चुनाव आउँदै गर्दा बाँके, टिटिहिरियाका ६३ वर्षीय गुड्डु थारुको मनमा अहिले कुरा खेलिरहेका छन्। हरेक चुनावमा पार्टीका उम्मेदवारहरू घरदैलोमा आएर आश्वासन मात्रै बाँड्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन्।
उनले कयौं पटकका चुनावमा आश्वासन मात्रै पाए। यस पटक पनि उम्मेदवारले आश्वासन मात्रै बाँड्ने हुन् कि भन्ने आशंका उनको मनमा उब्जिएको छ। तसर्थ, उनी अहिले कुनै पनि उम्मेदवारप्रति विश्वस्त हुन सकेका छैनन्।
‘यस पटक पनि चुनावमा उम्मेदवारहरू घरमा आश्वासन बाँड्न आउने होलान्, चुनाव भनेकै आश्वासन बाँड्ने र जनतालाई मूर्ख बनाउनलाई आउँदो रहेछ,’ थारुले नागरिकसँग भने। उनको परिवार कृषि पेशामा निर्भर रहेको छ। थारुले आफ्नो एक बिघा ५ कठ्ठा र केही साहुको जमिन अधिया बटैया गरेर कृषि कर्म गर्दै आएका छन्। कृषि पेसा सम्हालिरहँदा उनलाई हरेक वर्ष सिंचाई र रासायनिक मलको समस्या निम्तिन्छ।
आफूजस्ता किसानले हरेक वर्ष भोग्नुपर्ने सिंचाई र मलको समस्या समाधान गरिदिन चुनावका बेला उम्मेदवारले गरेका बाचा पुरा नहुँदा उनी आक्रोशित छन्। ‘सिक्टा सिंचाई आयोजनाको नहर जेठी नालासम्म ल्याएर खसालेको छ, त्यो नाला र गाउँको दुरी धेरै टाढा छ, हाम्रो गाउँसम्म सिक्टाको नहर आइपुगेको छैन,’ उनले भने, ‘नहर सिंचाई नहुँदा बहुत समस्या छ, स्यालो ट्युबवेलको सिंचाईले पुग्दैन।’
उनका दुई छोरा र बुहारी पनि कृषिमै आबद्ध छन्। समय–समयमा छोराहरू बाहिरतिर पनि कमाई गर्न जान्छन्। गाउँमा बिजुली, सञ्चार, बाटो घाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको भने राम्रै विकास भएको उनको ठम्याई छ। स्थानीय सिमलघारी–चाँदनी चोक जोड्ने सडक भने केही ठाउँमा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थारुले सुनाए।
चुनाव आउँदै गर्दा अहिले टिटिहिरियाकै छोटेराज थारु पनि त्यति उत्साहित छैनन्। चुनावका बेलामा मात्रै नेताहरू गाउँमा आउने र जनतालाई ‘बेकुव’ बनाउने गरेको उनी बताउँछन्। ‘चुनावको बेलामा नमस्कार गर्दै गाउँमा आउँछन्, धेरै आश्वासन बाँडेर जान्छन्, तर चुनाव गइसकेपछि सबै कुरा बिर्सेर जान्छन्,’ ६३ वर्षका छोटे राजले भने। किसानलाई सिंचाई र मलको व्यवस्था गरिदिएमा आफूहरूको सपना पुरा हुने उनको बुझाई छ। छोटे राजले थपे, ‘किसानका मागहरू धेरै छैनन्, हामीले खोजेको बेलामा सिंचाई र मलको व्यवस्था भयो भने अरू केही चाहिँदैन।’
गाउँमा सिक्टा नहर नआउँदा स्यालो ट्युबवेल र आकाशको सहारामा खेती गर्नु परेको दुखेसो पोख्दै उनले भने, ‘सिक्टाले राप्ती नदीको पानी ल्याएर जेठी नालामा खसाल्छ, पानी खोलामा बगेर खेर गइरहेको छ, त्यो पानीले हाम्रो खेतबारीमा सिंचाई गर्न पाउँथ्यौँ भने अमृत नै हुन्थ्यो।’
सिक्टाको नहर टिटिहिरिया सम्म पुर्याइदिन धेरै पटक अनुरोध गरेको र स्थानीय जनप्रतिनिधिमार्फत पनि दबाब सिर्जना गरिएको छोटेराज बताउँछन्। उनका अनुसार सिंचाई जस्तै रासायनिक मलको समस्या पनि किसानले उत्तिकै बेहोर्नु परिरहेको छ। ‘खेती गर्ने बेलामा सहुलियतको सरकारी मल समयमा कहिल्यै पाउँदैनौँ,’ उनले भने, ‘दुई नम्बरी मल किन्दा धेरै महंगो पर्छ।’
टिटिहिरिया जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा पर्छ। साबिकको टिटिहिरिया गाउँ विकास समिति र हाल बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा पर्ने उक्त गाउँमा थारु समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको छ। यस्तै केही घरधुरी पहाडी र मुस्लिम समुदायको पनि छ। यहाँका प्राय: व्यक्तिहरू कृषि पेशामै निर्भर रहेका छन्। अधिकांशले मौसम र बेमौसम अनुसारका तरकारी खेती गर्छन्। यहाँ किसानले न्यूनतम ५ कठ्ठादेखी बिघौं बिघामा पनि तरकारी खेती गरिरहेका छन्।
अत्यन्तै मेहनती किसानका रुपमा चिनिने यहाँका स्थानीयले बाह्रै महिना तरकारी उत्पादन गरेर नेपालगन्ज, कोहलपुर र खजुरासम्म लगेर बिक्री गर्छन्। तरकारी खेतीकै कारण यहाँका गृहणी महिलाहरू आर्थिक रुपले सक्षम बनेका छन्। स्थानीय सरकारले यहाँ ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत हरेक वर्ष विभिन्न गतिविधि गरिरहेको देखिन्छ।
किसानका लागि स्थानीय सरकारको बजेटले समेट्न सक्ने खालका कार्यक्रमहरू सञ्चालनमा छन्। तर, संघीय सरकारको पहलले मात्र सम्भव हुने रासायनिक मल र सिक्टाको सिंचाई नहरको समस्या यहाँका किसानका लागि सधैँ टाउको दुखाइको विषय बनिरहेको छ।
‘स्थानीय सरकार(गाउँपालिका)ले त किसानको लागि सानातिना काम गरिरहेको छ, तर माथिबाट हुनुपर्ने कामहरू भएका छैनन्’ ६२ वर्षका अर्का किसान कृपाल थारुले भने, ‘हाम्रा यी समस्या र गुनासालाई जसले सम्बोधन गर्न सक्छ, उसैलाई हामीले यसपालि भोट दिने हो।’
प्रकाशित: ४ फाल्गुन २०८२ १२:२८ सोमबार





