१० वैशाख २०८१ सोमबार
कला

पाहुनाकाे पाेल

संस्मरण

पाहुना

अतिथि देवो भवः। हामी पूर्वीयहरूको संस्कृति। पाहुना भनेका देउता हुन् भन्ने मान्यताबाट हामी दिक्षित छौं।

‘पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिंदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ। जुन घरमा पाहुना आउँदैनन् त्यो घर अलक्षिनी घर हो। साँझमा आएका पाहुनालाई बास दिनुपर्छ।’ पाहुना सम्बन्धी यस्तैयस्तै मान्यता छन् हाम्रो समाजमा।

अँगेनामा दाउराको आगो भर्भराएमा, एकाबिहानै घरनजिकै काग कराएमा, भातभान्सा गर्दा महिलाका अनुहारमा मोसो पोतिएमा र साना केटाकेटीले कुचो लिएर घर बढारेमा घरमा पाहुना आउँछन् भन्ने मान्यता छ गाउँघरमा। यीमध्ये कुनै लक्षणले मनमा तर्कना भइरहँदा संयोग परेर हो कि के हो कहिलेकाहीं त साँच्चिकै  पाहुना पनि टुप्लुक्क आइपुग्थे।

गाउँघरमा पाहुनाको महत्त्व निकै हुन्छ। अझ केटाकेटी बेलामा बढी नै हुने। शहरमा त को आए, को गए, ख्याल गर्ने समय कसलाई होस्? डेरामा बसेको भए घरबेटी र वल्लापल्ला कोठाकालाई थाहा होला। आफ्नै घर भए सँगै जोडिएका घरलाई थाहा होला।

मैले यहाँ पाहुनासम्बन्धी ऊ बेलाका सम्झनाहरूलाई उल्लेख गर्न खोजेको हुँ।

केटाकेटी बेलामा घरमा कोही पाहुना आए भने साह्रै खुसी लाग्थ्यो। उफ्रौंउफ्रौं जस्तो। नाचौंनाचौं जस्तो। ठूलालाई पुर्‍याउनुपर्ने। सानालाई आइदिए हुने। आफ्ना घरमा मात्र नभएर वल्लाघर-पल्लाघर, तल्लाघर-माथ्लाघरसम्म पनि कोही पाहुना आए भने खुसी लाग्ने। कोही आउनेबित्तिकै हामी केटाकेटीहरू कट्टु तान्दै उहीं पुगिहाल्थ्यौं।

पाहुना पनि फरक-फरक खालका हुन्थे। कोही भरिला। कोही रित्ता।

लोग्ने मान्छे पाहुना आए भने प्रायः रित्ता हुन्थे। एकछिन ढुकेर बसो-बसो खिस्रिक्कै! कसैकसैलेचाहिं केटाकेटीलाई भनेर चक्लेट, मिठाई बोकेका हुन्थे। चक्लेट, मिठाई खान पाउनु त्यो बेला ठूलो कुरा थियो। जसले एउटा भए पनि चक्लेट, मिठाई दिन्छ ती पाहुना हाम्रा लागि साह्रै गतिला। पल्लाघर भिनाजु (इन्द्री दिदीका बुढा) ले हामीलाई जहिल्यै ठूला खालका राता मिठाइ लेइदिन्थे। त्यसैले उनलाई हामी बाटैदेखि पछ्याउँथ्यौं। ससुराल आउँदा उनी जहिल्यै काठको डण्डी भएको कालो छाता र रेडियो बोकेर आउँथे। रेडियो ठूलो पनि होइन, सानो पनि होइन ठिक्कको। दमाई बन्धुले सिएको कपडाको खोल भएको त्यो रेडियो उनी पहिला सिंगौरामा झुण्ड्याउँथे। छाता दलिनमाथि सिउरिन्थे। त्यसपछि मात्र सासू-ससुरासँग ढोगभेट गर्थे। हामी रेडियोभित्रबाट मान्छे बोलेको सुनेर मक्ख पर्थ्याै। रातो मिठाइले रातै भएको ओठ र जिब्रो अरूलाई देखाउन पाउँदा निकै मजा लाग्ने। केके न भेटियो जस्तो।

हाम्रा कान्छा मामा पनि खाम्तेलबाट आउँदा केही न केही बोकेर आउने। हिउँदको बेला सुन्तला, बदाम र अरू बेला हामी केटाकेटीलाई कहिले ठूला त कहिले साना मिठाइ लेइदिन्थे।

