coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘नेपालीलाई ‘खस भाषा’ भन्ने कुनै निर्णय गरिएको छैन’

नेपाली भाषालाई खस भाषा बनाएर नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाएको भनी भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै नेपाल प्रज्ञाप्रतिष्ठानले आपत्ति जनाएको छ।

प्रतिष्ठानले शुक्रबार एक विज्ञप्ति जारी गरेर वर्तमान नेतृत्वले कुनै विभाग हटाउने काम नगरेको स्पष्ट पार्दै गलत एवं भ्रामक प्रचारबाट सचेत रहन आम जनसमुदायसमक्ष अपिल गरेको छ। सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जारी विज्ञप्तिमा नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्नु प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार भएको उल्लेख छ। नेपाली भाषालाई ‘खस भाषा’ भन्ने कुनै निर्णय नभएको पनि स्पष्ट पारिएको छ।

‘नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ तथा त्यसअन्तर्गत बनेको नियमावलीमा व्यवस्था भएअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा मूलतः भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्र गरी ५ ओटा विषय क्षेत्र तोकिएका छन् र यी विषय क्षेत्रका आधारमा आवश्यक विभागहरू गठन गर्ने प्रचलन रहेको पाइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान नेतृत्वले पनि त्यही आधारमा भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्र अन्तर्गत रहेर विभिन्न ११ ओटा विभागको गठन गरेको छ। तीमध्ये भाषाअन्तर्गत दुईओटा विभाग छन्। नेपालमा बोलिने विभिन्न मातृभाषाहरूको कोश, व्याकरणको विषयको संयोजन गर्नेगरी प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव) प्रमुख रहेको एउटा विभाग र नेपाली भाषा, कोश, व्याकरण (द्विभाषी तथा बहुभाषी कोशसमेत) को संयोजन गर्नेगरी प्राज्ञ परिषद्का सचिव डा.धनप्रसाद सुवेदी प्रमुख रहेको अर्को विभाग बनेको छ।’

प्रतिष्ठानको वर्तमान नेतृत्व नेपाली भाषालगायत नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, संवर्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र रहने विश्वास पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।

प्रकाशित: ४ चैत्र २०७९ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App