१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा डढेलो नियन्त्रण हुँदै, विस्थापितलाई घर फर्कन अनुमति

दक्षिणपश्चिम फ्रान्समा हजारौँ मानिसलाई विस्थापित गराएको भीषण डढेलो नियन्त्रणको प्रयासमा छ। अधिकारीहरूले मौसममा आएको अनुकूल परिवर्तनले नियन्त्रण अभियानलाई सहज बनाएको बताएका छन्।

बोर्डो नजिकैको गिरोन्द क्षेत्रको एटलान्टिक तटीय भागमा लागेको डढेलोले हालसम्म करिब ४२ हजार हेक्टर पाइन वन तथा पर्यटकीय क्षेत्र नष्ट गरिसकेको छ।

आगोले जलेको क्षेत्रफल पेरिस सहरको क्षेत्रफलभन्दा करिब चार गुणा ठूलो रहेको जनाइएको छ। यद्यपि पछिल्ला केही दिनयता आगो नयाँ क्षेत्रमा फैलिएको छैन।

सरकारी अधिकारीहरूका अनुसार रातिको तापक्रम घट्नु र आद्र्रता बढ्नुका कारण आगो नियन्त्रणमा खटिएका टोलीलाई राहत पुगेको छ।

अहिले अग्निनियन्त्रकहरूले वन क्षेत्र र समुद्री तट नजिकका बालुवाका टाकुरामा बाँकी रहेका आगोका केन्द्रहरू पूर्ण रूपमा निभाउने काम गरिरहेका छन्।

यस डढेलोका कारण सुरुआतमा करिब दुई लाख २४ हजार मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए।

अवस्था सुधार हुँदै गएपछि यसै साता करिब एक लाख ४४ हजार विस्थापितलाई आफ्ना घर फर्कन अनुमति दिइएको छ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले शुक्रबार आरटीएल रेडियोसँग कुरा गर्दै आगोको अवस्था अहिले स्थिर भए पनि पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको बताए।

उनका अनुसार केही स्थानमा अझै आगोका सक्रिय विन्दु रहेकाले सतर्कता कायम राखिएको छ।

यसैबीच, युक्रेनले फ्रान्सको डढेलो नियन्त्रण अभियानमा सहयोग गर्न आगामी दिनमा ७० जना नागरिक सुरक्षा कर्मचारी र १० वटा सवारीसाधन पठाउने भएको मन्त्री नुनेजले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

यस वर्ष युरोपले असाधारण गर्मीको सामना गरिरहेको छ। उच्च तापक्रम र सुक्खापनका कारण फ्रान्ससहित बेलायत, स्पेन, जर्मनी, ग्रीस र टर्कीमा पनि डढेलोका घटना तीव्र रूपमा बढिरहेका छन्।एपी

प्रकाशित: १५ श्रावण २०८३ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App