यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ।
यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ।
शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएका छन्।
सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारहरूको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ।
यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ।
सन् १९९७ की नोबेल शान्ति पुरस्कार विजेता जोडी विलियम्सले महिलालाई पुरस्कार दिनुपर्ने अपेक्षा गरेका छन्।
चर्चामा रहेका महिला दाबेदारमा गाजाकी शल्यचिकित्सक सारा अल–सक्का र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नायाको नाम छ।
नोबेल पुरस्कार शृङ्खला सोमबार चिकित्साशास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ।
यस वर्ष पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ।एपी
प्रकाशित: १६ आश्विन २०८३ १४:१९ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)