फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएका छन्।
एमालेका उम्मेदवार शान्तिलाल महत, नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही, र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषी धितालले क्रमशः बाचापत्र, प्रतिज्ञापत्र र संकल्प पत्रमार्फत शिक्षालयको स्तरोन्नति गरेर विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका छन्। तर, स्थानीयका दृष्टिले यी आश्वासनहरू विश्वासिलो देखिएका छैनन्।
जुम्लाबासी नन्दबहादुर खत्री भन्छन्, 'चार दशकसम्म कसैले ध्यान दिएन। अहिले चुनावताका बाचाले सार्थकता पाउने हो कि? भन्नेमा शंका छ।' २०३७ सालमा स्थापना भएको शिक्षालय जीर्ण भवन, पुरानो संरचना र सीमित पूर्वाधारमा सञ्चालन हुँदै आएको छ। विद्यार्थीको संख्या बढ्दै गए पनि संस्थागत क्षमता स्तरोन्नति गर्न सकिरहेको छैन। २०६४ को संविधानसभादेखि २०७९ को प्रतिनिधिसभा निर्वाचनसम्म निर्वाचित जनप्रतिनिधि शिक्षालयको अवस्थाप्रति गम्भीर देखिएका छैनन्।
नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन्, 'राज्यको स्रोतसाधनले नधान्ने विश्वविद्यालय बनाउने कुरा केवल एजेण्डामै सीमित हुन्छ। उम्मेदवारको काबुमै यो विषय पर्नै सक्दैन। पर्याप्त पूर्वाधार नभएको शिक्षालयलाई विश्वविद्यालय बनाउने वाचा केवल चुनावी एजेण्डा हो।'
स्थापनाकालदेखि हालसम्म शिक्षालयले करिब ७ हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ। करिब ६० प्रतिशत विद्यार्थी कर्णालीमै कार्यरत छन्। शिक्षालयबाट स्नातक भएका केही व्यक्ति सांसद र मन्त्री बनेका छन्। झण्डै ४ हजार पूर्वविद्यार्थी राज्यका विभिन्न ओहोदामा कार्यरत छन्। तर ४३ वर्ष पुराना संरचनामै शिक्षालय सञ्चालन हुँदै आएको छ। छात्रावास चुहिने छानाभित्रै चलेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–३ मा फैलिएको ६ सय ५ रोपनी क्षेत्रफलमा शिक्षालयमा ५८ भवन छन्, अधिकांश भवन जीर्ण अवस्थामा शिक्षालय प्रमुख विकल अधिकारी भन्छन्, 'पूर्वाधार सुधारबिना विश्वविद्यालयको सपना केवल चुनावी एजेण्डामा सीमित रहन्छ। अहिले सिभिल इन्जिनियरिङ, फार्मेसी, एजी प्लान्ट साइन्स, फरेस्ट्री र एचएमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन्। जसमा सिभिल तर्फ १ सय ३५ जना, फार्मेसी तर्फ १ सय १४, एजी प्लान्ट साईन्स तर्फ १ सय २८, फरेष्टी तर्फ ७५ र एचए तर्फ ३८ जना छन्।'
स्थानीय समुदाय विश्वविद्यालय बनाउने ठूलो सपनाभन्दा पनि भौतिक संरचना सुधार, विद्यार्थीको पहुँच र विपन्नका छोराछोरीलाई प्राविधिक शिक्षा सुनिश्चित गर्नु आवश्यक रहेको बताए। अधिकारी भन्छन्, 'विश्वविद्यालय बनाउने संकल्प स्वागतयोग्य छ, तर पुराना भवन मर्मत, पाठ्यक्रम सुधार र बजेट व्यवस्थापनबिना त्यो पूरा हुँदैन। ठूला सपना भन्दा उपलब्ध पूर्वाधारको सदुपयोग गरेर व्यवहारिक वातावरण बनाउनु प्राथमिकता हो।'
स्थापनाकालमा शिक्षालय कर्णाली अञ्चलका पाँच जिल्ला र जाजरकोट, दैलेख, सुर्खेत, बझाङ र बाजुराका विद्यार्थीको अध्ययनस्थल बनेको थियो। हाल यसको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लामा फैलिएको छ। दक्ष जनशक्ति उत्पादन: सिभिल इन्जिनियरिङ, कृषि, फार्मेसी, फरेस्ट्री जस्ता विषयमा रोजगारमूलक प्राविधिक जनशक्ति, व्यावहारिक सीप विकास: परम्परागत शिक्षाभन्दा फरक, आधुनिक र व्यवहारिक ज्ञान,क्षेत्रीय विकास: पिछडिएको कर्णालीमा शिक्षा र ज्ञानको पहुँच पुर्याएर स्थानीय विकासमा योगदान र आत्मनिर्भरता: स्वरोजगार सिर्जना र प्राविधिक सीपमार्फत आत्मनिर्भर बन्न सहयोग गर्ने प्रमुख उदेश्य छन्।
४३ वर्ष पुराना भवन, सीमित पूर्वाधार र बजेट अभावको बीचमा उम्मेदवारको विश्वविद्यालय बनाउने आश्वासन केवल चुनावी बाचा जस्तो देखिन्छ। स्थानीयको माग र आवश्यकतालाई प्राथमिकता दिनु, विद्यमान संरचना सुधार गर्नु र विद्यार्थीको पहुँच सुनिश्चित गर्नु भनेको स्थायी विकास र साँचो प्रभाव हो। कर्णाली प्राविधिक शिक्षालयको भविष्य विश्वविद्यालयको सपनाभन्दा बढी वास्तविक सुधार र प्राविधिक शिक्षा पहुँचमा निर्भर छ।
प्रकाशित: ९ फाल्गुन २०८२ २१:१६ शनिबार





