११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

पदक विजेतालाई उमा कुङ्फुको सम्मान

नेपाल उमा कुङ्फु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो। उनीहरूलाई नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजितकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरी सम्मान गरे।

भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्यान्ड र युकेमा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र २ रजत पदक जितेका छन् । सुजनले हालसालै जर्मनीको रेजेन्सबर्गमा भएको ब्याटल अफ बभेरियामा २ स्वर्ण जितेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेलाडीले हासिल गरेको उपलब्धिले उमा कुङ्फु संघलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गरे।

भूपेन्द्रले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि राष्ट्रलाई पदक दिलाउन निरन्तर क्रियाशील रहने बताए।

सुजनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै मनोबल उच्च भएको बताए।

प्रकाशित: ११ चैत्र २०८२ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App