आइमाई मान्छे पाहुना आउँदाचाहिं कोही पनि रित्तो हात नआउने। मानौं, उनीहरूको शोभा नै कोसेली हो। अलिपर्तिरका घरसम्म पनि पहिल्याउँदै पुग्यो भने सिंगाे नभए आधि रोटी त भेटिने।

हाम्री काफ्लेकी फुपू चाँडैचाँडै माइत आइरहन्थिन्। काफ्ले लेकको ठाउँ। हिउँदमा उनी माइत आउँदा प्रायः थुन्से नै बोकेर आउँथिन्। लामालामा सप्रेका मुला, ठूला पात भएका रायोका साग, सप्रेका सुठुनी, सिमल तरुल, फूल तरुल, सिलाम, फिलुगेको अचार, गुन्द्रुक-सिन्की यस्तैयस्तै खानेकुरा हुन्थे थुन्सेमा। फिपीमा भने तिते फापरका बाबर हुन्थे। काफ्लेकी फुपू आउँदा हामी औधि रमाउँथ्यौं।

खामडाँडाकी ठूलेमा कहिलेकाहीं आउँदा फिपीमा च्वाइँ रोटी ल्याएकी हुन्थिन्। साथमा नैनी र मिनाहरू पनि पालो गरीगरी आउँथे।

लफ्याङकी मित आमा (राई) राम्री थिइन्। झरीझुट्ट सुनका गहना लाएर हिंड्थिन्। हाम्रोमा कहिलेकाहीं आउँदा आमा र मित आमा निहुरेर ढोगेको हेर्न हामीलाई साह्रै मजा आउँथ्यो। उनी पनि फिपीमा अलि साना खालका लस्याइला च्वाइँ रोटी लिएर आउँथिन्। अरूका भन्दा छुट्टै मीठा हुन्थे ती रोटी।

ज्वाइँ, भिनाजु, ससुरा, सम्धी जस्ता महत्व दिनुपर्ने पाहुना आए भने बाहिर सिकुवामा राडी ओछ्याइदिन्थे। राडी नभए दरी। अलिक हुनेखानेहरूकोमा त गलैंचै हुन्थ्यो।

पाहुनालाई छुट्टै कसौंडीमा चामलको भात पाक्थ्यो। घरकालाई चाहिं उही सधैंको जस्तो च्याँख्ला, ढिंडो। चम्लानी हालेको आलुको तरकारी पाहुनाको लागि विशेष हुन्थ्यो। घरमा गाई-भैंसी लैना भए दूध, दही, घिउ राम्रैसँग भेट्थे पाहुनाले। बकेर्ना भए अलिअलि। थाकेका भए त पाहुनाको मेजमानी नै राम्रो नहुने। अचारको नाममा धुलो अचार (फिलुंगे/ फर्सीको बियाँको), सिन्कीको अचार आदि हुन्थ्यो। त्यो पनि घरको अवस्था र महिलाको सीप हेरीकन। तरकारीका बटुका, करुवा वा आम्खोरामा पानी अनि ससाना प्लेट भए प्लेट, नभए दुना, बोहोता आदिले पाहुनाको थाल वरिपरि घेरिएको हुन्थ्यो। काठे पिरामा बसेर थालअगाडि ओप्सानी हाली आम्खोराको पानीले घेरेर सुरुप्प पार्दै देब्रे हातले आम्खोरामा टेकेर भात खान सुरु गरेको हेर्न खुब मजा लाग्थ्यो हामीलाई। अलि विशेष खालका पाहुनाका लागि बाहिर चुठ्ने ठाउँमा छुट्टै आम्खोरा वा करुवामा पानी र त्यसको छेउमा दुनामा चिनी अनि सिन्का राखिएको हुन्थ्यो।

हामीलाई लाग्थ्यो, पाहुना भनेका ठूला मान्छे हुन्। हामी उनीहरूले खाएको टुलुटुलु हेर्थ्याैं। कोही अलिअलि लजाएर खान्थे। कोही नलजाईकन। कोही एकदुई चोटि थपेर खान्थे। कोही भाँडै रित्याउँथे। पाहुनाले अलि थोरै खाए उनीहरूलाई पकाएको मीठो-मसिनो अलिकति हामीले पनि भेट्थ्यौं। पाहुनाले पनि घरमा सधैं यस्तै खान्छन् त? हामीलाई मनमा लाग्थ्यो। आखिर पाहुनाले पनि आफ्ना घरमा त उही हामीले जस्तै खाँदा रहेछन् भन्ने कुरा हामी उनीहरूका घरमा पाहुना लाग्न जाँदा थाहा पाउँथ्यौं।

