१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सामाजिक सञ्जाल र ग्राउण्ड जिरोको भिन्नताः पुराना दलमा पनि उस्तै भीड

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि ‘पुराना’ भनिएका राजनीतिक दलका नेताहरू असहज परिस्थितिमा परेका थिए । आन्दोलनको आक्रोश सडकमा मात्र सीमित रहेन, सामाजिक सञ्जालमा पनि तीव्र रूपमा फैलियो । फेसबुक, टिकटक र एक्सजस्ता माध्यममा पुराना दल र तिनका नेतृत्वविरुद्ध कडा आलोचना, व्यंग्य र आक्रामक टिप्पणीहरू देखिन थाले । केही दिनसम्म त यस्तो वातावरण बन्यो कि ती दलका नेताहरू सार्वजनिक कार्यक्रममा देखिनै मुस्किल भयो । असुरक्षाको महसुस गर्दै कतिपय घरभित्रै सीमित भए भने केही सुरक्षित स्थानतर्फ सरेका थिए ।

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले पुराना दलको राजनीतिक आधार धरापमा परेको जस्तो आभास दिन्थ्यो । कतिपय पोस्ट र टिप्पणी पढ्दा अब देशको नेतृत्व नयाँ शक्ति वा नयाँ पुस्ताले लिने निश्चित भइसकेको सन्देश जाने अवस्था थियो । तर समयसँगै राजनीतिक परिदृश्य फेरिन थाल्यो । नेताहरू क्रमशः सामाजिक सञ्जालमै आफ्ना धारणा राख्न थाले । आलोचनाका बीच पनि संयमित प्रतिक्रिया दिँदै उनीहरूले सुधार र परिवर्तनको प्रतिबद्धता दोहो¥याए ।

यहीबीच दुई ठूला दलका महाधिवेशन सम्पन्न भए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो पुरानै नेतृत्वलाई निरन्तरता दियो भने नेपाली कांग्रेसमा भने विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भयो । युवापंक्तिको दबाबपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भए । कांग्रेसले ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित नयाँ सन्देश प्रवाह गर्न थालेपछि राजनीतिक माहोल थप तातिएको छ । चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालमा देखिएको धारणा र भौतिकरूपमा देखिएको सहभागिताबीच अन्तर देखिन थालेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित कांग्रेसको चुनावीसभामा उल्लेखनीय भीड देखियो । कार्यक्रममा सभापति गगनकुमार थापा प्रमुख वक्ताका रूपमा उपस्थित थिए । केही दिनअघि यही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिमा भएको सभामा पनि उस्तै भीड देखिएको थियो । त्यसपछि आयोजित कांग्रेसको सभामा सहभागिता कम हुने अनुमान गरिए पनि मैदानमा देखिएको दृश्य फरक थियो ।

वीरेन्द्रनगरको सभा सकेर गगन थापा हेलिकोप्टरमार्फत बाँकेको जानकी गाउँपालिका पुगे । यहाँ आयोजित कार्यक्रममा पनि हजारौं कार्यकर्ता र समर्थक सहभागी भए । स्थानीय आयोजकहरूका अनुसार कार्यक्रममा अपेक्षाभन्दा बढी सहभागिता देखिएको थियो । त्यसको भोलिपल्ट (शुक्रबार) बुटवलमा आयोजित सभामा समेत उस्तै उत्साह देखियो । लगातार तीन स्थानमा देखिएको सहभागिताले कम्तीमा एउटा सन्देश दिएको छ, ‘सामाजिक सञ्जालमा देखिने ट्रेन्ड र जमिनको वास्तविक अवस्था सधैं एउटै नहुन सक्छ ।’

पुराना दलका नेताहरूले सामाजिक सञ्जालमा संगठितरूपमा भ्रम सिर्जना गरिएको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार केही व्यक्तिले अनेकौं नक्कली आइडी प्रयोग गरी पुराना दलविरुद्ध घृणा र वितृष्णा फैलाउने काम गरिरहेका छन् । तर राजनीतिक विश्लेषकहरू भन्छन्, ‘सामाजिक सञ्जाल आफैँमा एक प्रभावशाली माध्यम भए पनि त्यसले सम्पूर्ण मतदाताको प्रतिनिधित्व गर्दैन ।’

