आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार आ–आफ्ना टोलीसहित घरदैलो अभियानमा व्यस्त छन्।
भुम्लु गाउँपालिकामा भने मतदाताले विकास र समृद्धिभन्दा ५० वर्षदेखि समाधान हुन नसकेको लालपुर्जाको मुद्दा प्रमुख रूपमा उठाएका छन्। गाउँपालिकाको ७ र ८ नं वडामा पुग्दा मतदाताले एउटै प्रश्न दोहोर्याएका छन्- ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले सुल्झाउनुहुन्छ?’
फलाँटे र भुम्लुटारका करिब एक हजार २०० स्थानीय लालपुर्जाविहीन छन्। विसं २०३२ मा साविक पिपलटार र भुम्लुटार गाविसबीच खेतीयोग्य जमिनको विवाद हुँदा नापी प्रक्रिया रोकिएको थियो। त्यसयता विभिन्न प्रयास भए पनि गत भदौदेखि करिब ५० प्रतिशतले मात्रै लालपुर्जा पाएका छन्। त्यसैगरी ७ नं वडाका सन्त तामाङले ‘हामीलाई अरु केही चाहिँदैन, अड्किएको लालपुर्जा दिलाइदिनुस्’ भन्दै उम्मेदवारसँग आग्रह गरे। उनले अघिल्ला सरकारले आशा देखाए पनि समस्या समाधान नभएको बताए।
स्थानीय रमेश खरेलका अनुसार मालपोत र नापी कार्यालयमा कागजात अपुग तथा जग्गाको एकिन नहुँदा केहीले अझै लालपुर्जा पाउन सकेका छैनन्। रसिदका आधारमा किनबेच हुँदै आएकाले फिल्डबुक र हालको विवरणबीच मेल नखाँदा छानबिनमा समस्या भइरहेको उनले बताए।
लालपुर्जा नहुँदा स्थानीयले २०७२ को भूकम्पपछि आवास निर्माणलगायत समस्या झेलेका छन्। उम्मेदवारले स्थानीयसँग भेटघाट गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन्।
एमालेका उम्मेदवार अशोक ब्याञ्जूले थप छानबिन गरी लालपुर्जा दिलाउन पहल गर्ने बताए। कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले वितरणको काम भइरहेको र बाँकी समस्या समाधानतर्फ लाग्ने बताए। स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने बताए।
जिल्ला नापी कार्यालयका अनुसार हालसम्म करिब ६०० जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। गत भदौ ३ गतेदेखि औपचारिक रूपमा वितरण सुरु भएको थियो। नापी अधिकृत लवप्रसाद कुइँकेलका अनुसार रसिदका आधारमा किनबेच हुँदा नाम फरक पर्ने समस्याले प्रक्रिया जटिल बनेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पनि फिल्डबुक र मालपोत विवरण नमिल्दा समस्या आएको बताए।
काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन्। क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ उम्मेदवार छन्। जिल्लामा तीन लाख २६ हजार ६११ मतदाता रहेका छन्।
प्रकाशित: २९ माघ २०८२ १७:१९ बिहीबार