पाहुना पनि विभिन्न स्तरका हुने। सधैं आइराख्ने पाहुनाको त्यति महत्व हुँदैनथ्यो। कसैलाई चामलको भात मात्रै भए हुने। तिहुन-तरकारी उही सबैलाई एकै खालको। कसैलाई मिसाएको भात (चामल र च्याँख्ला) भए पनि हुने।

कहिलेकाहीं आउने पाहुनाको भने विशेष महत्त्व हुन्थ्यो। त्यसमा पनि ससुरा, सम्धी, ज्वाइँ चेला आदिको सम्मान छुट्टै हुने। गाउँमा त्यतिखेर भनेको बेला मासु कहाँ पाउनु? खसी त दसैंबाहेक माघे/साउने सङ्क्रान्ति र अरू बेला कहिलेकाहीं मात्रै हो। क्षेत्री-बाहुनकोमा कुखुरा पाले पनि काट्ने चलन थिएन। गाउँमा परेवा भने पाइन्थ्यो। तिनै परेवाका बच्चाले विशिष्ट पाहुनाको स्वागत हुन्थ्यो। कति दिनमा मासु खान पाएपछि पाहुना पनि खुसी।

बेलुका भात खाइसकेपछि पाहुना मझेरीमा बस्थे। जाडोको समय भए मझेरीछेउको अँगेनोमा दाउरा बालिन्थ्यो। पाहुनाको अगाडि घरकालाई ढिडो-च्याँख्ला खान निकै शरम लाग्ने। पाहुनाले के भन्दा हुन् जस्तो हुने।

मझेरीमा बसेर राति अबेरसम्म पाहुनासँग ठूलाहरूले गफ गरेको सुन्न हामी केटाकेटीलाई निकै मज्जा लाग्थ्यो। आमा-दिदीहरू पनि जुठाभाँडा गरी भुइँ लोटाइसकेर पाहुनासँग बात मार्थे। हामीलाई यस्तो लाग्थ्यो, घरमा पाहुना आउनु निकै रमाइलो कुरा हो।

गाउँघरमा लोग्नेमान्छे पाहुनालाई बाहिर दलानमा सुताउने चलन थियो। खाट त कसैकसैकामा मात्र। नभए भुइँमा गुन्द्री-गजरा ओछ्याएर त्यसमाथि राडी। काठको पिरा र कोदाको भुसको सिराने।  

पाहुना आए भने गाउँघरमा लुगाफाटाकै समस्या।

घरमा कोही जागिरे वा धनीमानी मान्छे छन् भने मात्र तिनका घरमा फाल्टा केही जोर ओढ्ने, ओछ्याउने कपडाहरू हुन्थे। जस्तैः सिरक, डसना, डनलप, तन्ना, राडी, दरी आदि। पाहुनाका लागि फाल्टा लुगा नहुनेहरूले बेलुका अँध्यारो भएपछि अरूका घरबाट सुटुक्क लुगा ल्याई जस्केलाबाट भित्र छिराएर बाहिर लगी ओछ्याइदिन्थे।

कतिको घरमा त चामलको सञ्चिती नहुँदा आपत पर्ने। पाहुना अचानक आउँदा घरमा एक गेडो चामल छैन। साँझतिर धान कुट्ने कुरो पनि भएन। पाहुनाको अगाडि लाजमर्दो। फेरि, ढिकीमा लैजानु अगाडि धान सुकाएको पनि हुनुपर्‍यो। नभए चामल सग्ला नहुने। धुटोसरह कनिकै कनिका। त्यसैले साँझपख पाहुना आए भने कतिले त छिमेकबाट पैंचो ल्याई उनीहरूले थाहा नपाउने गरी घरको जस्केलाबाट भित्र छिरी पकाउने जोहो गर्थे। कतिका घरमा बत्ति बाल्न मट्टितेल र तिहुनमा हाल्न नुन, भुटुन पनि सकिएको हुन्थ्यो। त्यो पनि पैंचै मागेर टार्नुपर्ने अवस्था। ऐंचोपैंचो यसैगरी चलेको हुन्थ्यो गाउँघर।