नेपालगन्जका नागरिक समाजका अगुवा नमस्कार शाहका अनुसार सामाजिक सञ्जाल प्रायः ‘भीड मनोविज्ञान’ बाट प्रभावित हुन्छ । उनका भनाइमा धेरै मानिस कुनै विषय मन नपरे पनि खुला प्रतिक्रिया दिन हिच्किचाउँछन्, किनकि प्रतिवाद गर्दा अनावश्यक आक्रमण र तनावको सामना गर्नुपर्छ । सामाजिक सञ्जालमा सक्रिय देखिने समूह नै सम्पूर्ण जनमत हो भन्ने ठान्नु उचित नहुने उनको तर्क उनको छ ।

सुर्खेतका नागरिक समाजका अगुवा पीताम्बर ढकाल भन्छन्, ‘नयाँ दलहरू डिजिटल माध्यम प्रयोगमा निपुण देखिएका छन् । उनीहरू सन्देशलाई प्रभावकारी ढंगले सामाजिक सञ्जालमा फैलाउन सक्छन् । त्यसका कारण नयाँ दलको प्रभाव धेरै जस्तो देखिए पनि वास्तविक मतदाता आधार कता छ भन्ने कुरा निर्वाचनले मात्र पुष्टि गर्नेछ ।’ उनका अनुसार प्रयोगकर्ता धेरै देखिनु र मतदाता धेरै हुनु फरक कुरा हो । ‘भदौको आन्दोलनमा सहभागी सबैले दल त्यागेका थिएनन् भन्ने विश्लेषण पनि सार्वजनिक हुँदै आएको छ,’ उनले भने, ‘धेरै सहभागीहरू भ्रष्टाचार र सुशासनको माग लिएर सडकमा उत्रिएका थिए, दल परिवर्तनको उद्देश्यले होइन । अहिले पुराना दलहरूले सुधारको प्रतिबद्धता जनाउँदै आएका कारण कतिपय मतदाता पुनः तिनैतर्फ फर्किएको देखिन्छ ।’

यसपटक ‘नयाँ’ भनिएका दलहरू पनि चुनावी मैदानमा छन् । तर टिकट वितरण र आन्तरिक व्यवस्थापनमा पारदर्शिता नदेखिएको भन्दै आलोचना भइरहेको छ । केही विश्लेषकहरूका अनुसार नयाँ दलभित्र पनि पुरानै शक्ति केन्द्र र अभ्यास दोहोरिने संकेत देखिएका छन् । यसले परिवर्तनको अपेक्षा राखेका मतदातामा अन्योल सिर्जना गरेको छ । चुनावीसभामा देखिएको भीडलाई कतिपयले ऊर्जा र उत्साहको संकेत मानेका छन् भने कतिपयले यसलाई संगठनात्मक संरचनाको परिणामका रूपमा व्याख्या गरेका छन् । पुराना दलको जरा गाउँ–गाउँसम्म फैलिएको र संगठित कार्यकर्ता पंक्ति सक्रिय रहेकाले सामाजिक सञ्जालमा देखिएको निराशाजनक चित्रभन्दा फरक अवस्था मैदानमा देखिएको विश्लेषण भइरहेको छ ।

भीड नै मतमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर भने मतपेटिकाले दिने नागरिक समाजका अगुवा ढकाल बताउँछन् । ‘सामाजिक सञ्जालको प्रभाव, चुनावी सभाको उपस्थिति र प्रचारको तीव्रता सबैले आ–आफ्नो भूमिका खेल्नेछन्,’ उनले भने, ‘तर अन्तिम निर्णय गोप्य मतदानमार्फत मतदाताले गर्नेछन् ।’ हालका दृश्यले यति भने स्पष्ट पारेका छन्, ‘भदौको आन्दोलनपछि पुराना दल समाप्तप्रायः भइसके भन्ने निष्कर्ष निकाल्न हतारो हुन सक्छ ।’ मैदानमा देखिएको सहभागिताले उनीहरूको संगठनात्मक आधार अझै बलियो रहेको संकेत दिएको छ । आगामी निर्वाचन परिणामले सामाजिक सञ्जालको प्रभाव र पारम्परिक राजनीतिक संरचनाको शक्ति कति प्रभावकारी छ भन्ने वास्तविक चित्र प्रस्तुत गर्नेछ ।

प्रकाशित: १५ फाल्गुन २०८२ २०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App