हिमालपारिको जिल्ला जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकामा पाँचवटा वडा छन्। नार्पा भूमिमा सबैगरी ४ सय ८८ जना मतदाता छन्। पाँचवटा मतदान केन्द्र रहेको उक्त गाउँपालिका पुग्न मनाङ सदरमुकाम चामेबाट कम्तिमा दुई दिन पैदल हिँड्नुपर्छ। अहिले चिसो छल्न गाउँका अधिकांश बासिन्दा जिल्लाबाहिर छन्। छिमेकी जिल्ला लम्जुङको वेशीसहर र काठमाडौं लगायतका सहरमा मतदाता मौसमी बसाई सराईमा छन्।
जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चूनौतिपूर्ण मानिएको छ। उक्त गाउँपालिकामा निर्वाचनका लागि खटिने टोलीसहित भोट खसाल्ने मतदातालाई पनि घर फर्किन उत्तिकै सकस छ। किनकि गाउँ फर्किने पदमार्गका ठाउँठाउँमा रहेका झरनाको पानी जमेर बाटो अवरुद्ध छ। ती झरनाको हिउँ नपन्छाएसम्म गाउँलेहरू घर फर्किन सक्ने अवस्था छैन। बाटोको अवस्था बुझ्न सुरक्षाकर्मीको एउटा टोली यसअघि केही दूरीसम्म पैदल गएको थियो। तर, बाक्लो हिउँ जमेकोले नपन्छाएसम्म गाउँ पुग्न नसकिने निष्कर्षसहित उक्त टोली फर्केको थियो।
निर्वाचनको दिन नजिकिँदै गर्दा हिउँ पग्लेर सहजै हिँड्डुल गर्ने अवस्था पनि आउने नदेखेपछि हिउँ पन्छाउनका लागि भिन्दै सुरक्षाकर्मीको टोली खटाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवर बताउँछन्। ‘हिउँ पन्छाएर बाटो खुलाएर मात्र मतदातालाई घर फर्काउने प्रयास सुरु हुँदैछ। त्यसका लागि १५ जना सुरक्षाकर्मीको एउटा टोली बुधबारदेखि उक्त बाटोमा परिचालित हुनेछन,’ उनले भने, ‘मतदाता केन्द्रसम्म पुग्नेगरि सुरक्षाकर्मीले बाटोको हिउँ हटाउने छन्।’
.jpg)
हिउँ पन्छाएपछि मात्र मतदानका लागि मतदातालाई घर फर्काउन सहज हुन्छ। निर्वाचनमा खटिने कर्मचारीलाई पनि सहज हुनेछ,’ उनले भने, ‘हिउँ पन्छाउनका लागि सुरक्षाकर्मी बाहेक अरुबाट सम्भव छैन। किनकि गाडी नजाने भएकोले सुरक्षाकर्मी परिचालनको विकल्प छैन।’ समुन्द्री सतहको ३२ सय मिटर उचाइभन्दा माथि अहिले बाक्लो हिउँ जमेको छ। नार्पा भूमि गाउँपालिकाको ४२ सय मिटर उचाइसम्म मानव बसोबास रहेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल पनि विपद् व्यवस्थापनको अब्बल टोली उक्त पदमार्गका झरनाको जमेको हिउँ पन्छाउनका लागि परिचालित गर्ने तयारी रहको बताउँछन्। ‘बुधबारदेखि १५ जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको छ। प्रारम्भिक अनुमानमा तीनदिनमा हिउँ हटाउन सकिन्छ। बाटोमा जमेको भन्दा पनि झरनाको पानी छरिएर खसेको र त्यही पानी जमेका कारण बाटो हिँड्न सकिने अवस्था छैन,’ प्रजिअ पौड्यालले भने, ‘अरु बाटोमा समस्या छैन। जहाँ झरना छ, त्यहीको पानी जमेको छ। झरनाका कारण बाटो नै अवरुद्ध छ। हिउँ जमेको ठाउँमा चिप्लो भएकोले हिँड्डुल जोखिमयुक्त हुन्छ।’
