२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

देउवाको मौनताले कांग्रेसभित्र मत विभाजनको त्रास

नेपाली कांग्रेसभित्र अहिले गुटगत विभाजन र नेतृत्वको मौनता चुनावी माहोलमा प्रमुख चासोको विषय बनेको छ। पार्टीभित्र एक पुरानो भनाइ छ, ‘बाहिर अरू दलसँग प्रतिस्पर्धा छ तर आफ्नै पार्टीभित्र धेरै कठिन छ।’

यो भनाइ यतिखेर अझ सान्दर्भिक हुन पुगेको छ। पार्टीको विशेष महाधिवेशनपछि शेरबहादुर देउवा पक्ष र हालको संस्थापन पक्षबिच स्पष्ट गुट विभाजन देखिएको छ। यसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको मतपरिणाममा प्रभाव पार्ने सम्भावना बढाएको छ।

विशेष महाधिवेशनपछि पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको सम्मानभन्दा लज्जास्पद बिदाइले पार्टीभित्र गुटगत मनोविज्ञानलाई अझ सशक्त बनाएको छ।

 पूर्व संस्थापन पक्ष (देउवा) र नयाँ नेतृत्व पक्ष (गगन थापा) बिच स्पष्ट विभाजन देखिएको छ भने शेखर कोइरालाको गुट पनि सक्रिय छ, तर अहिले चुनावी अभियानमा देउवा मात्र नभई उनीनिकट नेता तथा कार्यकर्ता पनि अपेक्षित सक्रियता देखाउने अवस्थामा छैनन्।

बाँके क्षेत्र नं १ का एक कांग्रेस नेताले भने, ‘पार्टीको सबै मत हामीले पाउने निश्चितता छैन। केही मत हाम्रो उम्मेदवारतिर जान्छ, तर केही मत अन्य उम्मेदवारमा बाँडिन सक्छ।’

 उनको भनाइअनुसार, उम्मेदवारले जेजति मेहनत गरे पनि पार्टीभित्र मत विभाजनले चुनौती सिर्जना गर्नेछ। यसपालि बाँके - १ मा नारायणप्रसाद गौडेल, कृष्ण कार्की, पोषण केसी, माधवराम खत्री, हुर्मल न्यौपाने र मिना सिग्देलको नाम प्रारम्भिक सिफारिसमा थियो, तर महाधिवेशनपछि पार्टीमा शक्ति सन्तुलन परिवर्तन भएपछि जिल्ला सभापतिसमेत रहेका नारायणप्रसाद गौडेलले अन्तिम टिकट पाएका छन्।

त्यसैगरी बाँके - २ मा गजेन्द्र हमाल, सुदीप नरसिंह राना, याकुव अन्सारी, सुधांशु कोइराला र रमेश गुप्ताको नाम सिफारिस भएको थियो। अन्ततः सुधांशु कोइरालाले टिकट पाएका छन्। क्षेत्र नं ३ मा प्रारम्भिक सिफारिसमा किशोरसिंह राठोर, आशा विक, लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का, देवराज खत्री र कृष्ण विक रसाइलीको नाम थियो, तर रोल्पा स्थायी घर भएका लुम्बिनी प्रदेश कांग्रेस सभापति अमर पुनले टिकट पाएका छन्।

यो निर्णयप्रति क्षेत्र नं ३ का केही कार्यकर्ता असन्तुष्ट बनेका थिए। नेपालगन्जस्थित जिल्ला पार्टी कार्यालयमा उनीहरूले बाहिरी उम्मेदवार नस्वीकार्ने भन्दै तालाबन्दीसमेत गरेका थिए। यसले पार्टीभित्रको मत विभाजनलाई स्पष्ट रूप दिन्छ।

अहिलेको स्थितिमा बाँके -२ बाहेक बाँके -१ र ३ मा नेपाली कांग्रेसभित्र मत विभाजनको जोखिम देखिएको छ। एक नेताले भने, ‘यदि यसपालि पार्टीले आफ्ना मत मात्र सुरक्षित गर्न सके भने तीनै निर्वाचन क्षेत्रमा जित सम्भव छ तर आफ्नै मत विभाजित भएमा परिणाम अनिश्चित रहन्छ।’

बाँके– २ मा कांग्रेस एक ढिक्का देखिए पनि बाँके– १ र ३ मा मत विभाजनको असर देखिन सक्छ।

विशेष महाधिवेशनपछि पार्टीभित्र शक्ति सन्तुलन र गुटगत मनोविज्ञानले चुनावी रणनीतिमा चुनौती थपेको छ। मौन नेतृत्व र गुटगत मत विभाजनले कांग्रेसको चुनावी अभियानलाई असर गर्न सक्ने देखिन्छ।

देउवा र उनीनिकट नेता मात्र होइन, शेखर समुहका नेताहरू पनि अन्तिमसम्म सक्रिय रहन्छन् कि रहँदैनन् भन्ने अन्योल छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, ‘पार्टीभित्रको असन्तोष र गुटगत विभाजनले बाहिरी विपक्षसँगको प्रतिस्पर्धाभन्दा धेरै चुनौती सिर्जना गर्छ। आगामी निर्वाचनमा कांग्रेसको सफलता मुख्यतया आफ्नै मत जुटाउन सक्ने क्षमतामा निर्भर रहने छ।’

यो अवस्था कांग्रेसका लागि महत्त्वपूर्ण चुनौती देखिएको छ। पार्टीभित्रको असन्तोष र मत विभाजन व्यवस्थापन नगरेको खण्डमा आगामी चुनाव परिणाममा प्रतिकूल असर पर्न सक्ने आकलन गरिएका छन्। आगामी निर्वाचनमा देउवा र पार्टी नेतृत्वले मौनता र गुटगत असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुराले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्ने कतिपयको भनाइ छ।

प्रकाशित: १२ फाल्गुन २०८२ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App