भक्तपुर १ मा ३४ वर्षपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड तोडिएको छ।
२०४८ सालयता लगातार आफ्नो पकड क्षेत्र बनाएको नेमकिपा यसपाली भने पराजित भएको छ। बिहीबार सम्पन्न मतदानको अन्तिम मत परिणाम आउँदा भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३७ मतसहित निर्वाचित भएका छन्। दोस्रो स्थानमा रहेका नेमकिपा उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत पाए।
२०७९ र २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका सुवाल संविधानसभामा समानुपातिक सांसद थिए।
भक्तपुरमा २०४८, २०५१, २०५६, २०६४ र २०७० मा अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर चुनाव जितेका थिए। २०७४ सालमा बिजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भएका थिए। भक्तपुर–१ निर्वाचन क्षेत्रअन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन्।
भक्तपुर क्षेत्र नं १ नेमकिपाको पकड क्षेत्र हो। भक्तपुर १ मा २०४८ यता अरू दलले चुनाव जितेका थिएनन्। यसपाली रास्वपाका रन्जितसहित, नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम लवजू, नेकपा एमालेबाट नवराज गेलाललगायतले उम्मेदवारी दिएका थिए।
प्रकाशित: २३ फाल्गुन २०८२ ०८:५७ शनिबार


-600x400.jpg)


