१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

दशैंमा निर्दोष पशुमाथि हुने क्रू’रता रोक्नुपर्छ : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैंका बेला पशुबलिका नाममा निर्दोष पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्न सरकारसँग माग गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले दशैंलाई मानिसले उत्सवका रूपमा मनाए पनि निर्दोष पशुका लागि भने दशैं पीडादायी बन्ने गरेको बताइन्।

उनले दशैंमा देवी दुर्गाको आराधनाभन्दा खसी, बोका र राँगा काट्ने विषयमा बढी ध्यान जाने गरेको टिप्पणी गरिन्।

‘हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष पशुहरूका लागि भने दशैं दशा नै हो, सभामुख महोदय। किनभने दशैंमा माता दुर्गाको आराधनाभन्दा पनि खसी, बोका र राँगा कसरी काट्ने भन्ने सोचमा बढी ध्यान जाने गरेको छ’, उनले भनिन्,‘ खेतका आली–आलीमा लखेट्दै, भीडभाडमा तरबारले घोच्दै वा लौरीले ढाडमा कुट्दै पशुहरूमाथि क्रूर व्यवहार गरिन्छ। यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्किएकी हुँ। आज पनि हजारौँ–लाखौँ निर्दोष पशुहरूको सार्वजनिक रूपमा बलि दिइन्छ, त्यो पनि विभत्स हत्या गरेर।’

आफूले सानैदेखि दशैंका बेला पशुमाथि हुने यस्ता व्यवहार देख्दै हुर्किएको उल्लेख गर्दै उनले विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा सजाय दिने कानुनी व्यवस्था रहेको बताइन्।

उनले नेपालमा पनि पशु कल्याणका लागि कानुन बनेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठाइन्।

‘हाम्रो देशमा पशु कल्याणका लागि बनेको कानुनी व्यवस्था किन यति कमजोर छ ? पशु सेवाका नाममा बनेका नीतिले पशुबाट मेवा मात्र लिने तर उनीहरूको वास्तविक सेवा र कल्याण नगर्ने अवस्था कहिलेसम्म रहन्छ ?’ उनले प्रश्न गरिन्।

सांसद तामाङले पशु कल्याणसम्बन्धी नीतिमा सुधार गर्दै पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रकाशित: १६ आश्विन २०८३ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App