३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

चुनाव आयो तर मुसहर बस्तीमा न नेता छिरे, न त भोट हाल्न सिकाइयो !

चितवनको सौराहा नजिकै रहेको मुसहर बस्तीमा २९ घर छन्। त्यहाँ यसअघिका निर्वाचनमा उम्मेदवारहरूको चहलपहल निकै हुन्थ्यो। अघिल्ला निर्वाचनहरूमा उम्मेदवारहरूको बाक्लो उपस्थिति हुने गरे पनि यस पटक भने उम्मेदवारहरू भोट माग्न अझै आइपुगेका छैनन्। यस पटक विगतमा जस्तो उम्मेदवार भोट माग्न अझै आइपुगेका छैनन्।

‘फागुन २१ गते चुनाव हुने भन्ने त थाहा छ। नेताहरू बाटोबाटो हिँडेर जान्छन् तर, यहाँ पस्दैनन्,’ चितवनको रत्ननगर नगरपालिका ८ स्थित माझी मुसहर टोलकी अध्यक्ष बासमती माझीले भनिन् ‘अहिलेसम्म एक जना मात्र नेता हाम्रो बस्तीमा आएको छ।’

जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ६२१ रहेको छ भने यस निर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय देखिए पनि मुसहर बस्तीमा भने प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रम विगतमा जस्तो हुन नसकेको उनले बताइन्।

यहाँका मुसहरहरू २०५९ सालअघि राप्ती किनारमा बस्दै आएका थिए। त्यहाँ बाढी आएपछि विस्थापित भएका मुसहर बस्तीलाई लुमन्ती संस्थाले सबैको घर बनाइदिएको थियो। यहाँ सबैको सात सात धुर जमिन छ। उनीहरूले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। राजमणी माझी सौराहामा ढुङ्गा चलाउने काम गर्छन्। बुधवार दिउँसो उनलाई खाना खाएर ढुङ्गा चलाउन हतार थियो। तर उनलाई नेताहरूले अहिलेसम्म भोट मागेका छैनन्। ‘चुनावमा कोको उठ्नुभएको छ पनि थाहा छैन,’ साइकलमा सौराहातर्फ हिँडिरहेका माझीले भने ‘गाउँकाले के भन्छन् त्यही अनुसार भोट हाल्नुपर्ला।’

विगतमा उम्मेदवारहरूले बस्तीमै पुगेर मत माग्ने, समस्या सुन्ने र विभिन्न प्रतिबद्धता जनाउने गर्थे। यस पटक त्यस्तो गतिविधि नदेखिँदा समुदायले अनौठो ठानेका छन्। निर्मला माझी एक जना नेता आएर यहाँको समस्या समाधान गर्छु भन्दै मत मागेको बताइन्। ‘यहाँ स्वास्थ्य, शिक्षा आवश्यक छ। एकसिंगे गैँडा बस्ती पसेर सताउने गर्छ,’ उनले भनिन् ‘अहिले बस्तीलाई एउटा विद्युतको पोल आवश्यक परेको छ। राखिदिएका छैनन्।’ 

उनीहरूले मुसहर माझी समुदायको संस्कृति झल्कने एउटा क्लब बनाउने योजना बनाएका छन्। यसका लागि जनप्रतिनिधि आवश्यक रहेको उनले बताए। सीमान्तकृत समुदायमा राजनीतिक पहुँच र सहभागिता सुनिश्चित गर्न उम्मेदवारहरू स्वयं बस्तीमा पुगेर संवाद गर्नुपर्ने विज्ञले बताउँदै आएका छन्। भोगरी मुसहरीले नेता आएर आश्वासन दिए पनि काम नगर्ने बताइन्। ‘नेताहरू आउँछन् तर काम गर्दैनन्’ उनले भनिन् ‘धारामा पानी आउँदैन।’

यहाँको जनसङ्ख्या १ सय ५० रहेको छ। कक्षा १२ पास गर्ने एकाध मात्र छन्। उनीहरूका अनुसार यस पटक मतदाता शिक्षा कार्यक्रम समेत बस्तीमा आइपुगेको छैन।

‘पहिले चुनाव आउँदा कर्मचारीहरू आएर कसरी मतदान गर्ने भनेर सिकाउनुहुन्थ्यो। यस पटक कसैले पनि जानकारी दिन आएका छैनन्,’ अञ्जली माझी भन्छिन् ‘टिकटक, फेसबुक हेरेर अलिअलि सिकेका छौँ।’ यहाँका जनतामा मतदाता शिक्षामा कमी रहेको उनले बताइन्। ‘धेरैजसो मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका र मतदान स्थलसम्बन्धी स्पष्ट जानकारी छैन,’ उनले भनिन् ‘यस विषयमा जनतालाई बुझाउन आवश्यक छ।’

नेपालमा निर्वाचन सञ्चालन तथा मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी निर्वाचन आयोगले वहन गर्दै आएको छ। आयोगले देशभर मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने नीति लिएको भए पनि दुर्गम तथा सीमान्तकृत बस्तीमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

निर्वाचनको मिति नजिकिँदै आएको छ। मतदाता शिक्षा अभावले मतदानमा सहभागिता दर घट्न सक्ने तथा बदर मतको सङ्ख्या बढ्न सक्ने जोखिम हुन्छ। सीमान्तकृत समुदायमा लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नु आवश्यक रहेको उनले बताइन्।

प्रकाशित: १३ फाल्गुन २०८२ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App