ऊ बेला गाउँघरमा ठूलो समस्या भनेको शौचालयको। त्यत्रा घर-मतान, जग्गाजमिन भएर पनि दिसापिसाब गर्ने व्यवस्थित ठाउँ हुँदैनथ्यो। यो चेतनाकै अभावले गर्दा हो। वरपीपलका फेद, बाँस झ्याङ, पानी बग्ने भल, खोल्साखोल्सीहरू मान्छेका हगनगौंडी हुन्थे। घरपछाडिका पेटी पिसाब गर्ने ठाउँ। मुतले भल बगेको। गन्हाएर त्यस्तै हैरान। हिउँद याममा त बारीका पाटा खुला भएकाले बिहानबेलुका यसो कुनाहुँदि छलिएर दिसा गर्न सकिने। तर, बर्खा मासमा भने ठाउँको अभावले अति गाह्राे। घरकाहरूलाई त यताउति आफूले गरिरहने ठाउँ थाहा भएकाले सजिलै होला। तर, पाहुनाले साँझ-बिहान कहाँ जाने? खुवाइ गडबढ भएर पखाला चले के गर्ने? परेन फसाद! यो समस्या प्रायः बाक्ला घर भएका गाउँतिर बढी हुन्थ्यो। घर छेउछाउ वनजंगल र पाखापखेरा भएका ठाउँतिर भने दिसा-पिसाब गर्न सहजै हुने। हुन त, पाहुना लाग्न आउनेहरूको घर-गाउँतिर पनि आखिर अवस्था त्यस्तै त हो।

केटाकेटी बेला पाहुना जान बहुत मजा हुने। हामी पाहुना जाने भनेको धेरैजसो मामल हो। मामल भनेपछि हुरुक्कै! आमासँग दिखुवा खोलो तरेर बसेरीको पाखो, जुरेथुम्का, लिपे खोलो, बडका भञ्ज्याङ हुँदै खाम्तेल मामल पुगिन्थ्यो।

दसैंमा टीका लाउन जाँदा अँगेनामाथि खसीका साँप्रा, खुट्टा र करङ झुन्डयाइएको हुन्थ्यो। अलिअलि गन्हाएको मासु कति मीठो! मझेरीमा बा र मामाले भट्याएर टीको लाइदिन्थे। हाम्रो ध्याउन्न पैसामा हुन्थ्यो। भोर्लाका पातका दुनामा हालेर सुका, मोहोर यस्तै पैसा दिन्थे। दसैंका बेला खाम्तेल डाँडामा बेलुका ढकमक्क जून लाग्ने। बारीभरि निबुवा, कागती, सुन्तला र अम्बकका बोटहरू। जताततै अम्बक पाकेर पहेंलपुर। मंसिरतिर गयो भनेंचाहिं खाम्तेल गाउँ सुन्तलै सुन्तलाले पहेंलपुर। ठाउँठाउँमा जुनेलाका बोटहरू झपक्कै। बदाम फलेका त्यस्तै। सुठुनी त कति हो कति। यी सबै कुरा खान पाउने मामल स्वर्ग जस्तै लाग्थ्यो। म बासँग बाहिर खाटमा सुत्थें। बासँगै सुत्दा राति खोयाले ढाड कन्याइदिएको अहिले पनि सम्झन्छु। जेठा मामा रातैभरि सिलोक भन्थे। साँझ परेपछि खाम्तेल डाँडामा स्यालको हुँइया चल्थ्यो।

काफ्लेकी दिदीकोमा चाहिं प्रायः तीनतीन वर्षमा हुने देवालीमा गइन्थ्यो। काफ्लेली कटुवालहरूको देवाली ठूलो हुने। तीन वर्षे बोका सम्हालिनसक्नुका। अलि ठूलो भएपछि दिदीलाई तीजमा लिन जान्थें। भदौको बेला नास्पाती लटरम्मै! खाँदाखाँदै भुँडी चर्किन्थ्यो।

खामडाँडा ठूलेमाकोमा कहिलेकाहीं जाँदा साप्सु खोलाका असला माछा खान पाइन्थ्यो। एकातिर काँडाको डर। अर्कातिर माछाको स्वाद!

