१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

१० ऐतिहासिक नेपाली चलचित्रले पाए ‘युनिभर्सल’ प्रमाणपत्र

तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रको जाँचपास प्रक्रिया सम्पन्न भएको छ।

जाँचपास भएका सबै चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। चलचित्रहरूको जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र श्री उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसीलाई हस्तान्तरण गरेका छन्।

चलचित्रहरू यसअघि नै डिजिटाइज गरिए पनि कानुनी प्रक्रियाअनुसार जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक रूपमा प्रदर्शन गर्न बाधा पुग्दै आएको थियो।

‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका चलचित्रहरू, कुमारी, सिन्दुर, आमा, बदलिँदो आकाश, के घर के डेरा, शान्तिदीप, जीवनरेखा, मनको बाँध,परिवर्तन, हिजो आज भोलि यी चलचित्रहरु समेटिएका छन्।

जाँचपास प्रक्रिया सम्पन्न भएसँगै अब यी ऐतिहासिक चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्ने बाटो खुलेको छ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र इतिहाससँग सम्बन्धित पुराना तथा दुर्लभ चलचित्रको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण र पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रको अमूल्य इतिहासलाई संरक्षण गने, नयाँ तथा भावी पुस्तासम्म पुर्‍याउने अभियान रहेको उल्लेख गरेको छ।

प्रकाशित: १३ श्रावण २०८३ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App