बाटो नखुलाएसम्म मतदातालाई घर फर्किनभन्दा पनि निर्वाचन गराउने टोलीलाई गाउँ उक्लिनै समस्या रहेको उनले बताए। ‘चिसो छल्न झरेका मतदाता घर फर्किदासम्म त बरु हिउँ पग्लिन सक्छ। कर्मचारीलाई पनि जान समस्या छ। अनुगमनमा जान सकिने अवस्था पनि छैन,’ उनले भने, ‘निर्वाचन सामाग्री ढुवानीमा समस्या छ। सहज नभएसम्म हिँड्न सकिन्न।’
.jpg)
यस्तै अवस्था अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि छ। मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३९ जना मतदाता छन। मुस्ताङ जिल्लाका ११ हजार ३ सय २८ जना मतदाता मध्ये ३९ जना मतदाताले हिमाली आधारभूत विद्यालय केन्द्रबाट मत खसाल्ने छन्।
यसै त कम संख्यामा मतदाता, त्यसैमा पनि चिसो छल्न अस्थायी रुपमा गाउँलेहरू बसाइँ सरेपछि अहिले साङतामा निकै नै कम संख्यामा मतदाता बसेका छन्। निर्वाचन कार्यालयका अधिकारीहरूका अनुसार जम्मा ४ जना मतदाता गाउँमै छन। उनीहरू गोठालाको रुपमा मात्र घर कुरेर बसेका छन। २० जनाजति मतदाता त्यही वडाभित्रको फल्याकमा बसेका छन्। बाँकी मतदाता चिसो छल्न पोखरा तथा काठमाडौं झरेका छन्। गाउँमा जम्मा १३ घरधुरी छन्।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीका अनुसार मुस्ताङलाई अर्काे हिमाली जिल्ला डोल्पा जोड्ने बाटोमा पर्ने साङता सदरमुकाम जोमसोमबाट ३४ किलोमिटर टाढा पर्छ। त्यही वडाभित्रको फ्ल्याकबाट साङता २७ किलोमिटर टाढा पर्छ। ‘बाटोको अनुगमनमा गएको जिल्ला सुरक्षा समितिको टोली समेत साङता पुग्न सकेन। किनकी बाक्लो हिउँका कारण गाउँ पुग्न सकिने अवस्था छैन,’ उनले भने, ‘मोटरबाटोको हिउँ पन्छाएर मात्र निर्वाचनका लागि कर्मचारी परिचालन गर्ने तयारी छ।’ उनका अनुसार मोटरबाटोमा जमेको हिउँ हटाउनका लागि तत्कालै डोजर परिचालन गर्ने तयारी भएको छ।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार साङतामै मतदाता केन्द्र राख्ने निर्णय अनुसार त्यहाँसम्म पुग्ने बाटो खुलाउनका लागि केहीदिनपछि डोजर परिचालन गर्ने तयारी भएको छ। ‘सबैको सल्लाहमा डोजर परिचालन गरेर बाटो खुलाएर मात्र निर्वाचनका सामग्री ढुवानी गर्ने र कर्मचारी परिचालन गर्ने तयारी भएको छ। अवस्था सहज नभएकोले पहिला हिउँ हटाउनका लागि डोजर परिचालन हुन्छ। त्यसपछि बल्ल मतदातालाई घर फर्किन पनि सहज हुन्छ,’ उनले भनिन्।
उनका अनुसार साङता गाउँसम्मै मोटरबाटोको पहुँच छ। तर, केही खण्डमा भने हिउँको सकस छ हिउँ पग्लेर सुख्खा भएको समयमा सदरमुकाम जोमसोमबाट उक्त गाउँमा पुग्न गाडीमा कम्तिमा ४ घण्टा लाग्छ। अहिले त हिउँले आउजाउ नै सम्भव छैन। पैदल हिँडेर उक्त गाउँसम्म जान सकिने अवस्था छैन। जिल्ला सुरक्षा समितिको टोली समेत केही दिनअघि साङताका लागि गएको भए पनि गन्तव्यमा पुग्न नसकेपछि बीचबाटै फर्केको पनि उनले बताइन्।
प्रकाशित: ५ फाल्गुन २०८२ १८:३८ मंगलबार