पाहुना लाग्ने क्रममा पल्लाघरका दाइसँग कहिलेकाहीं बार्लाङ इन्द्री दिदीकोमा जान्थ्यौं। राता चामलको भातसँग तोरीको तेल र प्याजसरी परेवाका बच्चाको झोल खाएको स्वाद अहिले पनि जिब्रोमा झुण्डिन्छ। केटाकेटी नाथे! गलेर लखतरान भएको ज्यान। मझेरीमा बात मार्दामार्दै परेवाको झोलले लपक्कै भएर भुसुक्कै निदाउँथें। त्यतैबाट हामी कहिलेकाही नाली बेदी दिदीकोमा जान्थ्यौं। बेदी दिदीकोमा आलुका चाना र बेसार हालेको पहेंलो चाम्रे कति मीठो!

अलिक ठूलो भएपछि चाहिं कतै पाहुना जाँदा एक्लै बाहिर सुत्नुपर्थ्याे। बाहिर सुत्दिनँ कसरी भन्नु? कस्तो डरछेरुवा रहेछ भन्छन्। भाते निद्राका सुरमा बेलुका एक छिन त झपक्क निदायो, त्यसपछि भने बोक्सी र भूतको डरले निदाउनै नसकिने। सायद केटाकेटीदेखि नै दिमागमा त्यही भरिएकाले होला। अँधेरी रातभन्दा पनि बढी जुनेली रातमा डर। अगाडि मुर्कुटो आएर ठिड्ग उभिन्छ कि भन्ने तर्कना। कुकुर भुक्दा र यताउति बिरालाहरू सर्‍याकसुरुक गर्दा त झन् सातै जान्थ्यो। राति पिसापले च्याप्दा पनि डरैले उठ्न नसकिने। बल्लबल्ल कुखुराको भाले बासेपछि भने घरमुनि पेटीबाट तल पुग्ने गरी धारो छुटाउनुको आनन्द बेग्लै। त्यसपछिको सुताइचाहिं मस्त र निस्फिक्री सुताइ।

‘एक दिनका पाहुना मीठोमीठो खाऊन्। दुई दिनका पाहुना अन्तै जाऊन्। तीन दिनका पाहुना आउँदै नआऊन्।’ पाहुनाका सम्बन्धमा यसो भन्थे गाउँतिर।

हुन त, पाहुना पनि एक दिनका राम्रा। दुई दिनसम्म अथवा। त्यसपछि त बोझै लाग्ने। हिउँद याममा अलि फुर्सद हुँदा त ठीकै होला। धेरैजसो कामको चटारो भएको बेला पाहुनासँग गफ गरेर बस्ने फुर्सद कसको? पकाइतुल्याई गरेर खुवाउने महिलाहरू नै घाँसदाउरा, मेलापातमा जतिखेरै कुदिरहनुपर्ने हुँदा पाहुनाको टहल कसले गर्दिने? लु पैंचै गरेर भए पनि एक छाक, दुई छाक त मीठोमसिनो नै खुवाऊलान्। त्यसपछि सँधै त्यस्तो कहाँ पाउनु? फेरि उस्तै खाले कोहीकोही पाहुना त मीठो खान पल्केरै चाँडोचाँडो आइरहने। झर्कै लाग्ने गरी। फेरि त्यस्तै पाहुनाचाहिं बढी दिन बस्न खोज्ने। गाउँघरमा खेतीपाती, वस्तुभाउ, घाँसदाउरा, मेलापात कामैकामको चटारो। पाहुनालाई काम लाऊँ, कसरी लाऊँ? मान्छेले के भन्छन्? आफैंले जानेर एउटा सिन्को भाँच्ने होइनन्।

यी भए पहाडका कुरा।

ऊ बेला काठमाडौंमा डेरा गरी बस्नेहरूकोमा एकपछि अर्को पाहुना आउँदाको हविगत त यहाँ बयान गरी साध्य छैन। एउटा अध्यारो कोठा। तीं सुत्ने, तीं पकाउने र तीं चुठ्ने। थुप्रै कोठाहरूको एउटा शौचालय, जतिखेरै मान्छेको लाइन। पानीको हाहाकार। पाहुनाको अनिश्चित बसाइ। घरबेटीको चप्पल गनाइ। अभावको जिन्दगी। गाउँबाट सपनाका झोलाझ्याम्टा बोकेर काठमाडौं शहर छिरेपछि यहाँको सङ्घर्षपूर्ण जीवनका बीचमा बेलाबेला थपिने पाहुनाहरूको कथा र व्यथाको महात्म्य निकै लामो हुन सक्छ। र, यो धेरैजसोको हकमा उस्तैउस्तै जस्तो लाग्छ।

