनमा लेखिएको छ।

ऐनमा भनिएको छ,  ‘नेपाली वा अंग्रेजी भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि त्यस्तो विवरण लेख्न सकिनेछ।’

प्रकाशित: ५ माघ २०८२ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App