सुनसरी निर्वाचन क्षेत्र नं. ४ नेपाली राजनीतिका लागि महत्वपूर्ण मानिन्छ। जसले गर्दा क्षेत्र नं. ४ मा चुनावी नतिजा कस्तो आउँला? सबैको चासोको विषय बनेको छ। यसपटक यस क्षेत्रमा मुख्य गरी नेपाली कांग्रेसका उम्मेदवार पूर्वसञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका तर्फबाट पूर्वप्रदेश मन्त्री जगदीस कुसियत र रास्वपाका दिपक साहबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसका कार्की र एमालेका कुसियतबिच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा हुँदा कार्कीले झिनो मत अन्तरले विजयी भएका थिए। यसपटक पुरानै उम्मेदवार कार्की र कुसियतलाई रास्वपाका दिपक साहले कडा टक्कर दिएका छन्। कांग्रेसका उम्मेदवार कार्की पुराना राजनीतिज्ञ हुन्। एमालेका कुसियत पनि पुराना राजनीतिज्ञ र स्थानीय रैथाने हुन्। उनी एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज हुन्। दुवै जना स्थिर राजनीतिज्ञको रूपमा चिनिन्छन्।
साहको पृष्ठभूमि इन्जिनियर हो। उनी सिके राउतको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष भएर पछि विवाद भएपछि अर्को पार्टी जनस्वराज, सर्वोदयबाट उज्यालो पार्टी हुँदै रास्वपामा पुगेका हुन्।
क्षेत्र नं. ४ मा इनरुवा नगरपालिकाका तीनवटा, बराहक्षेत्रका ६ वटा, कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका आठ-आठवटा वडा, हरिनगर गाउँपालिकाका वडा नं. ३ बाहेक छवटा तथा रामधुनी नगरपालिकाको एउटा गरी ३२ वटा वडा रहेका छन्। यी वडाहरूमा उम्मेदवारलाई फरक फरक ढंगले मत आउने अनुमान गरिएको छ। जसमा इनरुवा क्षेत्रका तीनवटा वडामा कांग्रेस र एमालेलाई बढी मत आउने अनुमान गरिन्छ। यस्तै, बराहक्षेत्रमा एमाले र कांग्रेसको संगठन बलियो छ। तर, श्रम संस्कृति पार्टीका उम्मेदवार विष्णु रानाले एमाले र कांग्रेससँगै अरु सर्वसाधारणको पनि विशेषगरी जातीय मत आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन्।
कोशी, भोक्राहा नरसिंह र हरिनगर क्षेत्रबाट तीन जना उम्मेदवारबिच जातीय ढंगले मत विभाजन हुने अवस्था रहेको छ। यी तीनवटा गाउँपालिकामा मुस्लिम मतदाताको बाहुल्यता बढी रहेको छ। मुस्लिमसँगै यादवसहित अन्य साह, तेली, हलुवाईलगायतका अन्य जातजाति रहेका छन्। यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महफुज अन्सारीले पनि मुस्लिम समुदायको मत आफ्नो पक्षमा पार्ने उपायमा लागेका छन्। उनको साङ्गठानिक आधार भने कमजोर छ।
कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति अयूव अन्सारी पनि यसपटक जातिय ढंगले मत विभाजन हुने बताउँदै कांग्रेसको मुख्य प्रतिस्पर्धी रास्वपा नै भएको बताए। एमालेका पोष्ट कुमार नेपालले रास्वपाभित्र चिनिएका र स्थापित नेता नभएकाले गर्दा अन्तिममा एमाले तथा कांग्रेसले संगठनको बलमा मतदाता आफ्नो पक्षमा पार्ने हुँदा कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने बताए। रास्वपाको चुनावी अभियानका मिडिया परिचालन समितिका संयोजक पवन रौनियारले कांग्रेस र एमालेका उम्मेदवार पुरानै अनुहार भएको र आन्तरिक जनतामा असन्तुष्टि बढेकाले गर्दा स्वतफूर्त रूपमा रास्वपाको माहोल बनेको बताए। उनका अनुसार अहिलेसम्म कांग्रेस र एमालेले तल्लो तहसम्म टाइड गरेर कार्यकर्ता परिचालन नगर्दाको फाइदा पनि रास्वपालाई नै पुगेको छ।
यस क्षेत्रबाट जसपाबाट सविताकुमारी यादव, राप्रपाबाट प्रेम भट्टराईलगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। सविताले संगठन कमजोर भएता पनि महिलाको मत आफ्नो पक्षमा पार्ने कसरतमा छिन्। यस्तै, प्रेमले राप्रपाको संगठीत मत राम्रै पाउनेछन्।
उम्मेदवारहरू वर्षौंदेखि सप्तकोशी नदीको कटान, कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्किएर जंगली हात्तीले मच्चाउने आतंकबाट पीडितको समस्या समाधान गर्ने, गरिबी न्यूनीकरण गर्ने र बरोजगारी समस्या समाधान गर्ने जस्ता मुद्दा लिएर जनतालाई रिझाउन व्यस्त छन्।
२०४८ सालयता यस क्षेत्रले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएपनि विकासमा भने पछि पर्दै आएको छ। सुनसरी क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उप निर्वाचनमा भने एमालेका जगदीस कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। २०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले जितेका थिए।
क्षेत्र नं. ४ का नागरिकहरूले स्वास्थ्य सेवाको लागि धरान र बिराटनगर धाउनुपर्ने बाध्यता हट्न सकेको छैन। उच्च शिक्षाका निम्ति पनि सहज छैन्। यस क्षेत्रका बासिन्दा आर्थिक रूपमा पिछडिएका छन्। क्षेत्र नं. ४ मा यसपटक एक लाख ३५ हजार ३४० जना मतदाता रहेका छन्।
प्रकाशित: ९ फाल्गुन २०८२ १९:३३ शनिबार