यी हिजोका कुरा भए। आजभोलि समय बदलिएको छ। मान्छेको जीवनशैली फेरिएको छ। यातायातले जताततै गाउँहरू जोडिएका छन्। बिहाबटुल, व्रतबन्ध, पुराण लगायतका कार्जे तथा केही कुराको सूचना आदानप्रदान गर्न दिनभरि लगाएर मान्छे नै पुग्नुपर्छ भन्ने छैन। सबैका हातहातमा मोबाइल छन्। सञ्चसुबिस्ता के छ फोनमा बोले भइगो। नेट सुविधा जताततै छ,अनुहार हेरेर मन लागुञ्जेल बात मारे भइगो। फेरि घरपरिवारमा उहिलेका जस्ता टनाटन मान्छे कहाँ छन् र! छोराछोरी/नातिनातिना कोही शहरतिर, कोही विदेश। कोही घरतिरै भए पनि पढाइ वा जागिरमा व्यस्त।

घरमा त उही टक्रयाकटुक्रुक बुढाबुढी मात्रै। अनि आफू कता जानु? को आइदियोस् पाहुना। कोही आइहाले पनि हिंड्नैको हतारो। एक दिन त बसिदिऊन्। बात मारेर मन पखाल्न पाइयोस् भन्ने इच्छा हुँदाहुँदै पनि बस्ने फुर्सद छैन। कोही बसिहाले पनि बुढाबुढीसँग कसले बात मार्ने। खालि फोनमा मात्र झुन्डिन्छन्। 

ऊ बेलाको जस्तो खानको दुःख छैन। मासु कहिले खानु, कहाँ पाइएला भन्नुपर्दैन। नाथे! ब्रोइलर कुखुरा जताततै छन्। पायक पर्ने र नजिकका घरहरू मिलेर पालैपालो खसीहरू पनि बाक्लै काटिन्छन्। दही-मही नभएर के भो त! कोक, फेन्टा, डिउ जताततै पाइन्छ। खाजा के ख्वाऊँ भन्नु पर्दैन। आगो बालेर मकै भटमास कसले भुटोस्। पसलबाट चाउचाउ ल्यायो। भुलुक्क उमालो। एकैछिनमा भइहाल्छ। रोटी, बाबर हाल्ने दुःख कसले गरोस्। गुलिया, नुनिला विभिन्न खाले बिस्कुट जताततै छन्। चिया खान परे चिनी नै चाहिंदैन।

अहिले धेरै सुगरका रोगी हुन्छन्। दूध चिया त धेरैले मन पराउँदैनन्। कालो चिया दिए भइहाल्यो। भातसँग घिउ, अचार पनि त्यति कहाँ खान्छन् र! धेरैजसो ग्याँस्टिकका रोगी हुन्छन्। त्यसैले पाहुनाको टहल गर्न अहिले गाह्राे छैन। शहरतिर पनि अहिले उहिलेको जस्तो छैन। धेरै पाहुना लागेर दुःख दिन चाँहदैनन्। प्रायः जसोका आआफ्नै बन्दोबस्त हुन्छन्। उही यसो भेटघाटको लागि मात्रै हो यताउता जाने आउने।

यसरी आज समय त बदलियो। पाहुना लाग्ने शैली पनि फरक भयो। खानपिनका तरिका पनि अर्कै भए। तर, अहिले पनि समाजमा पाहुना नआउने र पाहुनालाई नरुचाउने घर राम्रो मानिंदैन।

हामी सामाजिक प्राणी हौं। नातागोता, इष्टमित्र, बन्धुबान्धव र आफन्तजनबिनाको जिन्दगी कहाँ रसिलो-भरिलो हुन्छ र! एक्लैले जतिसुकै ऐश्वर्य र सुखभोग गरे पनि त्यो कहाँ पूर्ण हुन्छ र! त्यो त निरस, अलिनो, उजाड र अपूर्ण हुन्छ।

त्यसैले हामीले यो भुल्नु हुँदैन कि पाहुना लाग्नु हाम्रो विशिष्ट परम्परा हो। पाहुनालाई गच्छे अनुसार स्वागत र सम्मान गर्नु परापूर्वकालदेखिको हाम्रो सुन्दर संस्कृति हो। पाहुना घरका लक्षिन हुन्। पाहुना हाम्रा देवता हुन्।

प्रकाशित: २३ चैत्र २०७९ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App