राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं छाडेर मधेसमा चुनाव लड्न आउने पर्यटक उम्मेदवारलाई ठाउँको ठाउँ रोक्न मतदाता समक्ष अपिल गरेका छन्।
बुधबार सर्लाहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापातर्फ लक्षित गर्दै प्रहार गरेका हुन्।
काठमाडौं-४ छाडेर सर्लाही-४ बाट उम्मेदवारी दिँदै आफूलाई मधेसको बेटा बताएका थापाको अभिव्यक्तिप्रति लामिछानेले कटाक्ष गरे।
लामिछानेले भने, ‘मलाई थाहा छ यहाँ अमरेशजीले जित्नुहुन्छ। तर, यदि अमरेशजी नभएको भए पनि यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो। तर, कोही काठमाडौंबाट यहाँ आएर मधेसको बेटा हुँ भनेर अहिले नयाँ ठाउँ लिने जुन प्रयास भएको छ, यस पटक त्यसलाई ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईंको हो।’
उनले काठमाडौंबाट आएर मधेसको भावनात्मक सेन्टिमेन्टसँग खेल्न खोज्नेलाई यसपटक मधेसले अस्वीकार गर्नुपर्नेमा जोड दिए।
लामिछानेले राजनीतिमा क्षेत्रियताको नारा अब अन्त्य हुनुपर्ने बताए। उनले भने, ‘अब मधेस, देश, हिमाल, पहाड... यो सटर अब सत्ताका लागि बन्द गर्ने हो। अब पहाडी र मधेसी भनेर, म यहाँको मान्छे म त्यहाँको मान्छे भनेर होइन, एकैपटक देशलाई न्याय दिने गरी नेपालको कुरा गर्ने हो।’
आफ्नो विगतको पत्रकारिता र सङ्घर्षका दिनहरू सम्झिँदै लामिछानेले सर्लाहीसँग आफ्नो पुरानो नाता रहेको बताए। ‘हिजो सर्लाहीवासीलाई अन्याय पर्दा ज्यानको बाजी लगाएर लडेको हुँ। सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा सँगै उभिएको पुरानो नाता हो,’ उनले भने, ‘यस पटक अलिकति न्याय मलाई चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ।’
प्रकाशित: १३ फाल्गुन २०८२ १८:३८ बुधबार





