२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

समानुपातिकमा रास्वपाले कटायो ५० लाख : कुन दलले कति मत पाए ?

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि अग्रता लिएको छ। मंगलबार बिहान १२ बजेसम्म देशभरका मतगणना केन्द्रबाट प्राप्त विवरण अनुसार रास्वपाले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ। 

निर्वाचन प्रणालीमा प्रतिनिधि सभा समानुपातिक तर्फ हालसम्म कुल १ करोड ४ लाख ६४ हजार ६८ मत गणना भएको छ। तीमध्ये रास्वपाले ५० लाख २३ हजार ६ सय ९५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। यसले समानुपातिकतर्फ पनि रास्वपालाई सबैभन्दा बढी सिट प्राप्त हुने सम्भावना बलियो बनेको देखिन्छ। प्रत्यक्षतर्फ पनि  रास्वपाले १२५ सिट जितेको  छ।  

समानुपातिकतर्फ अन्य प्रमुख दलहरूले भने अपेक्षाकृत कम मत प्राप्त गरेका छन्। जसमा नेपाली कांग्रेसले  १६ लाख ९७ हजार ६८० मत प्राप्त गरेको छ। राष्ट्रिय दलको रुपमा स्थापित रहेको पार्टीले प्रत्यक्ष तर्फ भने  १८ सिट मात्रै प्राप्त गरेको छ । 

त्यसैगरी  नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले प्रत्यक्षमा ९ सिट मात्रै पाउँदा समानुपातिकमा पनि मत खुम्चिएर १४ लाख १६ हजार १४०  प्राप्त गरेको छ। १० घटकहरु मिलेर एक बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ७ सिट मात्रै जितेको छ भने समानुपातिक तर्फ पनि धेरै मत प्राप्त गर्न सकेको छैन। उसले समानुपातिक तर्फ ७ लाख ७१ हजार २७० मत मात्रै पाएको छ ।  

प्रत्यक्षमा ३ सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ५९ हजार १९९ मत प्राप्त गरेको छ । त्यसैगरी हिन्दु धर्म राज्य स्थापना र राजको पुन आगमन हुनुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट मात्रै जित्दा समानुपातिक तर्फमा ३ लाख २५ हजार ९९६ मत मात्रै प्राप्त गरेको छ ।  

उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालले प्रत्यक्षमा हार व्यहोर्नु परेको छ भने समानुपातिकमा  १ लाख ७२ हजार ६८३ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार, जनमत पार्टीले ७७ हजार र अन्य साना दलहरूले पनि केही मत प्राप्त गरेका छन्।  

प्रकाशित: २६ फाल्गुन २०८२ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App