राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले सत्ताको दम्भ त्यागेर विगतबाट पाठ सिक्न सरकारलाई आग्रह गरे। प्रतिपक्षले सरकारका कमजोरी औँल्याउँदा त्यसलाई विरोधका रूपमा नलिन आग्रह गर्दै उनले आफूहरू सरकारका शत्रु नभई खबरदारी गर्ने पक्ष भएको बताए।
‘हामी सरकारका प्रतिपक्ष हौँ, शत्रु होइनौँ, समर्थक हौँ, तर दास होइनौँ,’ उनले भने।
शाहीले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जगमा वर्तमान सरकार बने पनि आन्दोलनका क्रममा भएका हत्या तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गर्न नसकेको आरोप लगाए।
राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई कारबाही गर्न प्रमाणसहितको प्रतिवेदन दिएको लामो समय बितिसक्दा पनि अनुसन्धान अघि नबढेको उनको दाबी थियो।
‘राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने र निजी व्यक्तिको सम्पत्तिसम्म जलाउने अपराधीलाई कारबाही गर्न प्रतिवेदन बुझाएको ६ महिना भयो। तपाईंहरूले एउटा अनुसन्धानको ‘अ’ पनि गर्नुभएको छैन। अनि तपाईं र हिजोको सरकारका बीचमा फरक के भयो ?’ उनले प्रश्न गरे।
आन्दोलनका क्रममा गोली चलेका घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै उनले सरकारले सडकमा रहँदा हत्यारा भनेर आरोप लगाएका व्यक्तिमध्ये एक जनालाई समेत पक्राउ गर्न नसकेको बताए।
शाहीले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी र क्यान्टोन्मेन्टलगायत करिब ६५ वटा ठूला भ्रष्टाचारका प्रकरणको छानबिन गर्न माग गरे।
उनले चीनबाट करिब ६ अर्ब ६७ करोड रुपैयाँमा खरिद गरिएका पाँचवटा जहाज सञ्चालनमा आउन नसकेको विषयमा समेत छानबिन आवश्यक रहेको बताए।
‘चीनबाट करिब ६ अर्ब ६७ करोडमा किनिएका पाँचवटा जहाज उड्नै नसकेर त्रिभुवन विमानस्थलको कुनामा सडिरहेका छन्। त्यो सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री अहिलेका गृहमन्त्रीसँग कुममा कुम जोडेर हिँडिरहेका छन्, यसको अनुसन्धान कहिले हुन्छ ?’ उनले प्रश्न गरे।
शाहीले भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न भई विदेशमा रहेका व्यक्तिलाई कानुनी प्रक्रियामार्फत नेपाल ल्याउनुपर्ने बताए। इन्टरपोलको रेड कर्नर नोटिस कार्यान्वयन गरी दोषी ठहरिएकाबाट सार्वजनिक रकम असुल गर्नुपर्ने उनको माग थियो।
स्वास्थ्य क्षेत्रको अवस्थाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा उपचारका लागि गरिब नागरिकले लामो समय पालो कुर्नुपर्ने तथा आर्थिक अभावका कारण बिरामीले समस्या भोग्नुपरेको उनले बताए। स्वास्थ्य बिमा कार्यक्रम तत्काल पुनर्बहाली गर्न पनि उनले माग गरे।
युवाहरू विदेशिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शाहीले देशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताए। ‘हामी यस्तो नेपाल चाहन्छौँ, जहाँ छोराले विदेशबाट फोन गरेर ‘आमा, म ठिक छु’ भन्नु नपरोस्, बरु आमा र छोरा यही देशमा सँगै बसेर ‘हामी ठिक छौँ’ भन्ने दिन आओस्,’ उनले भने।
प्रकाशित: १६ आश्विन २०८३ १४:४२ शुक्रबार





